६ वैशाख २०८१ बिहीबार
विचार

सीमामै सीमित बहकिँदो बहस

  डा. दीपेश केसी
नेपाल भारत संयुक्त सीमा नापीको टोली सक्रिय हुँदा काठमाडौँमा ‘भारतले सीमा मिच्यो’ भन्ने विषय जोडतोडले उठ्यो । नेपालीहरू देशको भूभाग एक इन्च पनि यताउता भएको सहन सक्दैनन् । यही राष्ट्रियताको भावनाले नेपाल राष्ट्रलाई अखण्ड राख्न ऊर्जा मिलेको छ । तर, नेपालीहरूको भावनामाथि खेल्ने स्वार्थी राजनीतिक खेलाडीहरूको नेपाल र भारत दुवैतर्फ कमी छैन।

भारतसँगको सीमा समस्यालाई अतिरञ्जित बनाएर राजनीतिक लाभ लिन खोज्नेहरू उत्तिकै छन् । पछिल्लो समय सीमा मिचिएको विषयमा कति सत्यता छ÷छैन प्राविधिकहरूले पत्ता लगाउलान् । वीरगञ्जमा सीमा मिचिएको भन्ने विषयमा नापी विभागको आधिकारिक धारणा सार्वजनिक भयो । व्यक्तिको जमिन यताउता परेको र त्यसको समाधान दुई देशबीच राजनीतिक तहबाट कूटनीतिक माध्यमले हुनसक्छ । जसरी भारतले बंगलादेशसँग यताउता परेको जग्गा साटेर सहमति बनायो।

समस्या समाधानका उपाय नभएका होइनन् । तर, भारतसँगको जोडिएको कुनै पनि विषयमा राजनीतिक स्वार्थ लिन खोज्ने रणनीतिकारहरू देखापरेका छन् । कालापानी र सुस्ताबाहेकका सबैजसो स्थानमा सीमांकनको सहमति बनिसकेकाले अन्य स्थानमा सीमा मिचिएको विषय सान्दर्भिक होला नहोला ? यथार्थ बोलेमा प्राविधिकहरूमाथि बिकेको आरोप लाग्छ । यो नेपाली मात्र नभई भारतीय कर्मचारीमाथि समेत लाग्ने आरोप हो । पंक्तिकारले सीमा नाप नक्सामा खटिएका एकजना प्राविधिक कर्मचारीसँग सोध्दा काठमाडौँमा हल्ला मच्चिएजस्तो सीमामा खासै समस्या छैन।

काठमाडौँबाट सीमा मिचिएको गफ हाँक्नेहरूको कमी छैन । उता भारतमा समेत नेपालले सीमा मिच्यो भनी पटना र लखनउमा खैलाबैला हुन्छ । पटना र लखनउबाट भ्रम फैलाउनेहरू उत्तिकै छन् । समाचारहरू यस्ता पनि आउँछन् । ‘भारतीय हात्तीले नेपालीलाई दुःख दियो !’ ‘नेपाली पानीले भारतलाई क्षति पुग्यो !’ हात्ती र पानीलाई पनि भिसा र पासपोर्ट दिलाइदिनेहरू प्रशस्तै छन् । तिनमा कहलिएका विद्वान्हरू समेत पर्छन् । कहिलेकाहीँ नेताहरूबाट गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति आउँछ।

बिहारका तत्कालीन मुख्यमन्त्री लालु यादव र उत्तर प्रदेशका तत्कालीन मुख्यमन्त्री अखिलेश यादवले नेपालले बाढी पठाइदिएर भारतीय भू—भागमा क्षति पुगेको अभिव्यक्ति दिएकै हुन् । नेपालका नेताहरूबाट पनि नेपालको विकासको बाधक भारत हो भन्ने अभिव्यक्ति नआएको होइन । दोष अर्काको टाउकोमा थोपरेर उन्मुक्ति पाउन खोज्ने शैली दुवै देशका नेताहरूमा समेत रहेको छ । जिम्मेवारी कोही लिन तयार छैनन् मात्र अरूलाई गैरजिम्मेवार ठह¥याउन उद्यत छन् । जनतहसम्म गडिएको सुमधुर सम्बन्धलाई धमिल्याउन गलत प्रवृत्तिका राजनीतिक नेतृत्व र कर्मचारीहरूको गैरजिम्मेवारीपूर्ण व्यवहार मुख्य कारक बन्दै आएको छ । जनतासम्म यथार्थ जानकारी नपुग्नु र भ्रमको भरमा राजनीतिक र प्रशासनिक लाभ लिन खोज्ने प्रवृत्ति रहेसम्म दुई देशबीच शंका उपशंका रहिरहन्छ । विनापासपोर्ट र भिसा आवातजावत गर्न सकिने सीमा रहेको क्षेत्रमा जनताबीच विश्वास र आत्मीयता कायम छ।

यही विश्वास र आत्मीयताको बलमा नेपाल–भारत सम्बन्ध गहिरो बन्न सकेको छ । यसमा चुनौती ल्याएर अविश्वासको पर्खाल लगाउनुपर्छ भन्नेहरू नभएका होइनन् । भौतिक पर्खाल लगाएपछि अविश्वासको अर्को पर्खाल खडा हुने यथार्थबारे सीमाञ्चलको समाजको आत्मा नबुझेका पूर्वप्रशासकहरू जानकार होलान् । पर्खाल र काँडेतार लगाउँदैमा समस्या समाधान हुने भए विश्वकै सर्वाधिक संवेदनशील र कडा सुरक्षा दिइएको दक्षिण र उत्तर कोरियाबीच तनाव हुनै नपर्ने । समान सभ्यताका उस्तै संस्कृतिको अभ्यास गरिरहेका नेपाल र भारतबीच काँडेतार र पर्खालको विषय समस्याको समाधान होइन, बरु सम्बन्धको सौन्दर्यमाथि कुरूपता थप्ने कुचेष्टा हो । दुई देशका जनतादेखि सरकारी तहसम्म हुने अनौपचारिक सम्बन्ध र अभ्यासमाथिको प्रहार गर्ने दुष्प्रयास हो।

सहज ढंगले अध्ययन, रोजगारी र व्यापार व्यवसायका लागि ओहोरदोहोर गर्ने छँदै छ । नाताकुटुम्ब भेट्न जानसमेत अवरोध हाल्ने गरी काँडेतार राखियो भने दुवैतर्फका जनतामा के कस्ता असन्तुष्टि र आक्रोश जन्मिएला सोचनीय विषय हो । फैलँदो सम्बन्धको दायरलाई जर्बजस्ती खुम्च्याउने नियतमात्र पनि प्रत्युत्पादक हुनसक्छ । अन्तरसम्बन्धको दायरासमेत फराकिलो भइसकेको छ । आर्थिक र सामाजिक अन्र्तसम्बन्धका अलावा यातायातले अन्र्तसम्बन्धलाई झन् कसिलो बनाइसकेको छ । एकले अर्कोलाई नोक्सान पु¥याउँदा आफैँलाई नोक्सान पर्ने अवस्था बनिसकेको छ । नेपालमा नाकाबन्दी हुँदा नेपालीहरूले अभाव झेले तर भारतको कतिपय उत्पादन र व्यापार चौपट भयो । रक्सौलको बजार अझै तंग्रिन सकेको छैन । भारतका कतिपय उत्पादकहरू अझै मारमा परिरहेका छन्।
सुरक्षामा सहयोग आदानप्रदान
एउटा युग थियो, सीमावारिको डाँकालाई पारि डकैती गर्न उक्साउने र पारिको डाँकालाई वारि डकैती गर्न उक्साउने । पंक्तिकारसँगको भेटमा सर्लाही पुर्नबासका पूर्वडाँकाले वारिको शासकले पारि डाँका गर्न उक्साउने मात्र नभई संरक्षणसमेत दिने खुलाएका थिए । पारि पुनःस्थापित पूर्वडाँकालाई समेत त्यस्तै अवसर प्रदान हुन्थ्यो । छिमेकको घर बालेर आगो ताप्नेहरू दुवैतर्फ हाबी थिए।

खुंखार अपराधीदेखि आतंककारी समेतलाई यताउता लुकाउन सघाउ पुर्याइएका विगतका घटना थिए । तर, परिस्थिति निकै बदलिएको छ । सुरक्षा तहमा समेत दुवै देशबीच समन्वय र समझदारी बढिसकेको छ । अब दुवै देशले चाहेमा एक अर्काको भूमि एक अर्काविरुद्ध प्रयोग हुनै सक्दैन । कुनै अर्को देशविरोधी वारिपारितर्फको भूमिमा एक रात लुक्नसमेत सक्दैन । सम्बन्धको यो गहिराइको बेवास्ता गर्दै यदाकदा दुई देशको सम्बन्धबारे हल्का टीकाटिप्पणी हुन्छ।

औपचारिकभन्दा अनौपचारिक तहमा नेपाल भारत सम्बन्धको जग बसेको छ । भिन्न राष्ट्र भएर संविधान र कानुन अनुसार एक अर्काबीचको व्यवहार चलाउनुपर्ने भए पनि अनौपचारिक तहमा व्यवहारहरू चलिरहेका छन् । सुरक्षा मामलामा अनौपचारिक व्यवहारले भूमिका खेल्दै आएको छ । एक अर्काको मुलुकमा प्रवेश गरेका अपराधीलाई पक्राउ गर्न सुरक्षाकर्मीहरूबीचको समझदारीमा सीमापारि प्रवेश गर्छन् । कहिलेकाहीँ सूचना चुहिँदा हल्लीखल्ली हुन्छ । दुवै देशबीच सुर्पुदुगी सन्धि भए पनि सन्धि बमोजिमको कानुनी प्रक्रियाको झन्झट टार्न सुरक्षाकर्मीले अनौपचारिक सुपुर्दुगीको अभ्यास गर्दै आएका छन्।

नेपालबाट फरार भई भारत प्रवेश गरेका र भारतबाट फरार भई नेपाल प्रवेश गरेका खुंखार अपराधीदेखि आतंकवादी संगठनका सदस्यहरूको अनौपचारिक सुपुर्दुगी भएका उदाहरणहरू छन् । जसमध्ये याकुब मेनन, अब्दुल करिम टुन्डा र याशिन भट्कल जस्ता आतंकवादी संगठनका सदस्यहरू अनौपचारिक रूपमा सुपुर्दुगी गरिएका थिए । गुण्डागर्दीमा सक्रिय रमेश बाहुनदेखि कुख्यात ब्ल्याक स्पाइडर ग्रुपका मिलन लामा मात्र नभई खुंखार अपराधका अभियुक्तहरू भारतीय पक्षबाट अनौपचारिक माध्यमले सुपुर्दुगी गरिएका थिए।

फैलँदो सम्बन्ध
जनता–जनताबीचको सम्बन्ध बिहेबारी, नाताकुटुम्बले मात्र नभई परस्परको आर्थिक निर्भरताबाट समेत थाहा हुन्छ । सीमाञ्चलमा वारिपारि बिहेबारीको संख्या घटेको विषय उठ्ने गरेको छ । तर, दुई देशका नागरिकबीचको विवाह सम्बन्ध सीमाञ्चलभन्दा टाढासम्म फैलिँदो छ । भारतमा अध्ययन र रोजगारीका लागि गएकाहरूको उतैका नागरिकसँग विवाहका पछिल्ला प्रशस्त उदाहरणबारे पंक्तिकार जानकार छ । भारतबाट रोजगारीका लागि आएकाहरूले पनि आजकाल यतै बिहेबारी गरेका छन् । सीमाञ्चलमा मात्र सीमित छैन, बिहेबारी । सम्बन्धको दायरा फराकिलो हुँदै छ।

सडक र हवाई यातायातले दुवै देशलाई नजिक बनाउँदै लगेको छ । कनेक्टिभिटी बढ्दो छ । जलमार्गको प्रयोग कमै छ । तर, नेपालका नदीका मुहानहरू भारतीय भूमिका प्राण हुन् । नदीले आदिम कालदेखि दृश्य अदृश्य अन्र्तसम्बन्ध बढाइरहेको छ । धार्मिक तीर्थाटन इतिहासको लामो कालखण्डयता अन्र्तसम्बन्ध बनाउने आधार बनेको छ । समान सनातन धर्मले दुवै देशको जनताको आत्मालाई मात्र नभई देश–देशबीचको आत्मालाई समेत जोडेको छ । नेपाल र भारतका धार्मिक तीर्थस्थल पुग्दा जन–जनबीचको आत्मीयता बुझ्न सकिन्छ । एक्काइसौँ शताब्दीको दोस्रो दशकको अन्ततिर आइपुग्दा सम्बन्धको दायरा अझ फराकिलो बनाउनुपर्ने आवश्यकता देखिएको छ । दुई देशबीच स्रोतको सदुपयोग र समृिद्ध केन्द्रित अभियानमा जोड दिन थालिएको छ । हिमालय दक्षिण एसियाको वाटर टावर हो।

यो यथार्थलाई मनन गरेर नेपाल र भारतले हिमालयको संरक्षण र सदुपयोगमा ध्यान दिन जरुरी छ । हिमालयबाट बगेका नदी बिजुली र पानीका लागि मात्र होइनन् यहाँको माटोका प्राण हुन् जनता जनताबीचको साइनो जोड्ने नसा हुन् । ती नदीहरू भूगोलमात्र होइनन्, समाज जोड्ने सूत्र पनि हुन् । नेपाल र भारतले भौतिक लाभमा मात्र केन्द्रित हुने हो भने त्यो दीगो हुन सक्दैन । प्राकृतिक स्रोत र साधनको समाजसँगको सम्बन्ध बुझेर पाइला चाल्ने हो भने मात्र दीगो विकास र समृद्धीको परिकल्पना साकार हुनसक्छ । सम्बन्धका दायराहरू फराकिलो हुँदैछन्।

दुवै देशको नेतृत्वले फराकिलो छाती देखाएर साझा उद्देश्यले र साझा हितको मुद्दालाई छुट्याएर हातेमालो गर्नुपर्छ । अब जनता झुक्याउने एकअर्का विरोधी प्रचारबाजी चल्न सक्दैन । जनता–जनताबीचको अनौपचारिक सम्बन्धबाट देश–देशबीचको सम्बन्ध सुदृढ बनाउने आधार बलियो बनाउन सकिन्छ । यसैले दुवै देशका लागि हितकारी विकासका कामहरूलाई गति दिनसक्छ।

प्रकाशित: ९ फाल्गुन २०७४ ०५:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App