४ वैशाख २०८१ मंगलबार
अर्थ

एलपीजी ग्यासभन्दा बिजुली धेरै सस्तो

काठमाडौं– ग्यासबाट भन्दा बिजुलीबाट खाना पकाउँदा करिब दोब्वर सस्तो हुने नेपाल विद्युत् प्राधिकरणले गरेको एक अध्ययन देखाएको छ ।पर्याप्त बिजुली उत्पादन गर्न सकिएको खण्डमा ग्यास आयातमा कमी आउने र भान्छाको लागत पनि घट्ने उक्त अध्ययनले देखाएको हो।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ग्यासभन्दा बिजुलीको प्रयोग गर्दा सस्तो पर्ने बताए । ‘१० लिटर पानी तताउन ग्यास प्रयोग गर्दा १७ रुपैयाँ लाग्ने गर्छ,’ उनले भने, ‘त्यत्ति पानी बिजुलीबाट तताउँदा १० रुपैयाँ मात्र लाग्नेछ।’

प्रधिकरणले गरेको एक अध्ययनले त्यस्तो देखाएको घिसिङको भनाइ छ ।बिहीबार बारबरा फाउन्डेसनले आयोजना गरेको एक कार्यक्रममा उनले लोडसेडिङ अन्त्य भए पनि छिनछिनमा बिजुली जाने र आउने व्यवस्थामा सुधार गर्न नसकिएको बताए । ‘लोडसेडिङ सदाका लागि बिदा गरिए पनि गुणस्तरीय बिजुली आपूर्ति गर्न सकिएको छैन,’ उनले भने, ‘गुणस्तरिय बिजुली उपलब्ध गराउने अभियानमा लागेका छौं।’

अहिले बिजुलीको माग एक हजार तीन सय ४९ मेगावाट छ । तर, आपूर्ति त्योभन्दा ज्यादै कम भएकाले औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्नुपरेको घिसिङले बताए । ‘अहिले प्राधिकरणबाट पाँच सय १० मेगावाट र निजी क्षेत्रबाट चार सय ८३ मेगावाट क्षमताका आयोजना निर्माण भएका छन्,’ उनले भने, ‘अर्को वर्ष ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसीबाट बिजुली उत्पादन हुने अपेक्षा गरिएको छ ।’ तामाकोसीबाट उत्पादन हुन थालेपछि बर्खामा बिजुलीको समस्या नपर्ने उनले प्रस्ट पारे।

नेपालमा बिजुली उत्पादन हुन थालेको एक सय ६ वर्ष भएको छ । यस अवधिमा ज्यादै कम मात्र बिजुली उत्पादन भयो । तर, अहिले प्रत्येक महिना बिजुली थपिन थालेको छ । आगामी वर्ष बिजुली उत्पादनमा भारी वृद्धि हुने उनले बताए।

७.२ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सन् २०२६ सम्ममा पाँच हजार मेगावाट बिजुली आवश्यक पर्ने जानकारी पनि घिसिङले दिए । ‘अहिले २७ सय मेगावाटका आयोजना वित्तीय व्यवस्थापन गरेर निर्माणको क्रममा छन्,’ उनले भने, ‘चार हजार मेगावाट क्षमताका आयोजनासँग विद्युत् खरिद सम्झौता भएका छन्।’

अहिले कुल ऊर्जाको तीन प्रतिशत बिजुलीमात्र उत्पादन भएको जानकारी उनले दिए । ‘प्रदेश नं १, ३ र ४ मा उत्यधिक बिजुली उत्पादन हुने आयोजना छन्,’ घिसिङले भने, ‘२ नम्बर प्रदेशमा आयोजना नै छैनन्, ७ नं प्रदेशमा ३० मेगावाटको चमेलियाबाट हालसालै बिजुली उत्पादन भएको छ, ६ नं प्रदेशमा प्रसारण लाइनको समस्या र ५ नम्बर प्रदेशमा ३६ मेगावाट बिजुली निकाल्न विद्युत् खरिद सम्झौता भएको छ ।’
उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्द्रराज पोखरेलले सोलर प्रणाली पनि जडान गर्नुपर्नेमा जोड दिए । ‘सौर्य प्रणालीबाट उत्पादित बिजुली सस्तो हुँदै गएको छ,’ उनले भने, ‘जोखिम न्यूनीकरण गर्न पनि इनर्जी मिक्सको अवधारण अगाडि सार्नु पर्छ।’

राष्ट्रिय योजना आयोगका सदस्य अरविन्द्रकुमार मिश्रले सात सय ५३ स्थानीय तहमा प्रसारण लाइनमार्फत् बिजुली पुर्याउनुपर्नेमा जोड दिए । ‘अहिले प्राधिकरणको मुख्य चुनौती भनेकै प्रसारण लाइनको छ,’ उनले भने, ‘प्रसारण लाइन विस्तार नगर्ने हो भने बिजुली उत्पादन गरेर मात्र हुँदैन ।’ इनर्जी बैंकिङको अवधारणलाई मूर्त रुप दिनुपर्नेमा उनले जोड दिए ।

 

 

प्रकाशित: ११ फाल्गुन २०७४ ०२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App