coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संघीय सांसदलाई यादव र भट्टले शपथ खुवाउने

काठमाडौँ (रासस)- संघीय संसद्अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई छुट्टाछुट्टै ज्येष्ठ सदस्यले शपथ गराउने भएका छन्।
ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका ८० वर्षीय महेन्द्र राय यादव र राष्ट्रियसभाकी ६९ वर्षीया तारादेवी भट्टले शपथ गराउने संसद् सचिवालयका सहप्रवक्ता केशवराज अर्यालले जानकारी दिए। निर्वाचन आयोगले पठाएको सूची र सांसदको जन्ममितिसम्बन्धी कागजातलाई आधार मानेर यादव र भट्टले नै शपथ खुवाउने निर्णय भएको बताइएको छ। प्रतिनिधिसभाका कूल २७५ सदस्यमध्ये राजपाबाट निर्वाचित सर्लाही–२ का यादव र ५९ सदस्यीय राष्ट्रियसभामा काँग्रेसकी भट्ट ज्येष्ठ देखिएका छन्। ज्येष्ठ सदस्य दुवैलाई राष्ट्रपतिले राष्ट्रपति कार्यालयमा शपथ खुवाएपछि मात्रै उहाँहरुले अन्य सदस्यलाई शपथ गराउने छन्।
निर्वाचन नभएसम्म यादवले सभामुख र भट्टले राष्ट्रियसभा अध्यक्षका रुपमा जिम्मेवारी लिने छन्। शपथ कार्यक्रम नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा हुने यही फागुन २० गते हुने तय भएको छ । प्रतिनिधिसभाका सदस्यलाई अपराह्न ४ बजे र राष्ट्रियसभाका सदस्यलाई ५:०० बजे शपथ गराइने समय तोकिएको छ । सरकारको सिफारिशमा राष्ट्रपतिले फागुन २१ गते अपराह्न ४ बजे संघीय संसद्को अधिवेशन आह्वान गरिसकेका छन्।

शपथका लागि तोकिएको समयभन्दा एक घण्टा अगाडि नै संसद् भवनमा उपस्थित हुन सांसदलाई सचिवालयले आग्रह गरेको छ । शपथमा आउँदा राष्ट्रिय वा आआफ्नो सांस्कृतिक पहिचान झल्किने पोशाकमा आउन सांसदलाई अनुरोध गरिएको संसद् सचिवालयका सहप्रवक्ता अर्यालले जानकारी दिए।

निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा वा राष्ट्रियसभा सदस्यको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्र शपथमा लैजानुपर्ने व्यवस्था गरिएको छ। कुनै सांसदले मातृभाषामा शपथ लिन चाहेमा शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिलिपिसहित तीन दिन अगाडि नै संघीय संसद्को महासचिवलाई उपलब्ध गराउनुपर्ने छ।
 

 

प्रकाशित: १० फाल्गुन २०७४ १४:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App