coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

फोरम सशर्त सरकारमा जाने

काठमाडौं – संघीय समाजवादी फोरम संविधान संशोधनको सशर्त एमाले नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । एमालेसँग बिहीबार भएको बैठकमा फोरमले सर्तसहित सरकारमा सहभागी हुन राजी भएको हो।  

एमाले अध्यक्ष केपी ओलीसँग निर्णायक वार्ता गर्न फोरमका अध्यक्ष उपेन्द्र यादव बिहीबार जनकपुरबाट काठमाडौं आइपुगेका छन् । उनले शुक्रबार एमाले अध्यक्ष केपी ओलीसहित एमालेका नेतासँग कुराकानी गर्ने कार्यक्रम छ। 

यादव काठमाडौं आउनेबित्तिकै बिहीबार उनले पार्टीका शीर्ष नेतासँग सरकारमा सहभागिताबारे आन्तरिक कुराकानी गरेका थिए । स्रोतका अनुसार पार्टीका अधिकांश नेताले संविधान संशोधनमा एमाले प्रतिबद्ध  भए फोरम सरकारमा जान उपयुक्त हुने सल्लाह दिएका छन्। 

बिहीबारको बैठकमा फोरमले एमालेसँग यसअघि आफूले उठाएको मुद्दा र संविधान संशोधनमा सहमति जुटाउन एउटा संयुक्त कार्यदल बनाउन प्रस्ताव गरेको स्रोतले जानकारी दियो । फोरम  प्रस्तावलाई एमालेले सकारात्मक प्रतिक्रिया जनाएको छ ।
फोरमका एक नेताले भने, ‘हामी सरकारमा जान मानसिक रूपमा तयार भइसकेका छौं । उहाँहरू पनि हामीलाई सरकारमा लैजान तयार हुनुभएको छ । खाली कसरी प्रक्रिया मिलाउने भन्ने कुरामा मात्र हो।’

फोरमका महासचिव रामसाह यादवले सरकारमा सहभागिताबारे शुक्रबार एमालेसँग निर्णायक वार्ता हुने बताए। ‘निर्णायक वार्ता गर्न अध्यक्षज्यू बिहीबार जनकपुरबाट काठमाडौं आउनुभएको छ। शुक्रबार एमालेसँग निर्णायक वार्ता हुन्छ,’ उनले भने। 

एमालेले संविधान संशोधनमा प्रतिबद्धता जनाए फोरम सरकारमा जाने उनले भने। उनले भने, ‘एमालेले एउटा समयसीमा राखेर संविधान संशोधन गर्ने प्रतिबद्धता जनाए हामी सरकार जान सकारात्मक छौं।’ 

प्रदेश २ मा संघीय समाजवादी फोरमका तर्फबाट मुख्यमन्त्री भएका लालबाबु राउतलाई बिहीबार एमालेले विश्वासको मत दिएको छ । यसबाट पनि फोरम सरकारमा जाने निश्चित भएको फोरमका अर्का नेता बताउँछन। 

फोरम राजनीतिक समितिकी सदस्य रेखा यादवले भनिन्, ‘एमाले र फोरमबीचको वार्ता सकारात्मक छन् । हामी सरकारमा जाने परिस्थिति निर्माण हुँदैछ।’ 

फोरमका अर्का एक नेताले फोरम सरकारमा गए फोरमले कम्तीमा पनि तीन मन्त्रालय पाउनुपर्ने माग राखेका छन् । तर मन्त्रालय बाँडफाँटबारे छलफल नभएको ती नेताले बताए । उनले भने, ‘अहिले हामी सरकमा जाने प्रक्रिया मिलाउँदैछाैँ । मन्त्रालय बाँडफाँटमा छलफल भएको छैन।’

राजपालाई बेवास्ता
एमालेले राष्ट्रिय जनता पार्टी नेपाललाई भने सरकारमा लैजान चासो देखाएको छैन । केपी ओली प्रधानमन्त्री हुनुअघि उनले राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँग एकपटक कुराकानी गरेका थिए । ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि ठाकुरसँग कुराकानी भएको छैन । राजपाका अध्यक्ष मण्डलका अन्य नेताहरूसँग पनि ओलीले कुराकानी नगरेको स्रोतको भनाइ छ । राजपाका नेताहरूले एमालेले राजपालाई बेवास्ता गरेको गुनासो गरेका छन् । राजपाका सहमहामन्त्री डा.सुरेन्द्र झाले भने, ‘सरकारमा जाने विषयमा एमाले र राजपाबीच छलफल भएको छैन । एमाले पनि चासो दिएन । हामीले पनि चासो देखाएका छैनाैँ।’

स्रोतका अनुसार दुईतिहाइ जुटाउन एमाले र माओवादी केन्द्रले संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन प्रयास गरेका छन् । फोरम सरकारमा आउनेबित्तिकै  सरकारको पक्षमा दुईतिहाइ जुट्ने भएकाले एमालेले राजपालाई कम महत्त्व दिएको स्रोतको दाबी छ । 

प्रकाशित: ११ फाल्गुन २०७४ ०२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App