७ वैशाख २०८१ शुक्रबार
समाज

सिआईबीको टोलीलाई मिलाउने भन्दै पैसा लिने पक्राउ

इटहरी – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गैरकानुनी रुपमा वित्तिय कारोबार गर्ने संस्थामाथि निगरानी बढाएर त्यसमा संलग्नलाई पक्राउ गरिहेका बेला सिआइबीलाई मिलाउने भन्दै पैसा असुल्ने एक जना इटहरीबाट पक्राउ परेका छन्। प्रहरीले इटहरी वडा नं. २० का नवराज मैनालीलाई पक्राउ गरेको हो।

गैरकानुनी वित्तिय कारोबार गर्ने सुन पसल र इनभेष्टमेन्टमा प्रहरीले छापा मारिरहेको बेला मैनालीले सिआइबीको मान्छेलाई मिलाउनुपर्छ भन्दै इटहरी वडा नं. २० कै किरातेश्वर ज्वेलर्ससँग एक लाख ५० हजार रुपैयाँ लिएपछि प्रहरीले पक्राउ गरेको हो। मैनालीले शुरुवातमा किरातेश्वरका सञ्चालक नरबहादुर राईसँग दस लाख बार्गेनिङ् गरेका थिए।

‘नवराजले हिजो साँझ फोन गरे, जसरी पनि अहिले नै भेटौं भनेर करकाप गरे। तत्काल भेट्न सक्दिन भने। त्यसपछि बिहान भेटौ भनेपछि आज बिहान भेट गरे,’ नरबहादुरले बुधबार दिउँसो भने, ‘उनीसँग भेटे गरेपछि सवैतिर सिआईबीले छापा मारि रहेको छ। तपाईंको नाम पनि लिस्टमा नाम छ। सिआइबीको डिएसपीसहितको टोली मेरैमा आएर बस्ने गरेको छ। पैसा नदिए त सखाप पार्छन् भनेपछि पैसा दिए।’ नरबहादुरले आफ्नो कुनै कमजोरी नभएकाले पैसा नतिर्ने अड्डी कसे। तर, जसरी पनि फसाउने धम्की दिएपछि एक लाख ५० हजार रुपैयाँ दिएको नरबहादुरले नागरिकलाई बताए।

पैसा लिएपछि संका लागेर नरबहादुरले प्रहरीमा सूचना दिएलगतै इटहरी वडा नं. २ हलगडाबाट पक्राउ गरिएको इटहरीका डिएसपी सञ्जय राउतले बताए। मैनालीले केही दिनअघि मात्र इटहरी वडा नं. २० कै ओम साई ज्वेलर्सबाट पत्रकारलाई मिलाउने भनेर एक लाख ५० हजार लिएको खुलेको छ। ओम साईका ज्वेलर्सका सञ्चालक जगत लामिछानेको पसलमा एक महिनाअघि कर कार्यालयले छापा मारेको थियो। त्यही बिषयमा पत्रकारलाई मिलाउन भनेर पैसा लिएको खुलेको हो। ‘मेरा छ/सात जना पत्रकार साथी छन्, तिनीहरुलाई पैसा दिएन भने तहसनहस बनाउँछन् भनेर नवराजले पैसा लिएका हुन्,’ लामिछानेले भने।

मैनालीले इटहरी वडा नं. २० कै सुन व्यवसायी सुमित विकलाईं पनि पैसा माग्न पटक–पटक धम्क्याएका थिए। सिआईबी प्रहरीको नेतृत्वमा पछिल्लो समय सेयर कारोबार गर्ने उद्देश्यले दर्ता भएपनि वित्तिय कारोबार गर्ने संस्थामाथि निगरानी बढाएर छापा मारीरहेको छ।

सिआईबीको नेतृत्वमा इटहरीकै छिन्ताङ् इनभेष्टमेन्ट प्रालिका डिल्लीराम आचार्य, प्रकाश आचार्य, मनसुन इनभेष्टमेन्ट प्रालिका सुनिल गुरागाईं, अफन इनभेष्टमेन्ट प्रालिका भीमप्रसाद चौधरी र श्यामकुमार पेशकरलाई पक्राउ गरी मुद्दा चलाइ सकेको छ। इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक राजन कार्कीका अनुसार, सेयर कारोबार गर्न दर्ता भएपनि वित्तिय कारोबार गर्ने इटहरीमा थुप्रै संस्थामाथि निगरानी बढाएर अनुसन्धान थालिएको छ।

 

प्रकाशित: ९ फाल्गुन २०७४ १३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App