coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा पेन्ससँगको वार्ता रद्द

दक्षिण कोरियामा आयोजना भएको शीतकालीन ओलम्पिक्सको उद्घाटन समारोहमा उत्तर कोरियाली शासक किम जोङ–उनकी बहिनी किम यो–जोङ (बायाँ) र अमेरिकी उपराष्ट्रपति माइक पेन्स । फाइल तस्बिर : बिबिसी

वासिङ्टन– शीतकालीन ओलम्पिक्समा अमेरिकी उपराष्ट्रपति माइक पेन्स र उत्तर कोरियाली अधिकारीबीच बैठक हुने तय भए पनि अन्तिम समयमा उत्तर कोरियाले बैठक रद्द गर्दा बैठक हुन नसकेको अमेरिकी अधिकारीहरुले बताएका छन्।

दक्षिण कोरियामा भएको शीतकालीन ओलम्पिक्सको उद्घाटनका लागि पेन्स त्यहाँ पुगेका थिए । पेन्सका प्रवक्ताका अनुसार उपराष्ट्रपतिको उत्तर कोरियाली शासककी बहिनी एवं प्रभावशाली नेत्री किम यो–जोङसहित अन्य अधिकारीहरुसँग भेटवार्ता गर्ने तालिका रहेको थियो । ‘यदि उत्तर कोरियाले अन्तिम समयमा भेटवार्ताको कार्यक्रम रद्द नगरेको भए उत्तर कोरिया र ट्रम्प प्रशासनबीच पहिलो आधिकारिक अन्तक्र्रिया हुने थियो,’  प्रवक्ताले बताए ।उत्तर कोरियाले भने अमेरिकाको यस्तो जानकारीमाथि कुनै प्रतिक्रिया नजनाएको बिबिसीले उल्लेख गरेको छ।

अमेरिकाको विदेशमन्त्रालयकी प्रवक्ता हिथर नाउरेटले जब उत्तर कोरियाली प्रतिनिधिमण्डलसँग संक्षिप्त बैठकको सम्भावना बढेको थियो, उपराष्ट्रपति पेन्सले उत्तर कोरियाको महत्वकांक्षी अवैध ब्यालेस्टिक क्षेप्यास्त्र तथा आणविक कार्यक्रमलाई रोक्ने अमेरिकी आवश्यकताको मौकालाई लिन चाहन्थे ।
‘अन्तिम सयममा उत्तर कोरियाली प्रतिनिधिमण्डलले बैठकमा सहभागी नहुने निर्णय गरे । मौकाको फाइदा लिनबाट उनीहरु चुकेकोमा हामीलाई अनौठो लागि रहेको छ,’ प्रवक्ताले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

दक्षिण कोरियामा भएको शीतकालीन खेलकुदमा उत्तर कोरियाको सहभागिताले कोरियाली प्रायद्वीपमा जारी तनाव कम गर्न महत्वपूर्ण भूमिका खेलेको बताउने गरिएको छ। लगातारको आणविक हतियार र परम्परागत क्षेप्यास्त्र परीक्षण गरेको भन्दै विश्वव्यापी रूपमा निन्दा खेपिरहेको प्योङयाङले अन्तर्राष्ट्रिय छवि सुधार्न गरिरहेको प्रयासलाई लिएर पनि विश्वले हेरिरहेको छ । यसरी सरोकार राख्ने देशमध्येको अमेरिकाले उत्तर कोरियामाथिको प्रतिबन्धलाई खुकुलो नबनाइने भन्दै उसलाई आणविक कार्यक्रम त्याग्न र देशको मानवअधिकारको अवस्थालाई सुधार्न चेतावनी दिँदै आएको छ ।अमेरिकामा भने दक्षिण कोरियामा रहँदा उत्तर कोरियाली प्रतिनिधिमण्डलसँग कूटनीतिक रूपमा संलग्न नभएको भन्दै उपराष्ट्रपति पेन्सको आलोचना हुने गरेको छ।

शीतकालीन ओलम्पिक्सको उद्घाटनका क्रममा पेन्स मानवअधिकारको उल्लङ्घन गरेको आरोप लाग्दै आएकी किम यो–जोङबाट करिब एक फिट नजिकै बसेका थिए । उक्त मञ्चमा उनलाई ध्यान दिन ठिक नलागेर आफूले किम यो–जोङसँग कुनै वार्तालाप नगरेको पेन्सले बताएका छन् ।उपराष्ट्रपतिका चिफ अफ स्टाफ निक एयर्सले उत्तर कोरियाले पेन्ससँगको  वार्तालाई ओलम्पिक्सको दौरान विश्वभर प्रोपागान्डा हुने डरले अन्तिम समयमा वार्ता रद्द गरेको बताएका छन्।

‘ओलम्पिक्सका बेला राम्रा तस्बिर खिचेर किम जोङ–उनको हत्यारा शासनलाई सफा देखाउन खोजे उपराष्ट्रपतिको कार्यालय त्यसको विपक्षमा उभिने थियो  । त्यसकारण पनि उनीहरु बैठकबाट भागेको हुनसक्छन् वा उनीहरु बैठकप्रति त्यति इमान्दार नभएको हुनसक्छ,’ उनले बताए । ओलम्पिक्स खेलकुदको कार्यक्रमबाट फर्कने क्रममा उपराष्ट्रपति पेन्सले अमेरिका र दक्षिण कोरिया उत्तर कोरियाविरुद्ध एकताबद्ध रहेको बताएका थिए।

उत्तर कोरियाले आणविक र ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई नत्यागेसम्म उसलाई आर्थिक र कूटनीतिक रूपमा एक्ल्याउने विषयमा अमेरिका, दक्षिण कोरिया र जापानबीच कुनै अस्पष्टता नरहेको उनले बताएका थिए । उपराष्ट्रपति पेन्सले यस्तो धारणा राखे पनि दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले उत्तर कोरियाली शासक किम जोङ–उनले पठाएको प्योङयाङ भ्रमणको निमन्त्रणा स्वीकार गर्ने विषयमा सोचिरहेको बताइएको छ । यदि दक्षिण कोरियाली राष्ट्रपति मुनले उत्तर कोरियाको भ्रमण गरे भने दुई देशका नेताबीच दशकभन्दा बढी समयपछि पहिलो शिखर सम्मेलन हुनेछ।

 

 

 

 

 

प्रकाशित: १० फाल्गुन २०७४ ०४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App