coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसदीय दलमा लोभ नगर्न देउवालाई सिंहको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस विधिसम्मत रुपमा नचलेको बताएका छन्।

नेपाली कांग्रेस सिन्धुलीले र नेपाल प्रेस युनियनले शुक्रबार आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले केही नेताहरूको मनोपोलीमा कांग्रेसलाई चलाइएको आरोप लगाए। ‘कांग्रेस विधिसम्मत रुपमा चलेको छैन’, उनले भने, ‘म पनि त्यही कार्यसमितिमा छु। कांग्रेसलाई सुधार गरेर लैजानुपर्छ भनेर दवाव दिइरहेको छु।’

विधान मिच्ने काम सभापति र वरिष्ठ नेताले मिचेको आरोप लगाएका नेता सिंहले भने, ‘अहिलेसम्मको गल्तीलाई सच्चाएर जानुपर्छ भनेर दवाव दिएको छु। म संसदीय समिति र कार्यसम्पादन समितिको बैठकमा गएको छैन। मैले अडान लिएको छु।’ विधि र कानूनअनुसार पार्टी नेतृत्व चल्नुपर्ने उनले बताए।

कांग्रेसका सिमित नेताहरूका कारण निर्वाचनमा पार्टीले ठूलो नोक्सानी व्यहोर्नुपरेको भन्दै उनले देउवा गुटको मात्रै सभापति जस्तो देखिएको बताए। ‘सभापति शेरबहादुर देउवाजी सबैको सभापति बन्न सक्नु भएन । गुटको मात्रै सभापति बन्नुभयो।’

‘कांग्रेस राम्रो भयो भने सबैको भविष्य राम्रो हुन्छ। पार्टीको भविष्य भएन भने हाम्रो पनि भविष्य रहँदैन’, कांग्रेसका नेता सिंहले भने, ‘कांग्रेसलाई जोगाउन लाग्नुपर्छ। विशेष व्यक्ति र नेतालाई मानेर जाने होइन। कांग्रेसको सिद्धान्त र आदर्शलाई मानेर जानुपर्छ।’

नेता सिंहले विधानलाई संशोधन गरेर सांगठनिक संरचना बनाउनुपर्ने बताए। उनले संगठन चुस्तदुरुस्त नहुँदा कांग्रेसका संगठनहरू कमजोर भएको बताए। सिंहले भने, ‘उहाँले जिम्मेवारी बहन गर्न नसकेपछि पदमा बसिरहन मिल्छ ?’ देउवाले कुनै पनि काम गर्न नसकेको उनको आरोप थियो। ‘तरुण दल, महिला संघ, नेविसंघ कहाँ छ कहाँ ?’, उनले भने, ‘प्रकाशमानले सधै शेरबहादुरको विरोध गर्छ भन्छन् । काम नगरेपछि आलोचना त हुन्छ।’

उनले सभापति देउवालाई संसदीय दलको नेताको लोभ नगर्न सुझाव दिएका छन्। ‘शेरबहादुर देउवाले अवसर पाउनु भयो। उहाँले जिम्मेवारीअनुसार काम गर्न सक्नु भएन’, उनले भने, ‘दुई वर्षसम्म कांग्रेसलाई गतिशील बनाउन नसक्दा निर्वाचनमा हार्नुपरेको छ। जिल्लाहरूमा प्रतिक्षणको माग छ। त्यति सानो काम पनि सभापतिले गराउन सक्नु भएन।’

प्रकाशित: ११ फाल्गुन २०७४ ११:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App