७ वैशाख २०८१ शुक्रबार
समाज

छिटपुट वर्षासँगै हिमपातको सम्भावना

काठमाडौं– काठमाडौं उपत्यकालगायत पहाडी तथा उच्च पहाडी क्षेत्रमा बिहीबार दिउँसो मौसममा बदली भई केही ठाउँमा वर्षा भएको छ। 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो क्रम अझै दुईतीन दिनसम्म रहनेछ । विशेष गरी मध्याह्नपछि मौसममा परिवर्तन भई कालो बादल लाग्ने तथा कतिपय ठाउँमा मेघगर्जनसहित छिटपुट वर्षा हुने महाशाखाले जनाएको छ । ‘अझै केही दिन मौसममा बदली भइरहन्छ,’ मौसमविद् मीनकुमार अर्यालले भने । काठमाडौंको उत्तरपूर्वी भूभागमा मौसममा परिवर्तन भइरहेको महाशाखाले जनाएको छ। 

दिउँसो एकदुई घण्टा मौसममा परिवर्तन भए पनि राति भने सामान्य नै रहने महाशाखाले जनाएको छ । ‘यो लामो समयसम्म टिक्दैन, एकदुई घण्टामात्र यस्तो देखिन्छ,’ अर्यालले भने । मौसममा भएको बदलीका कारण हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको अर्यालले जानकारी दिए। 

मौसममा भएको बदलीका कारण चिसो महसुस भए पनि तापक्रममा भने खासै परिवर्तन नहुने महाशाखाले जनाएको छ। ‘दिउँसोको समयमा मौसममा भएको बदलीका कारण तापक्रममा खासै फरक पर्दैन,’ मौसमविद् अर्यालले भने । रातिको सयममा थप न्यानो महसुस हुने उनको भनाइ छ । बिहीबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ दसमलब ४ डिग्री सेल्सियस रहेको थियो । मौसममा भएको बदलीले यसमा खासै फरक नपर्ने महाशाखाले जनाएको छ।

प्रकाशित: ११ फाल्गुन २०७४ ०३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App