७ वैशाख २०८१ शुक्रबार
खेल

प्रदेश सरकारले करण केसीलाई १ लाख दिने

तस्वीर : हरि बास्तोला/रासस

पोखरा – प्रदेश नम्बर ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई प्रदेश सरकारका तर्फबाट १ लाख प्रदान गर्ने घोषणा गरेका छन्।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिद्वारा खेलाडी केसीको सम्मानमा पोखरा रंगशालामा बुधबार (आज) आयोजित कार्यक्रममा सम्मानपत्र र दोसल्लाले सम्मान गर्दै उनले आगामी चैत महिनामा आउने प्रदेशको नीति, कार्यक्रम तथा बजेटमा खेलकुदको विकासमा जोड दिइने जानकारी दिए।

नेपाली खेलाडीको मेहनत, परिश्रम र लगनशीलताका कारण मुलुकलाई खेलकुदको माध्यमबाट विश्वसामु परिचित गराउन सफल भएको बताउँदै उनले पोखरा रंगशालालाई अन्तर्राष्ट्रियस्तरको रंगशालाका रुपमा विकास गरिने बताए।

नामिबियामा भएको खेलमा नेपाललाई जिताउन निर्णायक भूमिका खेल्ने केसीसहितको टिमलाई जिम्बाबेमा हुने विश्वकप क्रिकेटको फाइनल खेलमा सफलता प्राप्तिका लागि जुट्न आग्रह गरे।

क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले आवश्यक पूर्वाधारको अभावमा पनि नेपाली खेलाडीले खेलकुदमा पु¥याएको योगदानको उच्च कदर गरिनु पर्नेमा जोड दिएका थिए। कार्यक्रममा खेलाडी करण केसीले सम्मानले आफूलाई खेलकुदमा जिम्मेवार भएर लाग्न थप प्रेरणा मिलेको बताए।

कार्यक्रममा मदन भण्डारी स्पोर्टस् एकेडेमीका तर्फबाट खेलाडी करणलाई रु १५ हजार नगदले सम्मान गरिएको थियो। एकेडेमीका केन्द्रीय सदस्य एवं कास्की इञ्चार्ज राजेश गुरुङले नगदले सम्मान गरेका थिए।

प्रकाशित: ९ फाल्गुन २०७४ ०८:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App