७ वैशाख २०८१ शुक्रबार
अर्थ

मासु प्रशोधनको सीप सिक्दै व्यवसायी र किसान

बाँकेको खजुरास्थित ‘फ्रेस हाइजेनिक फुड’ ले सञ्चालन गर्दै आएको मासु प्रशोधन केन्द्र अवलोकन गर्दै सरोकारवाला । तस्बिर : नागरिक

नेपालगन्ज – बजारमा अव्यवस्थित रुपले मासु बध गर्ने प्रवृत्ति बढिरहेका बेला व्यवसायी तथा किसानलाई प्रशोधित मासु उत्पादनबारे प्रशिक्षण दिइएको छ। खजुरा गाउँपालिकाको सोनपुरस्थित ‘फ्रेस हाईजिनिक फुड’ले बाँकेसहित विभिन्न जिल्लाका व्यवसायी तथा पशुपालक किसानलाई प्रशोधित मासु उत्पादन तथा मासुका विभिन्न परिकार बनाउनेबारे सिप सिकाउन बुधबारबाट प्रशिक्षण थालेको हो। 

सहभागी व्यवसायी तथा किसानलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको मासु प्रशोधन गर्ने तरिकाबारे प्रशिक्षित गरिने फुडका प्रमुख दीपेन्द्रकुमार जोशीले बताए। नेदरल्याण्डका प्रशिक्षक ‘कोर क्लाभर’ लगायतले ब्यवसायी र किसानलाई प्रशिक्षण दिनेछन्। यसलाई आयोजकले प्रशोधित मासुसम्बन्धी अन्र्तराष्ट्रिय स्तरको प्रशिक्षण भनेको छ। सहभागीलाई सैद्धान्तिक र व्यवहारिक रुपले प्रशिक्षण दिईने जोशीले बताए। ‘प्रशिक्षणका सहभागीलाई मासु कटिङ, प्रोसेसिङ, भण्डारण, कोल्ड स्टोरेज सम्बन्धि प्रशिक्षण दिइने छ,’ उनले भने। प्रशोधित मासु स्वास्थ्यका लागि फाईदाजनक हुने भएकाले सर्बसाधारणलाई यसबारे सचेतना फैलाउन आवश्यक रहेको सरोकारवालाले जोड दिए।

खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बधशाला नहुँदा अव्यवस्थित रुपले मासु काट्ने प्रवृत्ति रोक्न आफुले पहल गर्ने बताए। गाउँपालिकाभित्र ‘हाईजेनिक’ मासुको प्रयोग बढाउन तथा अव्यवस्थित रुपले खोलिएका मासु पसल ब्यवस्थित गर्ने प्रतिवद्धता जनाए। क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख जोत्सना श्रेष्ठ, पशु विकास अधिकृत कमल उपाध्याय लगायतले अन्य खाद्य सामाग्री जस्तै मासुको गुणस्तरप्रति सजग रहनुपर्ने बताए। करिव ७० प्रतिशत रोग पशुबाट लाग्ने जानकारी दिँदै पशु विकास अधिकृत उपाध्यायले प्रशोधित मासु स्वास्थ्यका लागि फाईदाजनक रहेको बताए। २०६६ सालमा स्थापना भएको फ्रेस हाइजेनिक फुडले प्रशोधन गरेको खसी, बंगुर र रांगाको मासु काठमाडौंमा ९० र पोखरामा १० प्रतिशत खपत हुने गरेको सञ्चालक जोशी बताउँछन्। 

प्रकाशित: ९ फाल्गुन २०७४ १५:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App