कांग्रेसले बोलायो संसदीय दलको बैठक

बिहिबार, १० फागुन २०७४, ०७ : ३५ नागरिक

काठमाडौं– नेपाली कांग्रेसले संसदीय दलको विधान र दलको नेता छनोटका लागि राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यहरुको संयुक्त बैठक बोलाएको छ।

संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बिहान ९ बजे बस्ने बैठकले कांग्रेस दलको नेता छनोट प्रक्रिया अघि बढाउनेछ । त्यसअघि कांग्रेसले बिहीबारका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको थियो । कांग्रेसले संसदीय दलको विधान र दलको नेता छनोट प्रक्रिया अघि बढाउन बोलाएको कार्यसम्पादन समिति बैठक स्थगित गर्दै संयुक्त बैठक बोलाएको हो। 

दलको नेता छनोट प्रक्रियाअघि बढाउनुअघि नै संसदीय दलको विधानमा कांग्रेसले आवश्यक सुधार गर्नेछ। नयाँ संविधानको व्यवस्थाअनुसार कांग्रेसले पार्टी संसदीय दलको विधानलाई परिमार्जनका लागि सदस्यहरूको राय लिनेछन्। 
‘समितिले नै विधानमा सुधार गर्ने वा कार्यदल बनाएर त्यसले दिने सुझावका आधारमा अघि बढ्न सक्छ,’ एक नेताले भने, ‘त्यससँगै बैठकले दलको नेता छनोटमा निर्वाचन समिति गठन गर्न पनि सक्नेछ।’

निर्वाचन समितिले दलको नेता छनोटको कार्यतालिका तयार गर्नेछ । प्रतिनिधिसभा सदस्यको शपथपछि मात्र कांग्रेसले संसदीय दलको नेता छनोट गर्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए पनि पार्टीले त्यसअघि नै नेता छनोटमा सक्रियता देखाएको हो।

संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह आकांक्षी देखिएका छन्। 

सभापति देउवा पक्षको स्पष्ट बहुमत देखिएको संसदीय दलमा महामन्त्री कोइरालाले सर्वसहमति भएमात्र आफू दलको नेता बन्ने घोषणा गरेका छन् । तर, पूर्वमहामन्त्री सिंह भने सभापतिविरोधी धारको नेतृत्व गर्दै दलको नेतामा प्रतिस्पर्धा गर्ने पक्षमा छन्।

३३४ सदस्यीय संघीय संसद् (प्रतिनिधिसभा २७५ सदस्यीय र राष्ट्रियसभा ५९ सदस्यीय) मा कांग्रेसका ७६ सदस्य छन्।  जसमा सभापति देउवा पक्षका ४२, नेता रामचन्द्र पौडेल निकट ३० र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका ४ सांसद छन्। 

‘फागुन २१ गतेअघि नै पार्टी संसदीय दलको नेता छनोट गर्ने सम्भावना छ,’ एक नेताले भने, ‘त्यसको टुंगो पनि कार्यसम्पादन समितिले लगाउनेछ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को बैठक फागुन २१ गतेका लागि आह्वान गरेकी छन्। 
यसैबीच, नेता रामचन्द्र पौडेल पक्षको बुधबार महाराजगन्जमा भएको भेलाले तत्काल केन्द्रीय समिति बैठक बोलाउन सभापतिसँग आग्रह गरेको छ। सत्ता हस्तान्तरणपछि निर्वाचन समीक्षाका लागि केन्द्रीय समिति बैठक बोलाउने पूर्वसहमतिविपरीत कार्यसम्पादन समिति बैठक बोलाएकोमा असन्तुष्टि जनाउँदै पौडेलले सभापति देउवालाई टेलिफोन गरी बैठक स्थगित गर्न आग्रह गरेका थिए। पौडेलको आग्रहपछि देउवाले बिहीबारका लागि बोलाएको कार्यसम्पादन समिति बैठक स्थगित गरेको स्रोतको दाबी छ। 

राष्ट्रपतिविरुद्ध कांग्रेस भ्रातृ संगठन सडकमा
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्म र भावनाविपरीत मन्त्रिपरिषद्को सिफारिस कार्यान्वयन गरेको भन्दै नेपाली कांग्रेसका भ्रातृ संगठनहरु सडकमा उत्रिएका छन् । कांग्रेसका प्रमुख भ्रातृ संगठनहरु नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले असंवैधानिक कदम सच्याउन आग्रह गर्दै राष्ट्रपतिलाई संविधानको प्रति उपहार दिएका छन्।

‘संविधानविपरीत राष्ट्रपतिले सरकारपिच्छे फरकफरक व्यवहार गर्ने होइन,’ तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले भने, ‘संविधानले उहाँलाई के र कस्तो अधिकार दिएको छ भन्ने जानकारी नभएजस्तो लागेर हामीले अध्ययनका लागि संविधानको प्रतिसहित ज्ञापनपत्र बुझाएका छौं।’ 

मन्त्रिपरिषद्को सिफारिस संविधानअनुसार नभए वा राष्ट्रपतिलाई चित्त नबुझे फिर्ता गर्ने अधिकार भएको उनले बताए । उनले भने, ‘यो जाला र त्यो आएपछि गरांैला भनेर अड्काउने अधिकार राष्ट्रपतिलाई छैन । उहाँ संवैधानिक राष्ट्रपति हो ।’ कांग्रेस भ्रातृ संगठनका कार्यकर्ता राष्ट्रपतिको कमदविरुद्ध नाराजुलुसहित शीतल निवास पुगेका थिए।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभाका तीन सदस्य मनोनयनका लागि गरेको सिफारिस राष्ट्रपतिले अड्काएर राखेकी थिइन् । एमाले अध्यक्ष केपी ओली नेतृत्व सरकारले उक्त निर्णय रद्द गर्दै नयाँ नाम सिफारिसलगत्तै राष्ट्रपतिले मंगलबारै मनोनयन गरेकी थिइन्।

राष्ट्रपतिको उक्त कदमको कांग्रेसले मंगलबार पत्रकार सम्मेलन गरी विरोध जनाएको थियो । नेपाल विद्यार्थी संघले मंगलबार साँझै प्रदर्शनीमार्गमा राष्ट्रपतिविरुद्ध प्रदर्शन गरेको थियो। 

यसैबीच, कांग्रेसका प्रमुख भ्रातृ संगठनले संयुक्त पत्रकार सम्मेलन गर्दै राष्ट्रपति दलीय स्वार्थ प्रेरित भएको आरोप लगाएका छन् ।  राष्ट्रपतिले संवैधानिक दायित्व बिर्सेर सक्रिय भूमिकातर्फ उन्मुख भएको आरोप लगाउँदै उनीहरुले आन्दोलनमा उत्रिने घोषणा गरेका छन्।  








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad