६ वैशाख २०८१ बिहीबार
खेल

गल्ती महँगो भयो : कोन्टे

लन्डन– चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले मंगलबार घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा टोलीले गरेको एक गल्ती महँगो साबित हुँदा च्याम्पियन्स लिग अन्तिम १६ पहिलो लेगमा बर्सिलोनासँग १–१ को बराबरीमा रोकिनुपरेको प्रतिक्रिया दिएका छन्।

बार्सिलोनाका स्ट्राइकर लियोनल मेसीले खेल सकिन १५ मिनेट बाँकी हुँदा चेल्सीविरुद्धको नवौं भेटमा गरेको पहिलो गोलमा घरेलु टोलीको जितका साथ दोस्रो लेगमा क्याम्प नोउको भ्रमण गर्ने लक्ष्य विफल भएको थियो । बार्सिलोनाले हार टारेको थियो । चेल्सीका आन्द्रियास क्रिस्टेनसेनले राम्रोसँग क्लियर गर्न नसक्दा प्राप्त बललाई आन्द्रेज इनियस्टाले रोक्दै मिलाइदिएको पासलाई मेसीले पोस्टको दिशा दिएका थिए।

यसअघि पहिलो हाफमा दुईवटा प्रहार पोस्टमा लागेर फर्कंदा निराश बनेका विलियानले ६१औं मिनेटमा खोलेको गोलको खातामा चेल्सीले अग्रता लिएको थियो । विलियानले इडेन हाजार्डको पासलाई गोलमा पोस्टको दिशा दिएका थिए।

‘जुन टोलीमा मेसी, लुइस स्वारेज, इनियस्टाजस्ता उत्कृष्ट खेलाडी छन् । त्यो टोलीविरुद्ध तपार्इंले गल्ती गर्नुभयो भने तपाईंले त्यसको मूल्य चुकाउनुपर्छ,’ कोन्टेले भने, ‘घरेलु मैदानमा बराबरीमा रोकिनु निराशाजक हो । तर यस खेलले हामी दोस्रो खेल पार गर्दै अन्तिम ८ मा प्रवेश गर्छौं भन्ने आत्मविश्वास दिएको छ ।’

बार्सिलोना नौ वर्षअघि स्टाम्फोर्ड ब्रिजमा विवादास्पद बनेको सेमिफाइनलमा चेल्सीको चुनौती पन्छाउँदै फाइनल प्रवेश गर्दा अन्तिम समयमा मेसीको पासलाई इनिएस्टाले जाली चुमाएका थिए । मंगलबार त्यसको विपरीत इनियस्टाको पासमा मेसीले गोल गरे ।‘हामीले खेल नियन्त्रणमा राखे पनि गोलको अवसर र्सिजना गर्न सकेनाै।

खेलको अन्त्यमा हामी चेल्सीले गरेको गल्तीको फाइदा उठाउन सफल भयौं,’ बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भार्डेले भने, ‘१–० ले पछि परेको स्थिति उल्टाउँदै बराबरी गर्या । दोस्रो लेगमा दुवै टोलीको सम्भावना जीवित छ ।’कोन्टेले स्ट्राइकर अल्भारो मोराटा र ओलिभर जिरौडलाई बेन्चमा राख्दै इडेन हाजार्ड, पेड्रो रोड्रिग्वेज र विलियानलाई अग्रपंक्तिमा खेलाएका थिए ।

खेलको पाँचाै मिनेटमा हाजार्डले २० यार्ड टाढा गरेको प्रहार पोस्टनजिकैबाट बाहिरिँदा घरेलु टोली अग्रता दिनबाट चुकेको थियो ।चेल्सीका रक्षकको कडा निगरानीमा भएका मेसीले दिएको क्रसमा पाउलिन्होले गरेको हेड बाहिरिँदा बार्सिलोना निराश बनेको थियो।

त्यस्तै विलियानको दुई उत्कृष्ट प्रहारमा पोस्ट बाधक बन्दा चेल्सीले पहिलो हाफमै गोलको खाता खोल्ने अवसर गुमायो । बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगन बिट भए पनि विलियानको प्रहार पोस्टका लाग्दै फर्कंदा निराश बनेका विलियान ४१औं मिनेटमा गरेको अर्को प्रहार पनि पोस्टमा लाग्दा थप निराश बनेका थिए।

‘विलियानले ह्याट्रिक पूरा गर्न सक्थे । हामी घरेलु मैदानमा निराश बन्यांै, किनभने राम्रो प्रदर्शन मात्र सुखद नतिजा होइन,’ चेल्सीका मिडफिल्डर सेस फाब्रिगासले भने, ‘दोस्रो हाफमा हामीले खेल नियन्त्रणमा राख्दै अग्रता लिए पनि त्यसलाई जोगाउन सकेनाै ।’त्यस्तै च्याम्पियन्स लिगअन्तर्गत मंगलबार सम्पन्न अर्को खेलमा बायर्न म्युनिखले बेसिक्टासमाथि ५–० ले सहज जित हात पारेको छ ।

बायर्नको जितमा स्ट्राइकर थोमस मुलर र रोबर्ट लेवान्डोवस्कीले दुई तथा किङ्सले कोमनले एक गोल गरे।
१६औं मिनेटमा डोमागोज भिडाले लेवान्डोवस्कीमाथि खराब फाउल गर्दै रातो कार्डको दर्शन गरेपछि बेसिक्टासले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो ।मध्यान्तर हुन २ मिनेटअघि मुलरले गरेको गोलमा बायर्नले अग्रता लिएको थियो । मुलरले डेविड अलाबाको पासलाई पोस्टको दिशा दिएका थिए ।५३औं मिनेटमा कोमनले लेवान्डोवस्कीको पासमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारेका थिए । त्यसको १३ मिनेटपछि मुलरले दोस्रो गोल गर्दै बढाएको टोलीको अग्रता ७९औं मिनेटमा लेवान्डोवस्कीले गोल गर्दै ४–० मा पुर्याएका थिए ।

खेल सकिन २ मिनेट बाँकी हुँदा लेवान्डोवस्कीले गोल गर्दै बायर्नको सहज जित पक्का गरेका थिए । लेवान्डोवस्कीले मुलरको पासलाई जाली चुमाएका थिए ।‘सुरुआतमा उत्कृष्ट प्रदर्शन गर्न नसके  पनि बेसिक्टास १० खेलाडीमा सीमित हुँदा हामीलाई  खेल सहज बन्यो,’  मुलरले भने, ‘यो सुखद नतिजा हो । दोस्रो हाफमा हामीले आक्रामक खेल्दै खेलमा पूर्ण  रूपमा हाबी भयौं ।’‘जुन टोलीमा मेसी, लुइस स्वारेज, इनियस्टाजस्ता उत्कृष्ट खेलाडी छन् । त्यो टोलीविरुद्ध तपार्इंले गल्ती गर्नुभयो भने तपाईंले त्यसको मूल्य चुकाउनुपर्छ ।’

 

 

प्रकाशित: १० फाल्गुन २०७४ ०३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App