७ वैशाख २०८१ शुक्रबार
राजनीति

अझै टुंगिएन मन्त्रालय भागबन्डा

काठमाडौं –एमाले र माओवादी केन्द्र मन्त्रालय भागबन्डाबारे छलफलमा व्यस्त रहेका छन्। दुवै दलबीच तीव्र रुपमा छलफल भइरहे पनि मन्त्रालयको संख्या र बाँडफाँटका विषयमा बिहीबार अबेरसम्म टुंगो लाग्न सकेको छैन। 

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय बनाउने र त्यस्तो हुँदा एमालेले अर्थसहित १० र माओवादीले गृहसहित सातको नेतृत्व सम्हाल्ने विषयमा प्रारम्भिक छलफल भएको छ। 

‘संघीय फोरमसहितका दलहरुसँग वार्ता जारी रहेकाले अहिले नै यस्तै भन्ने सक्ने अवस्था छैन । दुवै अध्यक्षबीच भएको प्रारम्भिक छलफलमा १८ वटा मन्त्रालय बनाउने  विषय आएको छ । तर टुंगो लागेको छैन,’ पछिल्लो घटनाक्रमबारे जानकार एमालेका एक नेताले भने, ‘शुक्रबार धेरै विषय स्पष्ट हुन सक्छ।’

‘अध्यक्षज्यूले अनौपचारिक कुराकानी हुँदा हामीले यी–यी मन्त्रालय लिँदा ठिक हुन्छ होइन भनेको विषयमा मात्रै हो,’ एमालेका एक स्थायी कमिटी सदस्यले भने, ‘अहिले सबै कुरा केन्द्रीकृत भएको छ । पहिला जसरी सबैलाई राखेर छलफल गरिएको छैन । त्यसैले ढुक्क भएर यस्तै हो भनेर भन्न सकिँदैन।’ 

प्रारम्भिक छलफलमा एमालेको भागमा अर्थ तथा योजना, रक्षा, भौतिक पूर्वाधार यातायात, सूचना सञ्चार तथा विज्ञान प्रविधि, शिक्षा खेलकुद तथा संस्कृति, स्वास्थ्य तथा जनसंख्या, संघीय मामिला तथा सामान्य प्रशासन, कानुन तथा न्याय संसदीय मामिला, परराष्ट्र र पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय परेका छन्। 

माओवादी भागमा गृह, ऊर्जा जलविद्युत् तथा नवीकरणीय, सहरी विकास, आवास, खानेपानी तथा सरसफाइ, वन, वातावरण तथा जलवायु परिवर्तन, श्रम रोजगार तथा महिला बालबालिका, ज्येष्ठ नागरिक, कृषि, सिँचाइ खाद्यसुरक्षा, सहकारी तथा भूमिसुधार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परेका छन्। 

तर संघीय समाजवादी फोरम नेपालको सहभागिताका विषयले सरकारमा लिन मन्त्रालयको संख्या थपघट हुनसक्ने बताइएको छ। 

सरकारमा सहभागी हुन संविधान संशोधनलाई प्रमुख सर्त बनाउँदै आएको फोरमसँग प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालले शुक्रबार छलफल गर्ने भएका छन्। 

फोरमले तीनवटा मन्त्रालय दाबी गर्दैे आए पनि दुवै दल फोरमलाई दुई मन्त्रालय दिने तयारीमा छन् । 
‘दोस्रो तहका नेतासँग छलफल हुँदा सकारात्मक रुपमा अघि बढेको छ । भोलि (शुक्रबार) बिहान तीनै अध्यक्ष (ओली, दाहाल र यादव) बीच छलफल भएपछि अन्तिम टुंगो लाग्नेछ,’ यादवका प्रेस संयोजक महेश चौरसियाले नागरिकसँग भने, ‘हामीले उठाउँदै आएको मुद्दामा सहमति भए सरकार सहभागी हुनेछाैँ।’ 

माओवादी केन्द्रसँग पार्टी एकताबारे सैद्धान्तिक सहमति हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताउँदै आएका दलहरुले फोरमको निर्णय कुरेर बसेका छन् । एमाले र माओवादी केन्द्रसँग फोरम अध्यक्ष यादवले सोमबार राति सरकारमा सहभागिताबारे छलफल गरेका थिए। 

मन्त्रालयको संख्या र बाँडफाँटबारे छलफल गर्न एमालेले शुक्रबार बिहान नौ बजे प्रधानमन्त्री कार्यालय बालुवाटारमा स्थायी कमिटीको बैठक बोलाएको छ । माओवादी केन्द्रको हेर्ड क्वार्टर बैठक बिहीबार साँझ दाहाल निवास खुमलटारमा बसेको छ ।  बैठकमा अध्यक्ष दाहालले एमालेसँग भएको सहमतिबारे केही जानकारी गराएका छैनन् । 
‘मन्त्रालय भाडबन्डाबारे अध्यक्षले केही बताउनुभएको छैन,’ हेड क्वार्टरका सदस्य मातृका यादवले भने, ‘यस विषयमा शुक्रबार पनि छलफल हुनेछ।’

कार्यदललाई १५ दिन
यसैबीच एमाले र माओवादी केन्द्रको संगठनात्मक र वैचारिक विषयमा बनेको कार्यदलको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ। 

बैठकमा दुवै पार्टीका अध्यक्षहरुले पार्टी एकताको भावनाअनुसार १५ दिनभित्र आफ्नो काम सक्न निर्देशन दिएका छन्। ‘पार्टी एकताको भावनाअनुसार काम गर्न दुवै अध्यक्षहरुले निर्देशन दिनुभएको छ,’ कार्यदलका सदस्य रहेका एमाले सचिव गोकर्ण विष्टले भने।  

बैठकले वैचारिक कार्यदलका संयोजकमा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई तोकेको छ भने संगठनात्मक कार्यदलको संयोजकमा माओवादी नेता रामबहादुर थापालाई तोकेको छ। 

प्रकाशित: ११ फाल्गुन २०७४ ०२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App