coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानी बाबुलाई १३ सन्तानको अधिकार

क्याप्सन : शाही थाई प्रहरीको बैंककस्थित मुख्यालयमा अगस्ट १२, २०१४ का दिन गरिएको पत्रकार सम्मेलनमा जापानी बाबुबाट जन्मिएको भनिएका बालबालिकाको स्क्रिनमा देखिएको तस्बिर :रोयटर्स

बैंकक – थाइल्यान्डको एउटा अदालतले कोख भाडामा दिने आमाहरुबाट कम्तीमा १६ जना सन्तान जन्माएका एक धनाढ्य जापानी पुरूषलाई १३ सन्तानको पूर्ण जिम्मेवारी दिने फैसला सुनाएको छ।

अदालतले जापानी धनाढ्य पुरुषलाई ती बालबालिकाको कानुनी बाबु र एकमात्रै अभिभावकसमेत भएको फैसला गरेको छ । एक जापानी नागरिकले नौ जना थाई कोख भाडामा दिने ‘सेरोगेट’ आमाहरुबाट १३ वटा बालबालिका जन्माएको भन्दै सन् २०१४ को अन्त्यतिर थाई प्रहरीले अनुसन्धान थालेको थियो ।त्यसपछि ती बालबालिकालाई थाई सरकारले हेरचाह गृहमा लगेको थियो र ती जापानी बाबुलाई जेल हाल्न सन् २०१५ को सुरुतिर निवेदन पेश गरेको थियो ।

थाइ महिलाहरूलाई कोख भाडामा लगाए बापत विदेशीहरूले रकम तिर्ने गरेको र कोख भाडामा लगाउने व्यवसाय व्यापक रूपमा विस्तार भएको खुलासा भएपछि अधिकारीले हस्तक्षेप गरेका थिए । डिएनए परीक्षणहरूले जापानको प्रविधि क्षेत्रका एक जना अर्बपतिका छोरा मित्सुतोकी सिगेताले थाई महिलाको कोख भाडामा लिएर कम्तीमा १६ सन्तान जन्माएको देखाएको थियो।

तीन वर्षअघि मित्सुतोकी सिगेता एक जना नवजात शिशु सहित थाइल्यान्डबाट बाहिरिन लागेको एउटा धमिलो तस्बिर प्रकाशित भएपछि उनले कोख भाडामा लिएर किन यति धैरै सन्तान जन्माइरहेका छन् भनेर आशंका व्यक्त भएका थिए । उनले कतिपय शिशुहरू कम्बोडिया लगिसकिएका थिए र थाई प्रहरीले सम्भावित मानवतस्करीको आरोपमा उनीविरूद्ध अनुसन्धान अघि बढाएको थियो।

तर उनका वकिलले उनले एउटा ठूलो परिवार चाहेको र एकजना धनाढ्य जापानी व्यापारीको छोरा भएको हैसियतमा उनले तिनीहरूलाई राम्रोसँग ख्याल राख्न सक्ने तर्क गरेका थिए । अहिले बैंककको एउटा अदालतले उक्त तर्कमा सहमति जनाउँदै ती बालबालिकामाथि उनको पूर्ण अधिकार भएको सुनाएको छ ।थाई अधिकारीहरूले आफूहरू कम्बोडिया र जापान गएको र उनीसँग त्यहाँ हाल थाइल्यान्डको सरकारी निकायले स्याहार गरिरहेका बच्चाहरूलाई हेरविचार गर्ने राम्रो तयारी र पूर्वाधार रहेको पाएको जवाफ दिएका थिए ।

ती बच्चाहरू जन्माउने आमाहरूले उनीहरूमाथि दाबी गर्न छाडिसकेका छन् । सन् २०१५ मा नै उनले तीन सन्तानलाई स्याहार सुसार गर्ने अधिकार पाएका थिए । सन् २०१४ मा कोख भाडामा दिने व्यवसायबारे पहिलो पटक समाचारहरू आएपछि थाइल्यान्डले विदेशीहरूलाई कोख भाडामा दिने व्यवसायमाथि प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ । ती जापानी नागरिकको आर्थिक अवस्था सबल भएको तथा उनको व्यावसायिक क्षमता पनि स्थीर रहेको र उनको मानव बेचविखनसँग सम्बन्ध नरहेको प्रष्ट भएपछि १३ बालबालिकाको अधिकार ती जापानी नागरिकलाई दिने थाइल्यान्डको उक्त अदालतले मंगलबार फैसला गरेको थियो।

जैविक बाबुसँग हुर्किन पाउनु पनि बालबालिकाको उत्कृष्ट इच्छा हुने अदालतले बताएको छ ।
‘निवेदक जापानको स्टक एक्सचेन्जमा सूचीकृत भएको ख्यातीप्राप्त एउटा कम्पनीको उत्तराधिकारी र अध्यक्ष, थुप्रै कम्पनीका मालिक र सेयरहोल्डर, र एक वर्षमा एउटा कम्पनीबाट मात्रै १० करोड भाटभन्दा बढी लाभांश प्राप्त गर्ने भएकाले निवेदकको व्यावसायिक स्थीरता देखिन्छ र उनीसँग बालबालिकालाई हुर्काउन पर्याप्त आम्दानी रहेको छ,’ अदालतले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । ‘त्यसैकारण, १३ बालबालिका निवेदकका कानुनी सन्तान भएको फैसला गरिन्छ र निवेदक ती बालबालिकाको एकमात्रै अभिभावक रहेको फैसला गरिन्छ,’ अदालतको विज्ञप्तिमा जनाइएको छ।

अदालतले ती मानिसको बारेमा विस्तृत जानकारी भने दिएको छैन तर उनले १३ बालबालिकालाई आफू बसिरहेको जापानमा नै हुर्काउने योजना बनाएको भने बताएको छ । उनले अन्य सेरोगेट बालबालिकालाई कम्बोडिया  र जापानमा हुर्काएकोसमेत अदालतले उल्लेख गरेको छ । सन् २०१४ मा प्रहरीले पहिलो पटक मुद्दा दायर गर्दा ती जापानी नागरिक २४ वर्षको रहेको बताएको थियो ।ती जापानी नागरिकका कानुन व्यवसायी कोङ सुरियामोन्थनले आफ्ना क्लाइन्टले करिब चार वर्षका ती १३ बालबालिकालाई जापानमा नै हुर्काउने योजना बनाएको बताएका छन्।

 

 

प्रकाशित: ९ फाल्गुन २०७४ ०६:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App