६ वैशाख २०८१ बिहीबार
अर्थ

सोलुखुम्बुका २८ कृषक पुरस्कृत

सोलुखुम्बुको नेलेमा भएको कृषि तथा पोषण मेला प्रदर्शनीमा सहभागी । तस्बिर : राधा-नागरिक

सोलुखुम्बु – कृषि तथा पोषण मेला प्रदर्शनीमा सोलुखुम्बुका २८ जना कृषक पुरस्कृत भएका छन् । थुलुङ–दूधकोसी गाउँपालिका वडा नम्बर १ नेलेमा भएको कृषि तथा पोषण मेला प्रदर्शनीमा सात विधामा २८ जना कृषक पुरस्कृत भएका हुन्।

दर्ता भएका एक सय ८४ बालीमध्ये आलु, मसला, फलफूल, तरकारी, दलहन, अन्नबाली र विविध विधामा कृषकलाई पुरुस्कृत गरिएको हो । हरेक बाली विधामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना गरी कृषकलाई नगद दुई हजार पाँच सय, दुई हजार, एक हजार पाँच सय र एक हजार रुपैयाँका साथै प्रमाणपत्र वितरण गरिएको छ।

पुरस्कार पाएपछि कृषकहरुले कृषि क्षेत्रमा अझै प्रगति गर्न ऊर्जा मिलेको बताए । बेलाबेलामा आयोजना हुने कृषि मेलाले कृषकलाई ऊर्जा थप्ने गरेको स्वयं कृषकहरु बताउँछन् । त्यस्तै सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाले आयोजना गरेको मेलाले पनि कृषकलाई कृषि उत्पादनमा हौसला दिलाएको छ ।
चार विधामा पुरस्कृत भएकी देउसाका कृषक विनाकुमारी राई भन्छिन्, ‘मैले कृषिबाटै तीनजना बच्चालाई पोषण र शिक्षा आर्जन गर्न खर्च जुटाउँदै आएकी छु, यस्ता कार्यक्रम र पुरस्कारले मलाई कृषि कर्ममा लाग्न थप ऊर्जा प्रदान गरेको छ।’   

  प्रदर्शनीका अवसरमा २८ जना कृषकले माटो परीक्षण गराएका छन् । क्षेत्रीय माटो परीक्षण केन्द्र झुम्काका प्राविधिकले माटो परीक्षण गर्नुका साथै रिपोर्टसमेत आजै वितरण गरेका छन् ।त्यस्तै, पशुसेवा शाखाले ५१ जना पशुपक्षी पालक कृषकलाई औषधि वितरण गरेको छ । कार्यक्रममा सुआहारा कार्यक्रम सोलुखुम्बुले पोषण र सरसफाइबारे विभिन्न प्रदर्शनी गरेको थियो । सुनौला हजार दिन भित्रका आमा र बच्चाको पोषणका लागि फर्सीको खिर बनाएर कार्यक्रमका अतिथिहरुलाई पनि चखाइएको थियो।

कार्यक्रममा १ नम्बर प्रदेशका सांसद उत्तम बस्नेतले किसानले परिचय–पत्र र पेन्सन पाउनुपर्ने बताए । थुलुङ दूधकोसी गाउँपालिकाको आयोजनामा नेले बजारमा भएको कृषि तथा पोषण मेला प्रदर्शनीमा बोल्दै सांसद बस्नेतले संघीय सरकारले वास्तविक किसानलाई पहिचान गरि परिचयपत्र दिने छ ।
उनले परिचयपत्रका आधारमा कृषि सुविधाका साथै पेन्सनको समेत व्यवस्था गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, कृषिमा व्यावसायिकता र आधुनिक प्रविधिको प्रयोग महत्वपूर्ण रहेकोमा बस्नेतले जोड दिए।  

थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष असिम राईले गाउँपालिकाको भूमि बाँझो राख्न नपाइने नीति निर्माण गर्ने क्रममा रहेको बताए । उनले उत्पादनशील जमिनमा सम्भावित खेती गर्न बाध्य गर्ने गरी गाउँपालिकाले नीति ल्याउने र कृषि पेसामा लाग्न प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउने बताए ।
उनले भने, ‘गाउँपालिकामा सुकुम्बासी समस्यालाई सून्यमा झार्ने गरी काम थालनी भएको छ ।’ अघिल्ला वर्षहरुमा पनि सोलुखुम्बुमा कृषि मेला प्रदर्शनी कार्यक्रम हुँदै आएको थियो । सोही कार्यक्रमलाई गाउँपालिकाले पनि निरन्तरता दिएको छ ।

 

 

प्रकाशित: १० फाल्गुन २०७४ ०१:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App