७ वैशाख २०८१ शुक्रबार
समाज

करिडोर मिचेर विद्यालय भवन

ललितपुरको हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलले मिचेको कर्मनासा खोलाको करिडोर क्षेत्रफल।

ललितपुर– ललितपुरको हात्तीवनस्थित लिटिल एन्जल्स विद्यालयले कर्मनासा खोला छेउको करिडोर सडकको करिब एक रोपनी जग्गा मिचेर १० वर्षदेखि प्रयोग गर्दै आएको छ । विद्यालयले करिडोरको जग्गा आफ्नो कम्पाउन्डका रुपमा प्रयोग गरेसँगै करिडोरको बाटो नै बन्द भएको छ । तर विद्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरिहँँदा पनि ललितपुर उपमहानगरपालिकाले बेवास्ता गरिरहेको छ । विद्यालयले करिडोर र खोलाको जमिन समेत मिचेर भवन निर्माण गरेको छ । करिडोर अतिक्रमण हुँदा आवतजावत गर्न समस्या भएको स्थानीयको गुनासो छ ।

‘करिब डेढ वर्षअघि ललितपुर उमपाले करिडोरको जग्गा छाड्न विद्यालयलाई निर्देशन दिइसकेको छ,’ उमपाका प्रवक्ता रुद्र अधिकारीले भने, ‘तर विद्यालयले अटेर गरेर जबरजस्ती सार्वजनिक जग्गा प्रयोग गरिरहेको छ ।’ उनले पटक पटक आग्रह गर्दा पनि विद्यालय सञ्चालकले बेवास्ता गरेकाले उमपाले छिट्टै कारबाही गर्ने बताए । उमपाले नख्खु, बल्खु, भैसेंपाटी, धोबीघाटलगायत क्षेत्रमा मिचिएका सार्वजनिक जग्गाबारे अनुगमन थालेको प्रवक्ता अधिकारीले जानकारी दिए ।

करिब ३ सय ५० रोपनीमा फैलिएको विद्यालयले करिडोरको एक रोपनी जग्गा अतिक्रमण गरेपछि खोला साँघुरिएपछि बर्खामा खोलामा भेल आउँदा स्थानीयको घरभित्र पस्ने गरेको हात्तीवनका स्थानीय बताउँछन् ।
काठमाडौं उपत्यका नगर विकास समितिले २०६४ सालमा बनाएको मापदण्ड अनुसार खोलाबाट १२ मिटरभित्र जग्गा प्लटिङ र भवन निर्माण गर्न पाइँदैन । तर लिटिल एन्जल्स स्कुलले मापदण्ड उल्लंघन गर्दै आएको छ । सांसद समेत रहेका स्कुल सञ्चालक उमेश श्रेष्ठले विकास निर्माणमा आफू बाधक नहुने भन्दै उसअघि सार्वजनिक जग्गा छाड्नुप¥यो भनी उमपाबाट कुनै पत्र नआएको बताए ।

विद्यालयले करिडोर अतिक्रमण गर्दा आवतजावतमा निकै सास्ती भएको हरिसिद्धी सिलौटेका स्थानीय टेकबहादुर थापाले बताए । उनका अनुसार यस क्षेत्रमा २०५४÷५५ सालअघि नै विद्यालयले करिडोर मिचेर जग्गा प्रयोग गर्दै आएको थियो । विद्यालयले मिचेको जग्गाबाहेक अन्यत्र करिडोर कायम छ ।

विद्यालय भवन निर्माण गर्दा सञ्चालकले सम्बन्धित उमपा र गाविसलाई खबरै नगरी जग्गा मिचेको स्थानीयको आरोप छ । ‘विद्यालयले उमपाको मापदण्ड बेवास्ता गर्दै भवन निर्माण गरेकाले त्यहाँ छिट्टै अनुगमन टोली पठाउँदैछौं,’ ललितपुर उमपाका कार्यकारी अधिकृत भरतमणि पाण्डेले भने, ‘जनतालाई सास्ती हुने गरी करिडोर मिचेर विद्यालय सञ्चालकलाई कारबाही गरिन्छ ।’

कर्मनासा खोलाको करिब १ किलोमिटर करिडोर मिचेर विद्यालयले खेलमैदान र कम्पाउन्डका रुपमा प्रयोग गर्दै आएको छ । ललितपुरका प्रमुुख जिल्ला अधिकारी ऋषीराम शर्माले सरकारी मापदण्डको बेवास्ता गर्दै सार्वजनिक जग्गा मिचेर निजी प्रयोग गर्नेविरुद्ध कारबाहीको पहल गर्ने दाबी गरे ।

ललितपुर नापी कार्यालयका अधिकृत विनोदकुमार शाहले गैरकानुनी रुपमा जग्गा अतिक्रमण गर्नेको अनुगमन गर्ने र अतिक्रमण गरेको पाइए आवश्यक कारबाही गर्न कार्यालय तयार रहेको बताए । उनले आफूले त्यस क्षेत्रको अवलोकन गरेर सार्वजनिक जग्गा फेरि नापेर अतिक्रमण हटाउन लगाइने बताए ।
 

 

 

प्रकाशित: १ भाद्र २०७३ ०३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App