८ वैशाख २०८१ शनिबार
खेल

एन्फा अध्यक्ष र उपाध्यक्षको निर्वाचन गरिने

काठमाडौं— नयाँ अध्यक्ष र एक उपाध्यक्ष चयनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन कात्तिक ८ मा हुने भएको छ।

पुनर्बहाल गरिएका तीन उपाध्यक्ष र एक सदस्यको उपस्थितिमा मंगलबार बसेको एन्फाको पहिलो कार्यसमिति बैठकले निर्वाचन कमिटी र अपिल कमिटी बनाउनुका साथै अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न जाने नेपाली क्लबलाई दिइने सुविधा तथा दुई क्लबमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।

विश्व फुटबल महासंघ (फिफा) को निर्देशनपछि एन्फाले जेठ १९ मा उपाध्यक्षत्रय कर्माछिरिङ शेर्पा, विजयनारायण मानन्धर, किशोर राई र सदस्य पंकज नेम्वाङलाई पुनर्बहाल गरेको थियो । फिफाले चारजनाको पुनर्बहालीसँग अध्यक्षको निर्वाचन छिटो गर्न निर्देशन दिएको थियो।

त्यही निर्वाचन तयारीका लागि डाकिएको बैठकले गतवर्ष करेन्ट लागेर मृत्यु भएका तत्कालीन कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको अनुपस्थितिमा रिक्त एक उपाध्यक्ष पदका लागि पनि चुनाव गर्ने निर्णय गरेको एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए।

एन्फाका तत्कालीन अध्यक्ष गणेश थापालाई फिफाले १० वर्षे प्रतिबन्धसहित झन्डै २१ लाख जरिवाना तोकेको थियो। त्यसपछि एन्फा कार्यसमितिले नरेन्द्र श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको थियो।

एन्फाका तत्कालीन अध्यक्ष गणेश थापालाई फिफाले १० वर्षे प्रतिबन्धसहित झन्डै २१ लाख जरिवाना तोकेको थियो । त्यसपछि एन्फा कार्यसमितिले नरेन्द्र श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको थियो ।

एन्फाको कारबाहीमा परेर २०७२ सालभर कुनै पनि प्रतियोगितामा भाग लिन नपाएका ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबले लिखित रूपमा एन्फाको विधान मान्ने प्रतिवद्धता जनाएपछि दुवैको प्रतिबन्ध फुकुवा गरिएको एन्फाले जनाएको छ।

यसैगरी एन्फाले एसियाली फुटबल महासंघ (एएफसी) को आयोजनामा हुने प्रतियोगितामा भाग लिने टोलीलाई दिइने आर्थिक सहयोगको विषयमा पनि निर्णय गरेको छ । जसअनुसार दक्षिण एसिया बाहिर हुने एएफसीका आधिकारिक प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने टोलीलाई तयारीस्वरुप १० लाख रुपैयाँ तथा दक्षिण एसियाभित्र हुने प्रतियोगिताका लागि ५ लाख रुपैयाँ दिने निर्णय भएको एन्फाको प्रवक्तासमेत रहेका तुलाधरले नागरिकलाई जानकारी गराए । एन्फाको निर्णयपछि एएफसी क्लब च्याम्पियनसिप खेल्न मंगोलिया जान लागेको रुस्लान थ्री स्टार क्लबले १० लाख रुपैयाँ सहयोग पाउनेछ ।

कात्तिकमा निर्वाचन गर्नका लागि एन्फा बैठकले पाँच सदस्यीय निर्वाचन कमिटी बनाएको छ । कमिटीमा एन्फाका कानुनी सल्लाहकार सुजित केसी, कानुन व्यवसायी सागर केसी, राष्ट्रिय खेलकुद परिषदका एक प्रतिनिधि, अमरसिंह शाह र अर्का कानुन व्यवसायी सुमनकुमार केसी रहने एन्फाले जनाएको छ । यसैगरी अपिल कमिटीमा कानुन व्यवसायीहरू गोपालकृष्ण घिमिरे, बुद्धि कटुवाल, गंगासागर खत्री, सुरेशकुमार पौडेल र राजेश महर्जन रहेको एन्फाको वेबसाइटमा जनाइएको छ ।

मिलापपछि पनि विवाद
एन्फाका तत्कालीन अध्यक्ष गणेश थापा तथा कार्यसमितिविरुद्ध आन्दोलनमा रहेका शेर्पासहितका चार पदाधिकारीले पहिलो बैठकमा आन्दोलनका क्रममा बोलेका कुरामा  माफी मागेको तुलाधरले बताएका छन्।
पूर्वअध्यक्ष थापाले ५८ करोडभन्दा बढी भ्रष्टाचार गरेको भन्दै सार्वजनिक लेखा समिति तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका शेर्पाले थापाको मुद्दा तामेलीमा राख्ने अख्तियारको निर्णयलाई सम्मान गर्ने प्रतिवद्धता जनाएको तुलाधरको दाबी थियो ।

‘उहाँले आन्दोलनका बेला आफूले गरेको क्रियाकलापबाट कसैलाई मानमर्दन भएको वा दुःख लागेको भए म माफी माग्छु भन्नुभयो । आन्दोलनका बेला गरेका कुराको अहिले धेरै अर्थ रहन्न । अब मिलेर अघि बढ्ने बेला आएको छ, अख्तियारको निर्णयको हामी सम्मान गर्छौं भन्नुभयो,’ शेर्पालाई उद्धृत गर्दै सिइओ तुलाधरले भने, ‘उहाँले पूर्वअध्यक्ष थापामाथि भएको कारबाहीमा पनि दुःख लागेको बताउनुभयो ।’
एन्फाका सदस्यद्वय वसन्त अर्याल र रमेश रायमाझीले शेर्पा नेतृत्वमा भएको आन्दोलनको पनि समीक्षा हुनुपर्छ भन्दै कुरा उठाएपछि शेर्पाले जवाफ दिएको तुलाधरले बताए । ‘आन्दोलनमा तपाईहरूले धेरै व्यक्तिगत कुरा गर्नुभयो। हाम्रा व्यक्तिगत कुरा पनि आए, त्यसैले आन्दोलनको पनि समीक्षा हुनुपर्छ भनेर वसन्तजीले कुरा उठाएपछि उहाँहरुले क्षमायाचना गर्नुभएको हो,’ उनले नागरिकसँग भने।

शेर्पाले भने आफूहरूले त्यस्तो कुनै माफी नमागेको दाबी गरे । ‘उहाँहरूले पनि आन्दोलनका कुरा क्लियर गर्नुपर्छ भन्नुभयो । हामीले माफी मागेका छैनौं । छलफल चाहिँ धेरै भएको हो,’ हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबले पनि लिखित रूपमा केही नदिएको बताउँदै शेर्पाले भने, ‘दुवै क्लबमाथिको प्रतिबन्ध २०७० सम्मका लागि थियो । त्यसपछि प्रतिबन्ध लम्बाइएको कुनै पत्र क्लबलाई पठाइएको छैन । त्यसैले लिखित दिने र फुकुवा गर्ने भन्ने प्रसंग नै छैन ।’
 

प्रकाशित: १ भाद्र २०७३ ०६:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App