७ वैशाख २०८१ शुक्रबार
खेल

काेन्टेकाे पहिलाे जित

लन्डन– चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले सोमबार वेस्ट ह्याममाथि २–१ को विजय हासिल गर्दा विवादको केन्द्रमा पुगेका स्ट्राइकर डिएगो कोस्टाको तारिफदारी गरेका छन् ।

कोस्टाले एक मिनेट बाँकी रहँदा गरेको गोलमा कोन्टेले चेल्सी प्रशिक्षकका रूपमा प्रिमियर लिगको पहिलो खेलमा जितको स्वाद चाख्न पाएका थिए । तर ब्राजिलमा जन्मिएका स्पेनिस अन्तर्राष्ट्रिय फरवार्ड वेस्ट ह्यामका गोलकिपर एड्रियानलाई फाउल गरेको घटनामा कार्ड सामना गर्नबाट जोगिएका थिए । सुरुमै पहेँलो कार्ड दर्शन गरिसकेका उनले अन्तिम समयमा अर्को पहेँलो कार्ड सामना गर्नुपरेको भए कम्तीमा थप एक खेल गुमाउनुपथ्र्यो ।

‘कोस्टाले एड्रियानलाई दबाब दिन खोजेका थिए । त्यही क्रममा उनलाई छुनुभन्दा अगाडि नै कोस्टा रोकिइसकेका थिए । त्यहाँ शारीरिक रूपमा कुनै सम्पर्क हुन पाएको छैन,’ आफ्ना खेलाडीको रक्षा गर्दै कोन्टेले भने, ‘त्यसैले मेरो विचारमा रेफ्रीको निर्णय सही थियो । कोस्टा भनेको एकदमै प्रतिबद्ध मानिस हुन् । उनी जे काम गर्दा पनि लगावसाथ गर्छन् । यस्तो अवस्थामा रेफ्रीले सही निर्णय गरेका हुन् ।’
कोन्टेले आफ्ना खेलाडीको रक्षार्थ कोस्टा र एड्रियानबीच शारीरिक रूपमा सम्पर्क नभएको दाबी गरे पनि टेलिभिजन रिप्लेमा भने कोस्टाले एड्रियानलाई हानेको प्रस्ट देखिएको छ ।

इडेन हाजार्डले ४७ औं मिनेटमा गरेको गोलमा चेल्सी १–० ले अघि थियो । कोस्टाले निकै माथिबाट आएको एउटा एयर बल पछ्याउने क्रममा एड्रियानलाई दायाँ पिँडुलामा प्रहार गरे । रेफ्री एन्थोनी टेलरले खराब व्यवहारका लागि पहिलो हाफमै कोस्टालाई पहेँलो कार्ड दर्शन गराइसकेका थिए । तर यसपालि भने टेलरले कार्ड खल्तीबाट निकालेनन् ।

चतुर रूपमा गोल गर्दै वेस्ट ह्यामका सेन्टर–ब्याक जेम्स कोलिन्सले समय सकिन १३ मिनेट बाँकी रहँदा खेल बराबरीमा ल्याएका थिए । समय सकिनै लाग्दा चेल्सीका लागि डेब्यु गरिरहेका मिची बात्सुईको फ्लिक नियन्त्रणमा लिँदै कोस्टाले घरेलु मैदानमा चेल्सीलाई जितको स्वाद चखाए ।

‘हामी त्यो घटना र त्यसमाथि रेफ्रीको निर्णयबाट खुसी छैनौं,’ वेस्ट ह्यामका प्रशिक्षक स्लाभेन बिलिकले कोस्टाको चुनौतीका विषयमा भने, ‘पक्कै पनि त्यो नियतवश गरिएको थिएन तर रेफ्रीको निर्णय धेरै ढिला आयो । गोलकिपरमाथि लगातार आक्रमण भइरहँदा १० औं पटकमात्र पहेँलो कार्ड देखाइयो ।’

उदार दिलका क्रोएसियाली प्रशिक्षकले चेल्सीको जितलाई हकलाग्दो नतिजा भन्न कन्जुस्याइँ गरेनन्। एएफपी

 

प्रकाशित: १ भाद्र २०७३ ०२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App