५ वैशाख २०८१ बुधबार
विचार

छोरीलाई बहादुर बन्न सिकाऔँ

केही वर्षअघि मैले गज्जबकै हिम्मत देखाएँ । कसैले त्यसलाई मूर्खता पनि भन्न सक्लान् । म संसद् (अमेरिकी कंग्रेस) निर्वाचनमा उठेँ । यसअघि म पार्टीका लागि चन्दा उठाउने व्यक्ति थिएँ तर भित्री मनमा मलाई चुनावमा उठ्ने इच्छा थियो । सन् १९९२ देखि नै मेरो ठाउँबाट नियमित रुपमा जित्ने एक जना सांसद थिइन् । म उनलाई टक्कर दिन चाहन्थेँ।

मैले चाहना व्यक्त गर्नेबित्तिकै सर्भे गर्ने साथीहरुले भने, ‘तिमी बौलायौ ? तिमी जित्ने कुनै सम्भावना छैन ।’ तर मैले उनीहरुको कुरा मानिनँ । सन् २०१२ मा म न्युयोर्क सिटी कंग्रेसनल चुनावमा भाग लिएँ । जित्नका लागि सबै उपाय मैले रचेँ । मलाई न्युयोर्क डेली पत्रिकाले समर्थन ग¥यो । वाल स्ट्रिट जर्नलले चुनाव हुने दिन मेराबारे जानकारी छाप्यो । सिएनबिसीले मेरो उपस्थिति सबैभन्दा उत्तेजक

निर्वाचनमध्येको एउटा भन्यो । मेरातर्फबाट कुनै कमी नरहोस् भनेर चिनेजानेका सबैले पैसा उठाइदिए । हुँदाहुँदा भारतीय काकी–ठूलीमाहरु पनि उत्साहित भएर ‘लौ हाम्री केटीलाई जिताऊँ’ भनी लागिपरे ।
चुनावका दिन जुन परिणाम आयो, त्यसले मेरा शुभचिन्तकले भनेको कुरा सत्य हो भन्ने प्रमाणित गरिदियो । मैले १९ प्रतिशत मत पाएँ । जुन पत्रिकाले मलाई ‘राजनीतिक पर्दाको तारा’ भनिरहेका थिए उनीहरुले नै जम्माजम्मी ६ हजार ३ सय २१ मतका लागि १ करोड ३० लाख डलर व्यर्थै खर्च गरेको भनी टिप्पणी गरे  । यो मेरा लागि ज्यादै अपमानजनक थियो भन्ने तपाईंलाई लाग्ला !

३३ वर्षको उमेरमा म चुनावमा उठेर हारेकी थिएँ र जिन्दगीमा पहिलो चोटि मैले बहादुरीको काम गरेकी थिएँ । मैले जित्ने र उत्तम हुनेबारे चिन्ता गरेकी थिइनँ । मैले भेटेका धेरै महिलाहरु सफल हुन र महान् बन्ने बारे सोच्छन् तर कहिल्यै असफलताबारे सोच चाहँदैनन् । म चाहिँ आफूलाई सधैँ उत्तम र सफल हुन्छु नै भन्ने ठान्दिनँ । म त प्रयास गर्ने र त्यो इमानदारीपूर्वक गर्नेबारे मात्रै सोच्छु ।

सबै युवतीलाई जोखिम र विफलताबाट बच्न सिकाइन्छ । हामीलाई सुन्दर तरिकाले हाँस्न सिकाइन्छ । सुरक्षित रहन र सबै विषयमा उम्दा अङ्क ल्याउन जोड दिइन्छ । अर्कोतर्फ केटाहरुलाई भने खतरा मोल्न, स्वच्छन्द उड्न सिकाइन्छ । यो सिकाइको परिणाम के हुन्छ भने जब केटाहरु वयस्क हुन्छन्, उनीहरु जोखिममाथि जोखिम लिन आदी भइसक्छन् । जोखिम केटाहरुका लागि एउटा सामान्य प्रयास बन्न पुग्छ ।

मैले जिन्दगीमा हिम्मत गर्न ३३ वर्षको उमेरमा सिकेँ तर यति ढिला म बहादुर भएकीमा मलाई दुःख लागेको छ । हामीले हाम्रा छोरीचेलीलाई विद्यालयमै हिम्मतिला र बहादुर बनाउन सिकाउनु पर्छ ।

हामी आफ्ना छोरीहरुलाई उत्तम बनाउन चाहन्छौँ र छोराहरुलाई बहादुर बनाउन हुर्काउँछौँ । केही मानिसहरु देशको बजेटघाटाबारे चिन्ता गर्छन् तर म चाहिँ हाम्रा छोरीहरुको बहादुरीको घाटाका बारेमा चिन्ता गर्छु । हामीले हाम्रो समाज र हाम्रो अर्थव्यवस्था गुमाइरहेका छौँ किनभने हामीले हाम्रा छोरीहरुलाई लाछी, डरछेरुवा, खतरा मोल्न नसक्ने बनाइरहेका छौँ । यही डरछेरुवा र लाछीपनका कारण हाम्रा छोरीहरु ठूला कम्पनीमा, राजनीतिमा, बोर्डमा, संसद्मा पुग्न सकिरहेका छैनन् ।

१९८० को दशकमा मनोवैज्ञानिक कार्लो ड्वेकले के पाए भने पाँचौँ कक्षाका चतुर छात्रहरुले कठिन काम भए पनि मज्जाले सम्हालिरहेका छन् तर कक्षाका चतुर छात्राहरु भने जिम्मेवारी लिन नपरे हुन्थ्यो भन्ने हतारोमा थिए । जति राम्रो आइक्यु थियो, उनीहरुलाई उति चाँडै जिम्मेवारी त्याग्ने हतारो थियो । अर्कोतर्फ टाठा केटाहरु चाहिँ गाह्रो कामलाई चुनौतीका रुपमा स्वीकार्दै जिम्मा लिन्थे । उनीहरुलाई त्यही काम स्फूर्तिदायक लाग्थ्यो । उनीहरु त्यो काम फत्ते गर्न आफ्नो प्रयास लगातार बढाइरहेका थिए ।

पाँचौं कक्षामा यस्तो अवस्था थियो । छात्राहरुले हरेक विषयमा छात्रहरुलाई धूलो चटाउँथे, गणित र विज्ञानमा केटाहरुलाई जित्थे र पनि किन उनीहरु चुनौतीसँग डराउँथे त ? उनीहरुको सोच्ने दृष्टिकोणको भिन्नताले यस्तो भएको थियो । पाँचौँ कक्षाका छात्रा पनि उत्तिकै क्षमतावान् थिए तर ती दुई पक्षमध्ये छात्राहरुले चुनौतीलाई असम्भव देख्थे, भाग्न खोज्थे तर छात्रहरु पनि त्यसैमा रमाउन खोज्थे ।

एउटा शोधले देखाएको छ, पुरुषले कुनै विज्ञापन देख्यो र जागिरका लागि आवेदन दियो भने अनि जागिर पाउने सम्भावना ६० प्रतिशत मात्रै देख्यो भने पनि उसले निवेदन दिन्थ्यो तर महिलाले चाहिँ १०० प्रतिशत नै जागिरको सम्भावना नभई निवेदन दिँदैनन् । यो शोधले के देखायो भने सामान्यतः महिलाहरुलाई अझै बढी आत्मविश्वासको आवश्यकता छ तर मलाई के लाग्छ भने महिलाको दिमागलाई पूरै भुट्न जरुरी छ । महिलाहरु महत्वाकांक्षी हुनुपर्छ । त्यो नभएर नै कम जोखिम लिने र सुरक्षित बस्ने, असफल नहुने प्रवृत्ति बनिसकेको छ ।

कुनै पनि जागिरमा महिलाहरुको कम सहभागिता हुनु भनेको हाम्रो अर्थ व्यवस्थामा उनीहरु पछि पर्नु हो । किन पछि परे भने उनीहरुलाई बहादुर हुन सिकाइएन, सुरक्षित हुन सिकाइयो । बहादुर बन्न सिकाउन भनेर मैले एउटा कम्पनी सुरु गरेकी थिएँ– कम्प्युटर कोड पढाउने संस्था । त्यहाँ पढाउँदा मैले उनीहरुलाई कम्प्युटर र इन्टरनेटका कोड मात्र पढाइनँ, सामाजिकृत रुपमा सशक्त हुने पाठ पनि पढाएँ । एप्लिकेसनको सफलता र विफलताको अन्तर कोलम र सेमी कोलमले पारिदिन्छ । यसमा जति बढी प्रयास र निरन्तर प्रयास हुन्छ, त्यो उति बढी सफल हुने सम्भावना हुन्छ । जति धेरै प्रयास, उति धेरै ज्यूँदो हुनुहुन्छ तपाईं । यसका लागि दृढता आवश्यक पर्छ तर मेरो इन्स्टिच्युटमा पढ्ने अधिकांश युवती आफू गलत ठहरिउँला भन्ने डर मान्थे ।

यहाँ तालिम लिने सुरुका सातामा युवतीले प्रशिक्षकलाई बोलाउँथे र भन्थे, ‘के कोड लेख्ने हो मलाई थाहा छैन ।’ प्रशिक्षकले स्क्रिनमा हेर्दा खाली टेक्स्ट एडिटर देख्थे । प्रशिक्षकलाई के लाग्थ्यो भने यत्रो २० मिनेट यो केटीले खाली स्क्रिन हेरेर बिताई । तर कम्प्युटरमा ‘अन डु’ दबाउँदा के देखियो भने ती छात्राले कैयौँ कोड लेखेकी थिइन् तर डिलिट गरेकी थिइन् । उनले प्रयास गरेकी थिइन्, करिब करिब उनले समस्या समाधानसमेत गरिसकेकी थिइन् तर आफूले गलत काम गरेको अरुले नदेखोस् भनेर उनले सबै डिलिट गरेकी थिइन् । उनले आफूले गरेको काम देखाएको भए हुन्थ्यो तर गलत हुने डरले उनले देखाइनन् ।

केटीहरुले कोडिङ मात्र सिकेर नहुने मलाई लागिरहेको छ किनभने कोलम्बिया विश्वविद्यालयका अध्यापक लियो ब्रेका अनुसार कुनै केटाले प्रयास गर्दा काम पूरा गर्न सकेनन् भने उनलाई भन्ने गरेका छन्, ‘प्रोफेसर, मैले गरेको कोडमा केही समस्या छ’ भन्छन् । उनलाई केटीहरु भन्छन्, ‘प्रोफेसर, ममा केही समस्या छ ।’ वास्तवमा केटीहरु के ठान्छन् भने उनीहरुमा समस्या छ । यो समस्या केटीहरुको होइन । उनीहरुको आफूलाई संकुचित बनाउने समस्या हो ।

कुनै कुरा सोध्नु प¥यो भने केटीहरुले निकै कम हात उठाउँछन् । उनीहरु कुनै प्रश्न सोध्न डराउँछन्, हच्किन्छन् । कतै म मात्र एक्ली अबुझ नबनूँ भन्ने उनीहरुलाई लाग्छ । बुझाइमा उसलाई मात्र समस्या भएको हो कि भन्ने हिच्किचाहटले उनीहरु खुम्चिन बाध्य भइरहेका छन् । त्यसैले महिलालाई अब हामीले हिम्मतिली हुन सिकाउनु परेको छ ।

उदाहरणका लागि हाम्रो विद्यालयको छात्राहरुलाई नै लिनुस् । उनीहरुले टाम्पन रन नामक एउटा कम्प्युटर गेम बनाए । रजस्वलाको वर्जना र गेमिङमा सेक्सिजमका विरुद्ध लड्नका लागि यो गेम बनाइएको थियो । अथवा एउटी सिरियाली शरणार्थीले अमेरिकीहरुलाई चुनावमा सघाउन मोबाइल एप बनाइन् । १६ वर्षे एउटी युवतीले क्यान्सरको घातक वा सौम्य अवस्थाबारे पत्ता लगाउने अल्गोरिदम बनाइन् ताकि उनले आफ्ना क्यासरयुक्त बुवालाई बचाउन सकून् । यस्ता हजारौँ उदाहरण हामी पाउन सक्छौँ जसले समाजसँग जुझ्दै कोसिस गरिरहन सिके र आफ्नो रुचिको विषयमा हठ गर्न सिके ।

उनीहरुले कैयौँ असजहताका बाबजुद कोडर बनून् या अर्की हिलारी क्लिन्टन या बियान्से बनून् तर उनीहरुले सपना भने नत्यागून् । उनीहरुको सपना हाम्रो देशका लागि ज्यादै महत्वका छन् । अमेरिकी अर्थव्यवस्थाका लागि वा भनौँ कुनै पनि देशको अर्थव्यवस्थाका लागि नवीनता ल्याउन आधा आकाश ढाक्ने महिलालाई पछाडि धकेल्न सक्तैनौँ । हामीले हाम्रा केटीहरुलाई मिलिजुली बस्न सिकाउने होइन, बेमेलका बाबजुद मिल्नेबारे सिकाउनु पर्छ । हामीले छोरीचेलीहरुलाई पछि गएर बहादुर बनाउँला भनेर प्रतीक्षा गर्न सक्तैनौँ ।

मैले जिन्दगीमा हिम्मत गर्न ३३ वर्षको उमेरमा सिकेँ तर यति ढिला म बहादुर भएकीमा मलाई दुःख लागेको छ । हामीले हाम्रा छोरीचेलीलाई विद्यालयमै हिम्मतिला र बहादुर बनाउन सिकाउनु पर्छ । अनि मात्र उनीहरुले आफ्नो करियरमा प्रभाव पार्न सक्छन् वा अरुको जीवनमा प्रभाव पार्न सिक्छन् ।
हामीले जहिले पनि उनीहरुलाई पूर्ण रुपमा महिला र कोमल हुन सिकायौँ, प्रेम गर्न सिकायौँ तर बहादुर र हिम्मतिली हुन सिकाएनौँ । हिम्मतिली हुनु सामाजिक आचारव्यवहार विरुद्ध हो भनी सिकायौँ । त्यो छाडेर एउटी युवतीलाई, जो तपाईंकी बहिनी, भतिजी, कर्मचारी वा सहयोगी जो भए पनि उनीहरुलाई अपूर्ण महिला भए पनि हिम्मतिली हुन सिकाउनुहोस् । एउटी हिम्मतिली महिलाले संसारमा धेरै कुराको परिवर्तन ल्याउन सक्छन् ।

हामीले हरेक वर्ष संसारभरिका महिलाहरुलाई बहादुर र हिम्मतिलो हुन सिकायौँ र सिकाइरहने छौँ ।
 

(गर्ल्स हु कोड नामक गैर सरकारी संस्थाकी सञ्चालक। २०१२ यता उनले ६० हजारभन्दा बढी युवतीलाई इन्टरनेट कोडिङ सिकाइसकेकी छन्।)

 

प्रकाशित: १ भाद्र २०७३ ०४:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App