coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

ठेलागाडा परिकार

साँझका बेला काठमाडौंका अधिकांश सडकपेटी विभिन्न परिकार पकाएर बेच्ने ठेलागाडाले भरिभराउ हुन्छन् । ठेलामा बेच्न राखिएका परिकार खानेको पनि उत्तिकै भीड लाग्ने गर्छ ।  । बुधबार यसरी नै ठेलामा बेच्न राखिएको खसीको भुटनको स्वाद लिँदै थिए, प्रकाश देवकोटा । उनी ठेलामा राखिएका यस्तैखाले विभिन्न परिकारको स्वाद लिन प्रायः सुन्धारामै पुग्ने गर्छन् । उनी भन्छन्, ‘मलाई खसीको भुटन असाध्यै मनपर्छ, घरमा गएका बेला खाइन्छ, तर कोठामा बनाउन सम्भव हुँदैन । त्यसैले यहाँ आएर खान्छु।’ 

आफू मासुको पारखी रहेको र खान मन लागेको मासुको परिकार ठेलागाडामै खाने बताउँछन् । ‘डेरा गरेर बस्ने विद्यार्थी हुँ । महँगो खसीको मासु किन्न, पकाउन झन्झटिलो हुन्छ,’ उनले भने, ‘त्यसैले सडकपेटीमा राखिएका ठेलामा आएर चाहेको मात्रामा खान्छु । सडकपेटीका ठेलागाडामा त्यति महँगो पनि हुँदैन, जति रेस्टुरेन्टहरुमा हुन्छ।’

मःमः काठमाडौंको प्रचलित खानेकुरा हो । कहावत नै बनेको छ, ‘नेपालीहरु रेस्टुरेन्ट गएर मेनु हेर्छन् मात्रै मगाउने त मःमः र चाउमिन नै हो ।’ काठमाडौंका हरेक गल्लीमा मःमः पसल खोज्न धेरै धाउनुपर्दैन, नजिकै भेटिन्छन् । त्यसमाथि पछिल्लो समय ठेलागाडामा मःमः बेच्नेहरु पनि बढेका छन्। 

मोहम्मद अलाउद्दिन ठेलागाडामा राखिएको ठूलो तावामा खसीको भुटन फ्राई गर्दै थिए । वरिपरि झुम्मिएका ग्राहकलाई अर्डरअनुरूप भुटन दिँदै थिए । भारतका उनी काठमाडौं सुन्धारा आएर खसीको भुटन बेच्न थालेको भर्खर पाँच महिना भयो । मासु पसल गर्ने साथीले ठेलागाडामा मासु भुटेर बेच्न सल्लाह दिएपछि नेपाल आएको उनी बताउँछन् । ठेला किनेर व्यापार गर्दा राम्रो फाइदा भएको उनले बताए । खसीको भुटनसँगै कुखुराको मासु पनि भुटेर बेच्ने उनले बताए । ‘कुखुराको मासुभन्दा भुटन खान आउने धेरै छन्,’ उनले भने। 

मःमः काठमाडौंको प्रचलित खानेकुरा हो । कहावत नै बनेको छ, ‘नेपालीहरु रेस्टुरेन्ट गएर मेनु हेर्छन् मात्रै मगाउने त मःमः र चाउमिन नै हो।’ 

काठमाडौंका हरेक गल्लीमा मःमः पसल खोज्न धेरै धाउनुपर्दैन, नजिकै भेटिन्छन् । त्यसमाथि पछिल्लो समय ठेलागाडामा मःमः बेच्नेहरु पनि बढेका छन् । मख्खनमा रहेको ठेलागाडामा मःमः खान व्यस्त थिइन्, विनिता कार्की । त्यहीँ पाँच–सातजना अरु पनि मःमः खाने पालो कुरेर बसेका थिए । शङ्खमूलकी विनिता फाइन आर्टकी विद्यार्थी हुन् । दिउँसो वसन्तपुरमा बसेर आर्ट गर्ने र मःमः खान सधैँ मख्खन आउने गरेको उनले बताइन् । ‘मःमः मेरो फेबरेट हो, टन्न अरु खानेकुरा खाए पनि कसैले मःमः दिन्छ भने म नाइँ भन्दिनँ,’ उनले हाँस्दै भनिन् । खाजा–खाना दुवैका रूपमा मःमः खाने गरेको उनी बताउँछिन् । ‘कोठामा साँझ खान पकाउन अल्छी लाग्छ, त्यसैले मःमः लगेर खाने गर्छु,’ उनले भनिन् । ठेलागाडामा मःमः अन्य ठाउँको भन्दा सस्तो पाइने भएर पनि खान आउने गरेको उनले बताइन्।

काभ्रेका सत्य श्रेष्ठ विगत १२ वर्षदेखि मख्खनको गल्लीमा ठेलागाडामा खानेकुराको व्यापार गर्दै आएका छन् । उनले ठेलागाडामा मःमः, ससेज, माछा फ्राई, आलु फ्राई, सेकुवा लगायत परिकार बेच्छन् । उनको व्यापार साँझ ४ बजेपछि सुरु हुन्छ । ‘दिउँसो आमाबुबालाई काममा सघाउँछु, साँझ ठेलामा व्यापार गर्छु,’ उनले भने, ‘राम्रो चलेको छ, भ्याइनभ्याई हुन्छ।’ 

अन्य सामानको महँगीसँगै मःमःको पनि मूल्य बढाउनुपर्दा उनलाई दुःख लागेको छ । ‘पसल सुरु गर्दा २० रुपैयाँ प्लेट मःमः बेच्न सुरु गरेको थिएँ, अहिले ६० रुपैयाँमा बेच्छु,’ उनले भने। 

आफ्नो पसलमा खासगरी मःमः र ससेज खान बालबालिका बढी आउने उनले बताए। ‘सबै परिकारमध्ये मःमः र ससेज बढी बिक्री हुन्छ,’ उनले भने, ‘मःमः र ससेज खान स्कुले बालबालिका बढी आउँछन्।’ 

काठमाडौंमा अर्को चल्तीको खानेकुरा हो, पानीपुरी । पानीपुरी खान विशेषगरी युवतीको भीड लाग्ने गरेको देखिन्छ । वीरगन्जका बलराम शाहले पानीपुरी व्यवसाय गर्दै आएको १६ वर्षभन्दा बढी भयो । यही व्यापारबाट उनले जग्गा नै किनेका छन् । ‘मख्खनमा जग्गा किनेको डेढ वर्ष भयो,’ उनले भने । उनी आफ्नो कामबाट सन्तुष्ट छन् । दैनिक १५ सय नाफा हुने उनले बताए । ‘काठमाडौंजस्तो महँगो ठाउँमा दुई छोरीलाई बोर्डिङ स्कुल पढाएर, परिवार खान–बस्न राम्रोसँग पुगेको छ,’ उनले भने । आफूले बेच्ने पानीपुरी अग्र्यानिक भएको उनको दाबी छ । ‘मेरो पसलमा पानीपुरी खान सबै उमेर, सबै वर्गका मानिस आउँछन्,’ उनले भने। 

फूलमाया वैद्यले आलुचप र पकौडालाई तेलमा तार्न थालेको २२ वर्षभन्दा बढी भयो । बाँगेमुडास्थित पिपलको रूखनजिकै स्टोप बालेर कराईमा आलुचप र पकौडा तार्नु उनको दैनिकी हो । फूलमायाले स्वदेशी ग्राहकलाई मात्र नभएर विदेशी ग्राहकलाई पनि आलुचप र पकौडाको स्वाद चखाउँदै आएकी छन् । ‘नेपाली मात्र होइन, विदेशीले पनि खाएर मीठो छ भनेर जान्छन्,’ उनले हाँस्दै भनिन् । फूलमाया एकल महिला हुन् । २०५२ सालमा श्रीमान्को मृत्यु भएपछि सडकको पेटीमा आलुचप र पकौडा बनाउन थालेको उनी बताउँछिन् । खुर्सानी, बन्दा, साग, प्याज, आलु आदिको पकौडा बनाउने गरेको उनले बताइन् । ‘घरमा यत्तिकै बस्नुभन्दा यो व्यापारले केही कमाई भएको छ,’ उनले भनिन्। 

विभिन्न थरीका मिठाई विवाह, पूजा, हरेक पर्वमा प्रयोग गरेको पाइन्छ । भारतका रजिन्दर साहुले विगत आठ वर्षदेखि जमलको गल्लीमा कुभिण्डो मिठाईको व्यापार गर्दै आएका छन् । चिसो मौसममा राम्रो व्यापार हुने कुभिण्डो मिठाईको प्रतिकेजी ८० रुपैयाँ पर्ने उनले बताए । कालिमाटीबाट ल्याई विभिन्न ठाउँका गल्ली र चोकमा व्यापार गर्ने उनी बताउँछन् । ‘दिनमा तीन–चार केजी मात्र व्यापार हुन्छ, कुभिण्डो मिठाईको सिजन जान लागेको छ,’ उनले भने । चिसो मौसमको सुरुवातसँगै कुभिण्डो मिठाईको व्यापार बढ्ने उनले बताए । विशेषगरी विवाहमा र दसैँका बेला यत्तिकै खानका लागि मानिसले मिठाई किन्ने गरेको उनले बताए। 

योर कलेक्सनका कर्मचारी राम प्रकाश सिंह सधैँजसो सुन्धारा आएर सेकुवा खान्छन् । सस्तो भएकाले पनि म यहाँ आएर सेकुवा खान्छु,’ उनले भने, ‘एउटा सिन्कामा उनेको सेकुवा २० रुपैयाँमा आउँछ । एक्लै बस्छु, पकाउन अल्छी लाग्छ, मासु खान मनपर्छ । त्यसैले सेकुवा खान यहाँ आउँछु।’ 

मोहम्बद इस्लाम सुन्धारामा गाडामा सेकुवा पोल्छन् । उनले सेकुवा पोलेर बेच्न लागेको २५ वर्षभन्दा बढी भयो । साँझ परेपछि उनी कोइला बालेर झिरमा बफ सेकुवा पोल्न व्यस्त हुन्छन् । आफ्नो पसलमा साँझमा सेकुवा खानेको भिड लाग्ने उनले बताए । ‘साँझ परेपछि नेपाली मात्र नभएर भारतीय ग्राहक पनि आउने गर्छन्,’ उनले भने।

प्रकाशित: ११ फाल्गुन २०७४ ०६:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App