७ वैशाख २०८१ शुक्रबार
विचार

अक्षम्य अपराध

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानअनुसार मुलुक संक्रमणकाल अन्त्य भई समृद्धिको बाटोमा अग्रसर हुने अपेक्षाविपरीतका गतिविधि केही समूहबाट अझै भइरहेका छन् । बेला–कुबेला बन्द आयोजना गर्ने र सर्वसाधारणलाई आतंकित पार्ने गतिविधि रोकिएका छैनन् । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार आयोजना गरेको कथित नेपाल बन्दका क्रममा भएका केही घटनाले यो दललाई हेर्ने दृष्टिकोणमा पुनर्विचार गर्नुपर्ने अवस्था आएको छ । बन्दका नाममा सर्वसाधारणलाई आतंकित तुल्याउने काम चन्द नेतृत्वको यो पार्टीले धेरैपटक गरिसकेको छ । सर्वसाधारण चढेका बसमा बम हानेर कस्तो क्रान्ति गर्न खोजिएको हो ? प्रस्ट छ । तत्कालीन नेकपा माओवादीद्वारा आयोजित दशवर्षे ‘दीर्घकालीन जनयुद्ध’ ताका मुलुकले हिंसात्मक गतिविधिबाट भलिभाँती जानकार हुने मौका पाइसकेको छ । करिब १५ हजार नागरिकको सत्तापक्ष र माओवादी दुवैका कारणले मृत्यु मात्र भएको छैन हजारौं बेपत्ता पारिएका छन् । कैंयन्को सम्पत्ति आगजनी भएको छ । त्यो द्वन्द्वको घाउ पुरिन अझै वर्षौं लाग्नेछ । मुलुकले भोगिसकेको त्यो सशस्त्र गतिविधिबाट शक्तिआर्जन गरिसकेको माओवादी केन्द्र यतिबेला उसैले कटु आलोचना गरेको नेकपा एमालेसँग पार्टी एकता गर्ने ठाउँमा आइपुगेको छ। 

एमालेसँग मिलेर निर्वाचनमा सफलता हासिल गर्न पुगेको माओवादी केन्द्रको अनुभवबाट पनि विप्लवको दलले सिके हुन्छ । सर्वसाधारणलाई बम हानेर होइन, शान्तिपूर्ण बाटोबाटै सफलता हासिल गर्न सकिन्छ । अहिले मुलुकमा शान्तिपूर्ण गतिविधि गर्न कुनै अप्ठ्यारो छैन । हिजोका दिनमा कांग्रेस, एमालेलगायतले पनि सशस्त्र विद्रोहको बाटो अख्तियार गरेका थिए । तर, त्यसलाई सही बाटो होइन भन्ने बुझेपछि बेलैमा त्यसलाई अस्वीकार गरी शान्तिपूर्ण बाटोबाट अघि बढ्ने काम भएको हो । एमाले (तत्कालीन माले) ले २०२८ सालमा सुरु गरेको ‘वर्ग शत्रु सफाया अभियान’ लाई कालान्तरमा त्यो बाटो ठीक नभएकाले चटक्कै छाडेर जनताको बहुदलीय जनवादको नाममा शान्तिपूर्ण राजनीतिक बाटोमा आफूलाई अग्रसर गराउन पुग्यो । एमालेको नाममा कम्युनिस्ट शब्द उल्लेख गरे पनि उसको राजनीतिक व्यवहारबाट कोही पनि उतर्सिने अवस्था छैन । उसले आफूलाई आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रताजस्ता लोकतन्त्रका आधारभूत प्रस्थापनाको पक्षमा उभ्याएको छ । भलै उसले केही वर्षसम्म साम्यवाद हुँदै समाजवादसम्म पुग्ने धारणा पनि दस्ताबेजमा उल्लेख नगरेको होइन । तर, त्यो कार्यकर्तालाई खुसी पार्नका निम्ति मात्र थियो । पछिल्ला वर्षमा त्यो पक्ष उल्लेख गर्नुपर्ने आवश्यकतासमेत एमालेले महसुस गर्न छाडिसकेको छ । यसबाट बुझ्न सकिन्छ एमाले, माओवादी केन्द्रलगायतका शान्तिपूर्ण राजनीतिमा लागेका दलले पछ्याएको बाटो नै सही हो। 

निःसन्देह विप्लवका नेता र कार्यकर्तालाई अहिलेको अवस्था चित्तबुझ्दो नलागेको हुन सक्छ । आफ्ना असन्तुष्टि प्रकट गर्ने तरिका हिंसात्मक नै हुनुपर्छ भन्ने छैन । शान्तिपूर्ण बाटोबाट पनि आफ्ना राजनीतिक कार्यक्रम अघि बढाउन सकिन्छ । जनताले लोकतान्त्रिक विधिबाट जान निर्वाचनमार्फत अभिमत प्रकट मात्र गरेका छैनन्, यसप्रति विश्वाससमेत व्यक्त गरिसकेका छन् । यो स्थितिमा फेरि सर्वसाधारणलाई बम हान्ने आततायी मार्ग परित्याग गर्नुको विकल्प छैन।

सर्वसाधारणमाथि बम हान्ने छुट कसैलाई पनि छैन । सरकारले कानुनविपरीत गतिविधि गर्ने व्यक्तिहरूमाथि कडाइ गर्नुपर्छ । कुनै राजनीतिक समूहका नाममा यस्ता गतिविधि गर्ने छुट दिइने हो भने त्यसले समाजमा कानुन र व्यवस्था बनाउने काममा गम्भीर असर पर्नेछ । व्यक्तिले यस्तै अपराध गर्दा कारबाही हुने तर समूहले भने छुट पाउने भन्ने हुँदैन । विप्लव नेतृत्वको नेकपाले सर्वसाधारणलाई लक्षित गरी आतंकित तुल्याउने गतिविधि तुरुन्त रोक्नुपर्छ । राजधानी काठमाडौं र देशका विभिन्न भागमा उनीहरूले कतै साँच्चिकै त कतै नक्कली बमको धम्कीसमेत दिएर आतंकित पारेका छन् । कपिलवस्तुमा त तिनले राखेको बमबाट सर्वधारण घाइतेसमेत भएका छन् । मुलुकलाई पुनः हिंसामा लैजाने काम बन्द गरी शान्तिपूर्ण बाटो अवलम्बन गर्न विप्लवको दल नेकपाले आफूलाई सच्याओस् । सर्वसाधारणमाथि बम प्रहार गरेर क्रान्ति होइन, अक्षम्य अपराध मात्र हुन्छ। 

प्रकाशित: १० फाल्गुन २०७४ ०३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App