७ वैशाख २०८१ शुक्रबार
समाज

होमस्टेले जोड्यो पहाड र मधेस

व्यावसायिक मितेरी सम्बन्ध गाँसेपछि लमजुङको काउलेपानी होमस्टे र नवलपुरको अमलटारी मध्यवर्ती होमस्टे गाउँका स्थानीय सामूहिक तस्बिर खिचाउँदै । तस्बिर: किसान संगीत/नागरिक

बाघखोर (नवलपुर)– होमस्टेले कसरी जोड्यो सम्बन्ध ! सुन्दा आश्चर्य लाग्न सक्छ । तर लमजुङको काउलेपानी होमस्टे र नवलपुरको अमलटारी मध्यवर्ती होमस्टेले पहाड र मधेस जोडेको छ।

स्थानीय रहनसहन, भेषभुषा, सामाजिक तथा सांस्कृतिक परम्पराले दुबै होमस्टेबीचको सम्बन्ध बढाएको हो । यी दुइ होमस्टेले मितेरी साइनो पनि गाँसेका छन् । प्राकृतिक ऐतिहासिक, धार्मिक महत्वको काउलेपानी होमस्टे र चितवन राष्ट्रिय निकुञ्जछेवैको पर्यावरणीय, प्राकृतिक, सांस्कृतिक महत्वको अमलटारी मध्यवर्ती होमस्टे गाउँलाई थप स्तरीय बनाउने उद्देश्यले व्यावसायिक मितेरी सम्बन्ध गाँसिएको हो।

देशकै उत्कृष्टमध्येको ग्रामीण पर्यटकीय गाउँसहरको काउलेपानी होमस्टे गाउँमा पछिल्लो समयमा झन्डै ६० लाखको लगानीमा पर्यटकीय संरचना निर्माण गरिएको छ ।

काउलेपानी होमस्टे र अमलटारी मध्यवर्ती होमस्टे संचालकबीच अन्तरक्रिया पनि भएको छ । अन्तरक्रियामा व्यावसायिक अनुभव आदान–प्रदान गरिएको काउलेपानी होमस्टे व्यवस्थापन तथा पर्यटन विकास समितिका अध्यक्ष देउबहादुर गुरुङले बताए । ‘मध्यवर्ती थारूगाउँको होमस्टेका बारेमा हामीले धेरै चर्चा सुनेका थियौं, ’गुरुङले भने, ‘एकपटक भ्रमण गरेर नयाँ केही सिक्ने उद्देश्यले आएका थियौं, साह्रै राम्रो लाग्यो अनि मितेरी पनि गाँस्यौं ।’

मितेरी सम्बन्ध गाँसेसँगै मध्यवर्ती होमस्टे सञ्चालक समितिलाई काउलेपानी भ्रमणका लागि औपचारिक निमन्त्रणा गरिएको उनले बताए । काउलेपानीका तर्फबाट गुरुङ र मध्यवर्ती होमस्टेका तर्फबाट व्यवस्थापक धनीराम गुरौले आ–आफ्नो विशेषता, तौरतरिका र व्यावसायिक अनुभव पनि आदानप्रदान गरे।

दुई गाउँको मितेरी सम्बन्धले ग्रामीण पर्यटन र होमस्टे व्यवसाय क्षेत्रमा सकारात्मक सन्देश जाने र व्यावसायिक सुधार हुने अपेक्षा गरिएको काउलेपानीकी होमस्टे सञ्चालक तिलमाया गुरुङ बताउँछिन् । काउलेपानीमा पहाडको प्राकृतिक दृश्य र विशेषतः गुरुङ समुदायका धार्मिक, सांस्कृतिक, सामाजिक स्वाद पाइने र मध्यवर्ती होमस्टेमा समथर भौगोलिक बनोटसँगै थारू र बोटे समुदायको धर्म, संस्कृति र भेषभूषाको बेग्लै स्वाद भेटिएको उनले बताइन् ।

‘कुन राम्रो कुन नराम्रो भनेर छुट्ट्याउने ठाउँ नै पाइएन,’ गुरुङले भनिन्, ‘हाम्रोमा भन्दा सबै कुरा फरक तर साह्रै राम्रो चलन रैछ, दुवै गाउँ उत्तिकै राम्रो भन्ने लाग्यो ।’ होमस्टेको आनन्द लिन चाहने पर्यटकले काउलेपानीमा पहाड र अमलटारीमा तराईको स्वाद पाउने भएकाले यी दुवै ठाउँमा पुग्दा पूर्णरूपमा होमस्टेको आनन्द लिन पाउने सञ्चालकरू बताउँछन् ।

आफू एकपटक सदरमुकाम बेसीसहर पुगेको बताउँदै पहाड र हिमालको प्राकृतिक सुन्दरताले आफूलाई अति मोहित बनाएको मध्यवर्ती होमस्टे व्यवस्थापन समितिका व्यवस्थापक धनीराम गुरौ बताउँछन् । पहाडको होमस्टेबारे बुझ्न र त्यसको आनन्द लिन आपूmहरू समेत इच्छुक रहेको बताउँदै छिट्टै आफ्नो समूहलाई काउलेपानी लैजानेसमेत उनले बताए ।

आफूहरुले होमस्टे कार्यक्रम र पर्यटनलाई पर्यावरण तथा वातावरणीय संरक्षणसँग जोडेर सामाजिक, आर्थिक र व्यक्तिगत विकास गराउँदै लगेको कावासोती नगरपालिकाका उपप्रमुख एवं मध्यवर्ती होमस्टे व्यवस्थापन समितिका अध्यक्ष प्रेमशंकर मर्दनीय थारूले बताए । उनका अनुसार गाउँमा दुई सय १२ घरधुरी रहेकोमा २५ घरमा होमस्टे सञ्चालन गरिएको छ ।

०६९ जेठदेखि होमस्टे सुरु गरिएकोमा पाँच वर्षको अवधिमा झन्डै ४८ हजार पर्यटक आइसकेको र तीन करोडभन्दा बढीको कारोबार भइसकेको छ । विशेषतः थारू, बोटे र मुसहर समुदायको बसोबास रहेको सो गाउँका बासिन्दा राष्ट्रिय निकुञ्जको वन, वन्यजन्तु, जीवजन्तु र पर्यावरणको संरक्षण र पर्या–पर्यटनको विकासमा जुटेका छन् ।

गाउँमा पर्यटन व्यवसाय सञ्चालन गरेकै कारणले स्थानीय कला, संस्कृति, रीतिरिवाज र संस्कारको संरक्षण तथा प्रवद्र्धन भइरहेको पनि स्थानीयको भनाइ छ ।

गाउँमा आएका पाहुनालाई स्वागत गर्दै स्थानीय थारू र बोटे समुदायका सांस्कृतिक गीत र नृत्य प्रदर्शन गर्ने चलन रहेको सांस्कृतिक उपसमितिकी सदस्य गीता चौधरी बताउँछिन् । केही दिन बसेर घुमफिर गर्न चाहने पाहुनालाई स्थानीय युवाले नै गाइड गरेर गाउँ, नजिकैको बाडखोला, पानीघाट चौर हुँदै गुन्द्रही ढकहा सामुदायिक वन क्षेत्र, निकुञ्ज आसपास र नारायणी नदी क्षेत्र घुमाइदिन्छन् ।

सन् २०११ देखि होमस्टे सुरु भएको काउलेपानीमा २५ घर–परिवार रहेकोमा १४ घरमा होमस्टे सञ्चालन गरिएको छ ।

प्रत्येक घरमा चारजना पाहुना राख्ने गरी एटेच ट्वाइलेट, बाथरुमसहितको कोठा बनाइएको छ । पाहुनाको चाहना र रोजाइअनुसार लोकल कुखुराको मासु, हाँसको मासु, नारायणीको माछाको साथमा दाल, भात, तरकारी अचारसहितको स्वादिलो खाना खुवाउने व्यवस्था रहेको व्यवस्थापक गुरौ बताउँछन् ।

मध्यवर्ती होमस्टेको व्यवस्थापन, कला, संस्कृतिलगायतका अन्य व्यावसायिक प्याकेज कार्यक्रम देख्दा आफूहरू सन्तुष्ट भएको काउलेपानी पर्यटन व्यवस्थापन समितिले जनाएको छ । सन् २०११ देखि होमस्टे सुरु भएको काउलेपानीमा २५ घर–परिवार रहेकोमा १४ घरमा होमस्टे सञ्चालन गरिएको छ ।

बेसीसहरनजिकै रानीकुवाबाट सात किलोमिटर उत्तर लमजुङ दरबार, गाउँसहर कालिका मन्दिर नजिकै रहेको सो गाउँमा हालसम्म ६५ हजार बढी पर्यटक आइसकेका छन् । दैनिक घर, आँगन, पाहुनाकोठा र साप्ताहिक रुपमा वस्तीका बाटोघाटो, चोक, सामुदायिक भवन परिसर, सार्वजनिक शौचालय, धारो, मन्दिर, चौतारो, भ्यूटावर क्षेत्रको सरसफाई गरेर गाउँलाई सफा र स्वच्छ बनाउँदै आएको उनीहरू बताउँछन् ।

देशकै उत्कृष्टमध्येको ग्रामीण पर्यटकीय गाउँसहरको काउलेपानी होमस्टे गाउँमा पछिल्लो समयमा झन्डै ६० लाखको लगानीमा पर्यटकीय संरचना निर्माण गरिएको छ । सो क्षेत्रको पर्यटन विकासका लागि गाउँमा पदैलमार्ग, पाहुना स्वागत तथा सत्कार कक्ष, दृश्यावलोकन स्थल (भ्युटावर), खानेपानी व्यवस्थापन, वनभोज स्थल, पैदलमार्ग, काउलेपानी देवी मन्दिरसम्म जाने पुल, प्रतीक्षालय, सार्वजनिक शौचालय, पोखरीलगायतका संरचना निर्माण गरिएको छ ।

गाउँमाथिको जंगलमा थरीथरीका गुराँस, अनेकौं प्रजातिका सुनाखरी, बुकीफूल, प्याउलीजस्ता धेरैथरी फूल फुल्ने, काफल, चुत्रो, दमागेडीजस्ता जंगली वनस्पतिको स्वाद लिन सकिने र थुप्रै खालका जंगली जनावर तथा चराचुरुङ्गी समेत अवलोकन गर्न पाइने भएकाले पर्यटकलाई जंगल सफारीको व्यावसायिक प्याकेज तयार गर्ने प्रयासमा समिति रहेको पनि बताइएको छ ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App