coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खानेपानी आयोजनाका लागि रकम संकलन र जग्गा व्यवस्थापन गरिँदै

इलाम – इलाम सदरमुकामलाई २० वर्षसम्म चौबीसै घण्टा खानेपानी दिनेगरी सञ्चालन गर्न लागिएको तेस्रो साना सहरी खानेपानी आयोजनाका लागि रकम संकलन र जग्गा व्यवस्थापनको काम अघि बढाइएको छ। उपभोक्ता समितिले मुहानबाहेक विभिन्न स्थानमा राखिने ट्याङकीको जग्गा व्यवस्थापन भइरहेको र जनसहभागिताको रकम संकलन सुरु गर्न लागेको जनाएको छ।

समितिका अनुसार मुहानबाहेक इलाम नगरपालिकाको चारखाँदे, सदरमुकामको महेन्द्ररत्न बहुमुखी क्याम्पस, आदर्श मावि आसपास, गुम्बाडाँडामाथि र साविक वडा ३ मा १–१ ट्याङकी राख्न जग्गा व्यवस्थापन गरिँदैछ । यीमध्ये आदर्श माविछेउ, वडा ३ र चारखाँदेमा रहने ट्याङकीको जमिन व्यवस्थापनबारे सहमति भइसकेको समिति अध्यक्ष केदार थापाले जानकारी दिए। ‘बाँकी स्थानका ट्याङकीको जमिनको स्वामित्व लिने प्रक्रियामा छौं,’ उनले भने, ‘मुहान क्षेत्रका बासिन्दासँग भने यसअघि नै सहमति भइसकेको छ।’ उनले आयोजनाको मुहान माइमझुवा क्षेत्रका बासिन्दासँग ट्याङकी राख्ने जमिन, स्रोत र पाइपलाइन राखिने स्थानबारे सहमति भइसकेको जानकारी दिए।

आयोजनाका लागि नगरपालिकाका प्रत्येक घरबाट १५ हजार रुपैयाँ उठाएर लागत सहभागिता गराइने भएको छ। कुल ८५ करोड ४३ लाख ९ हजार रुपैयाँ लगानीको खानेपानी आयोजनाका लागि ५ प्रतिशत अर्थात् ४ करोड २१ लाख रुपैयाँ स्थानीय उपभोक्ताको लागत सहभागिताको रकम हो। ‘अहिलेका २ हजार ७ सय ९८ धारा र घडेरीसहित करिब ३ हजार उपभोक्ताबाट कम्तीमा १५ हजार रुपैयाँका दरले रकम संकलन गर्दैछौं,’ अध्यक्ष थापाले भने, ‘स्कुल, कलेज, सरकारी कार्यालय, संघ–संस्थालगायतबाट चाहिँ त्योभन्दा बढी रकम संकलन गरेर लागत सहभागिताको रकम जुटाइँदैछ।’

कुल लागतको ७० प्रतिशत रकम एसियाली विकास बैंक (एडिबी)ले बेहोर्नेछ । बाँकी २५ प्रतिशत भने इलाम नगरपालिकाले नगर विकास कोषबाट सहुलियत ब्याजदरमा ऋण लिनुपर्नेछ। नगरपालिकाले पनि ऋणका लागि सहयोग गर्ने बताएको उपभोक्ता समितिले जनाएको छ। ‘अब केही दिनमै रकम संकलन, जग्गा व्यवस्थापन र ऋणप्रक्रियाको काम सकेर ठेक्काको चरणमा जादैछौं,’ थापाले भने, ‘उपभोक्ताले सहयोग गरे काम गर्न ज्यादै छिटो हुन्छ।’ अध्यक्ष थापाले अहिले उपभोक्ताले १५ हजार रुपैयाँ सहयोग गरेवापत आयोजनाले घर–घरमा धारा निःशुल्क जोडिदिने, बढीमा १२ मिटर पाइप पनि निःशुल्क गरिदिने प्रतिबद्धता जनाए। १ वर्षसम्मको मर्मतको जिम्मा पनि आयोजनाले नै लिने भएकाले उपभोक्तालाई सहुलियत नै हुने उनको भनाइ छ।

नेकपा एमाले जिल्ला उपाध्यक्ष भक्त केसी र नेपाली कांग्रेसका सभापति हिमालय कर्माचार्यले आयोजनाका लागि सबैबाट सहयोग र सद्भाव रहनुपर्ने बताए। ‘अहिलेको आयोजना नगरवासीका लागि अवसर हो,’ उपाध्यक्ष केसीले भने, ‘सदरमुकाममा अहिले खानेपानी हाहाकार छ, यतिको बजेटको आयोजना यहाँ सञ्चालन हुँदा सबैले सहयोग गर्नुपर्छ।’ कर्माचार्यले खानेपानी आयोजना निर्माण हुनेमा कुनै आशंका गर्न नहुने बताए।

टेक कन्सल्ट प्रालि र इन्टिग्रेटेड नेपाल प्रालिले गत असोजमा आयोजनाको विस्तृत अध्ययन गरेका थिए। करिब ३० किलोमिटरमा रहेको गिताङ खोलाबाट १६ तथा मेवा र रातेखोला प्रतिसेकेन्ड १०–१० लिटर पानी सदरमुकाम ल्याउने योजना छ। नगरपालिकाकै सुम्बेकबाट ४ लिटर थपिएर ४० लिटर पानी सदरमुकाम ल्याइनेछ। आयोजना सम्पन्न भएपछि सदरमुकाममा चौबीसै घण्टा खानेपानी आपूर्ति हुनेछ। अहिले प्रतिसेकेन्ड ८ देखि १० लिटर खानेपानी आइरहेपनि उपभोक्ताको माग २२–२३ लिटरको छ।

आयोजना सञ्चालन भएपछि सदरमुकामका २० हजार ८ सय ४ उपभोक्ता लाभान्वित हुनेछन्। आर्थिक वर्ष २०७७÷०७८ मा सम्पन्न गर्नेगरी आयोजनाको काम सुरु हुनेछ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख मोतिउर रहमानले आयोजना सम्पन्न हुँदा सदरमुकामको आउँदो २० वर्षसम्मको जनसंख्यालाई पुग्ने बताए। ‘जग्गा व्यवस्थापन र लागत सहभागिताको आधारभूत काम सकेर हामी आयोजनाको टेन्डर प्रक्रियामा जाँदैछौं,’ उनले भने, ‘५० करोड रुपैयाँभन्दा माथिको आयोजनाका लागि ग्लोबल टेन्डर हुनेछ।’

आयोजना सम्पन्न भएपछि इलाम नगरपालीकाको वडा ६, ७, ८ र ९ का बासिन्दा लाभान्वित हुनेछन्। आयोजनाको सुरुको वर्ष यहाँका २ हजार ८ सय ९६ घरका २१ हजार ४ सय ३३ उपभोक्तालाई दिनको सय लिटरका दरले खानेपानी पुग्ने अनुमान आयोजनाको छ। २० वर्षपछि (सन् २०३९) यही आयोजनाको पानी उपभोग गर्नेको संख्या ३० हजार ३ सय २५ पुग्ने अनुमान छ। सदरमुकामका घरका धारामा अहिले १ दिन बिराएर डेढ घन्टामात्र पानी आइरहेको छ।

प्रकाशित: ११ फाल्गुन २०७४ ०८:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App