६ वैशाख २०८१ बिहीबार
समाज

सामुदायिक विद्यालयमा छात्रा बढी

साक्षर वडा घोषणाका क्रममा निकालिएको र्यालीमा सहभागी शारदा मावि हौंचुरका छात्रछात्रा । तस्बिर : दमन राई - खोटाङ

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित दुर्छिम माविमा छात्रभन्दा छात्राको संख्या बढी छ । हाल अध्ययतरत ४१५ विद्यार्थीमध्ये छात्राको संख्या २३७ र छात्रको संख्या १७८ जना रहेको विद्यालयले जनाएको छ । यस्तै दिप्रुङ गाउँपालिका–५ सछितापोखरी कुलागाउँस्थित सरस्वती माविमा पनि छात्रभन्दा छात्राको संख्या बढी छ ।

यी केही उदाहरणमात्र हुन्, जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा छात्रको संख्याभन्दा बढी छात्राको संख्या देखिएको छ । जिल्ला शिक्षा कार्यालय खोटाङको विद्यार्थी विवरण २०७४ अनुसार पनि जिल्लामा छात्राकै संख्या बढी छ । जिल्लाको कुल विद्यार्थी संख्या ५३ हजार ८२५ मध्ये छात्राको संख्या २७ हजार ९७४ रहेको छ । जिल्लामा छात्रको कुल संख्या २५ हजार ८५१ रहेको तथ्यांकले देखाउँछ । सामुदायिक विद्यालयमा छात्रभन्दा छात्राको संख्या बढी देखिनुका विविध कारण छन् ।

देशको कुल जनसंख्यामा महिलाको संख्या बढी देखिएकाले सोही प्रभाव विद्यालयमा देखिएको जिल्ला शिक्षा अधिकारी धनबहादुर श्रेष्ठले बताए । ‘विद्यालयमा छात्राकै संख्या बढी देखिनुको खास कारण रिसर्चबिना भन्न अप्ठ्यारो छ,’ श्रेष्ठले भने, ‘छोरालाई राम्रो स्कुलमा पठाउने र छोरीलाई गाउँकै सामुदायिक स्कुलमा पढाइनुले पनि यस्तो हुन गएको हुन सक्छ ।’

जिल्लामा सामुदायिकतर्फ ९० वटा मावि र ४०१ वटा आधारभूत विद्यालय छन् । संस्थागत मावि ३ वटा र आधारभूत विद्यालय २६ वटा छन् । त्यसमध्ये कमै विद्यालयमा मात्र छात्रको संख्या बढी छ । अधिकांश विद्यालयमा छात्राकै संख्या बढी देखिन्छन् । पितृसत्तात्मक समाजमा अहिले पनि छोरालाई प्राथमिकता दिने प्रवृत्ति छ ।

अधिकांश अभिभावकले छोरालाई निजी स्कुलमा पठाउने र छोरीलाई सामुदायिक विद्यालयमा पढाउने गरेका कारण सामुदायिक विद्यालयमा छात्राको संख्या बढी देखिने गरेको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित भगवती माविका प्रधानाध्यापक कुमार पराजुलीले बताए । उनका अनुसार एसइई पूरा गरेका कतिपय छात्रले रोजगारीका लागि विद्यालय छाड्ने गरेका कारण पनि छात्राको संख्या बढी देखिने गरेको छ । ‘पहिला छोरी जन्मिए छोराका लागि अरू सन्तान जन्माउने पितृसत्तात्मक सोचको असरले पनि छात्राको संख्या बढी हुन आएको हो,’ पराजुलीले भने, ‘छोरालाई बोर्डिङ वा सहरका राम्रो स्कुलमा पठाएर छोरीलाई गाउँकै सामुदायिक स्कुलमा पठाउने विभेदले पनि यस्तो भिन्नता देखिएको हो ।’

छोरा जन्मिए जन्मान्तर कम गर्ने तर छोरी जन्मिए छोरा खोज्दै निरन्तर बच्चा जन्माउने प्रवृत्तिका कारण पनि महिलाको संख्या बढी हुन गएको हो । यसबाहेक १६–१७ वर्ष पुगेपछि ग्रामीण क्षेत्रका अधिकांश किशोर रोजगारीका लागि विद्यालय छाड्ने गरेका कारण पनि विद्यालयमा छात्रा बढी देखिएको सछितापोखरीस्थित सरस्वती मावि कुलागाउँका प्रधानाध्यापक पदमकेशर राईले बताए ।

 

प्रकाशित: ९ फाल्गुन २०७४ ०४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App