८ वैशाख २०८१ शनिबार
अर्थ

एकीकृत बस्तीले जरायोटारबासीमा उत्साह

जरायाेटारमा निर्माण हुने एकीकृत बस्तीकाे शिलान्यासमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुसाल र प्रतिनिधिसभाका सांसद शेरबहादुर तामाङ

 

सिन्धुपाल्चोक– एकीकृत बस्ती निर्माणको काम सुरु भएसँगै जरायोटारबासी उत्साहित भएका छन् । मेलम्ची नगरपालिकाको जरायोटारमा बन्ने एकीकृत बस्ती केही दिन अघि सिलान्यास भएको थियो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुसाल र प्रतिनिधिसभाका सांसद शेरबहादुर तामाङले संयुक्तरुपमा सिलान्यास गरेपछि बस्ती निर्माणको काम सुरु भएको बस्ती पुनर्निर्माण समितिका अध्यक्ष टिकादत्त धितालले जानकारी दिए । यहाँका स्थानीयले एकीकृत बस्ती निर्माण हुने स्थानबाट अस्थायी टहरा सारी जग्गा प्लटिङ गरिसकेको उनले बताए ।

२०७२ सालको विनासकारी भूकम्पबाट घर भत्किएका ६४ परिवार मिलेर जरायोटारमा संयुक्त बस्ती निर्माण गर्न लागेका हुन् । जरायोटारबासीले एकीकृत ढंगले घर पुनर्निर्माण गर्ने योजनाका साथ ‘स्थानीय पुनर्निर्माण तथा पुनर्वास समिति’ बनाएका छन्।

बस्तीमा एक ठाउँमा घर बनाउने मात्र भन्दा पनि मौलिक, वातावरणमैत्री र आयआर्जनमा सहयोगी हुने घर बनाउने समितिका सचिव रामकुमार सापकोटाले बताए । ‘बस्तीलाई स्वदेशी एवं विदेशी पर्यटक आकर्षित हुने गरी अब बन्ने घरलाई जीविकोपार्जनसँग जोड्न चाहन्छौं,’ उनले भने । एकीकृत बस्तीको विस्तृत डिजाइन निर्माणमा आइसेट नेपालले सहयोग गरेको उनले बताए।

सचिव सापकोटाका अनुसार एकीकृत बस्ती निर्माण गर्न प्रत्येक परिवारले दुई लाख रुपैयाँका दरले सामूहिक कोषमा रकम जम्मा गरिसकेका छन् । सरकारको तर्फबाट प्राप्त हुने तीन लाख रुपैयाँ अनुदान त्यही कोषमा जम्मा गरिनेछ । एउटा घरको लागत १३ देखि १८ लाख रुपैयाँसम्म हुने समितिको अनुमान छ।

एकीकृत बस्तीमा चारकवटा ब्लक हुनेछन् । कुल ६४ निजी घरका अतिरिक्त विभिन्न सामाजिक कार्यका लागि उपयोग हुने एउटा साझा घर बन्ने समितिले जनाएको छ । जरायोटारबासीले घरको पुनर्निर्माण सम्पन्न भएपछि होमस्टे सञ्चालन गर्ने योजना बनाएका छन् । अर्गानिक तरकारी खेती र प्रविधिमैत्री गाईगोठ निर्माण गरी दूध निर्यात गर्ने योजना उनीहरुको छ।

बस्तीको सिलान्यास गर्दै सिइओ भुसालले एकीकृत बस्ती निर्माणमा गरिएको प्रयासको प्रशंसा गरेका थिए । उनले बस्तीको पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए । नेपाली मौलिकता झल्कने घर निर्माण गरे प्राधिकरणको नीतिअनुसार थप ५० हजार रुपैयाँ अनुदानका लागि पहल गर्ने उनले बताए ।
सांसद् तामाङले बस्तीलाई जीविकोपार्जनसँग जोड्ने योजनालाई प्रोत्साहन दिंदै पूर्वाधार निर्माणमा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले होमस्टेका अतिरिक्त जमिनको उपयोग गरी तरकारी तथा फलफूल उत्पादनको संभावना खोज्न सुझाव दिए ।
 

प्रकाशित: ११ फाल्गुन २०७४ ०१:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App