६ वैशाख २०८१ बिहीबार
अन्य

मासिँदै छन् ऐतिहासिक ढुंगेधारा

नागार्जुन–४, रानीपाटीकी ८१ वर्षीया ज्ञानमाया श्रेष्ठ बाल्यकालमा साथीहरूसँग रानीपाटी ढुंगेधारामा नुहाएको अझै सम्झिन्छिन् ।  त्यतिबेला कलंकीदेखि बालाजुसम्मका मान्छेहरू गाग्री बोकेर ढुंगेधारामा पानी लिन आउने उनलाई स्मरण नै छ । ‘बिहान सबेरैदेखि पानी थाप्न मान्छेको लाइन लाग्थ्यो, दिनभरि धारो खाली हुँदैनथ्यो,’ उनले बाल्यकालको समय सम्झिइन्।

त्यतिबेला ढुंगेधारा अगाडिको बाटो उपत्यका प्रवेश गर्ने द्वारका रूपमा प्रयोग गरिन्थ्यो । रानीपाटीमा बस्ने बटुवाले पिउन, खाना पकाउन र नुहाइधुवाइ गर्न यही धाराको पानी प्रयोग गर्ने गरेको उनले सुनाइन् ।
त्यहाँस्थित शिलालेख अनुसार ढुंगेधारा वि. सं. १९४९ मा निर्माण भएको उल्लेख छ । ढुंगेधारा ढुंगाबाट निर्मित नाग आकारको छ । धाराको ठीक माथि देवीदेवताको प्रतिमा छ।

स्थानीय रानीपाटी टोल सुधार समिति अध्यक्ष शेखर श्रेष्ठले वि.सं.२०६८-६९ सम्म धाराको मुनि रहेको मुहानबाट पानी आउने गरेको बताए । धाराको मुहानबाट पानी नआएपछि हामीले नजिकैको सल्लाघारी वनस्थित अर्को मुहानको पानी स्टोर गरेर पाइपमा धारासम्म ल्याएका थियौँ।

नागार्जुन ५,आदेश्वर महादेव मन्दिर नजिक रहेको आदेश्वर ढुंगेधारामा पनि अहिले पानी  आउन छाडेको छ । स्थानीय ७५ वर्षीय रामशरण कार्कीका अनुसार पहिले यो धाराको पानी राजदरबारसम्म पुग्थ्यो । त्यतिबेला सैनिकले राजदरबारका लागि भन्दै गाग्रीमा पानी लैजाने गरेको उनले बताए ।

२०७२ वैशाख १२ को भूकम्पले सल्लाघारीको ट्यांकी फुटेपछि पानी आउन पूरै बन्द भएको श्रेष्ठले बताए । ‘त्यसपछि हामीले ढुंगेधाराको विकल्पका रूपमा बटुवाको सुविधाका लागि धारा नजिकै अलग्गै प्लास्टिकको ट्यांकी र धारा राखेर खानेपानी उपलब्ध गराउँदै आएका छौँ,’ उनले भने ।ढुंगेधाराको मुहान सुके पनि डिप बोरिङलगायत अन्य स्रोतबाट पानी आपूर्ति गर्नु पर्ने श्रेष्ठ बताउँछन् ।अहिले रानीपाटी ढुंगेधारामा फोहोर थुप्रिएको छ । सो ढुंगेधारामा स्थानीय युवाले समयसमयमा सरससफाइ गर्ने गरेका छन्।

काठमाडौँ क्षेत्र नं.७ का सांसद जीवनराम श्रेष्ठ, उपमेयर सुशीला अधिकारी र नागार्जुन ४ का वडाध्यक्ष करूणकुमार बलामी सहितको  टोलीले गत साता धाराको स्थलगत भ्रमण गरी संरक्षण संवद्र्धनको पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

नागार्जुन ५,आदेश्वर महादेव मन्दिर नजिक रहेको आदेश्वर ढुंगेधारामा पनि अहिले पानी  आउन छाडेको छ । स्थानीय ७५ वर्षीय रामशरण कार्कीका अनुसार पहिले यो धाराको पानी राजदरबारसम्म पुग्थ्यो । त्यतिबेला सैनिकले राजदरबारका लागि भन्दै गाग्रीमा पानी लैजाने गरेको उनले बताए । उनका अनुसार त्यो बेला स्थानीयले यही धाराको पानी उपभोग गर्थे ।   स्थानीय समाजसेवी हरिशरण कार्कीले धाराको वरिपरि तारजाली लगाउने काम भए पनि पानी ल्याउन नसकिएको बताए।

नागार्जुन ३ मा पनि दुईवटा ढुंगेधारा छन् । तिनमा पानी आइरहेको र संरक्षणका लागि आफूहरूले पनि सहयोग गर्दै आएको वडाध्यक्ष प्रेमलाल श्रेष्ठले बताए । ढुंगेधारा प्राचीन सभ्यताको प्रतीक भएकाले राज्यले यसको संरक्षण गर्नु पर्ने वडाध्यक्ष श्रेष्ठ बताउँछन्।

पुरातत्व विभागका अनुसार स्वयम्भूमा केही समयअघि प्राचीन ढुंगेधारा भेटिएको थियो । बाटो विस्तारका क्रममा पुरिएको अवस्थामा ढुंगेधारा फेला परेपछि पुरातत्व विभागको टोलीले स्थलगत अध्ययनसमेत गरेको थियो । सो ढुंगेधारा लिच्छविकालभन्दा पुरानो हुनसक्ने विभागको ठहर छ ।काठमाडौं उपत्यकामा रहेका अधिकांश ढुंगेधारा माछा आकारको भए पनि त्यो ढुंगेधारा भने राँगाको टाउको आकारको छ।

महिषपाल वंशले बनाएको हुनसक्ने बताउँदै विभागले स्थानीय तहसँग संरक्षणका लागि सहकार्य गर्ने जनाएको छ । ‘ढुंगेधारा नेपाली वास्तुकलाका अनुपम नमुना हुन् । यी वास्तुकला लिच्छविकाल, मल्लकाललगायत समयमा निर्माण भएका हुन्,’ पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने।

उनका अनुसार जनसंख्या वृद्धि, कंक्रिटको जंगल, अव्यवस्थित सहरीकरण, वन फँडानीले पानीका मुहान सुक्दै गएपछि ढुंगेधाराको अस्तित्व संकटमा पर्दै गएको छ ।सरकारी उदासीनताले ढुंगेधारा तथा मुहान संरक्षण घोषणापत्र २०६४ कार्यान्वयन हुन नसक्दा ढुंगेधाराको अस्तित्व संकटमा छ । सरकारले यिनको संरक्षणका लागि बजेट विनियोजन गरी काम गराउनु पर्ने रानीपाटी ढुंगेधारा नजिक बस्ने सुनिल श्रेष्ठले बताए । ऐतिहासिक महत्व बोकेपनि उपत्यकाका प्राचीन ढुंगेधारा लोप हुने अवस्थामा पुगेको र कतिपय स्थानमा ढुंगेधारा भएको जग्गा अतिक्रमण समेत भएको अर्का स्थानीय सुन्दरमणि श्रेष्ठले बताए।

हिन्दू धर्मका जानकार ज्योतिषी पण्डित लेखनाथ शास्त्री सनातन वैदिक संस्कृतिमा पानी बाँडे धर्म हुने मान्यता रहेकाले प्राचीनकालमा परोपकार गरी पुण्य कमाउने उद्देश्यले सार्वजनिक स्थानमा ढुंगेधारा बनाउने चलन रहेको बताउँछन् । उनका अनुसार धेरैजसो मल्लकालीन ढुंगेधाराहरूमा राजकुलोबाट पानी ल्याइन्थ्यो । राजकुलो मासिँदै गएपछि तिनमा पानी आउन छाडेको छ।

नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत उपत्यकामा रहेका ढुंगेधाराको मौलिक स्वरूप जोगाउँदै जीर्णोद्धार, मर्मतसम्भार, संरक्षण र सम्बद्र्धन गर्नु पर्ने बताउँछन् । उपमेयर सुशीला अधिकारीले छिटै नगरमा रहेका ढुंगेधारा संरक्षणको काम थाल्नुपर्ने बताइन् । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पाण्डेय गौतमले ढुंगेधारा पुरातात्विक सम्पदा भएकाले यिनको रक्षा गर्नु अपरिहार्य रहेको बताइन् ।

 

प्रकाशित: ११ फाल्गुन २०७४ ०६:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App