८ वैशाख २०८१ शनिबार
समाज

डोल्पामा औषधि अभाव

विष्णुप्रसाद देवकोटा
डोल्पा – जेठो छोरा सुशान्तलाई घरकै गोठमा परम्परागत शैलीमा सजिलै जन्म दिएकी सुष्मा उपाध्यायलाई दोस्रो सन्तान जन्माउन हम्मेहम्मे भयो ।त्रिपुरासुन्दरी नगरपालिका–१ की ३८ वर्षीया उपाध्यायलाई ०७४ माघ २८ गते राति सुत्केरी व्यथाले च्याप्यो । उनले गाउँकी सुसारे आमा बोलाइदिन पतिलाई हारगुहार गरिन् ।

स्वास्थ्य संस्थामा आमा सुरक्षा कार्यक्रम लागू भएको कुरा सुनेका उनका पति नारायणप्रसाद उपाध्यायले सुत्केरी व्यथाले छटपटाइरहेकी उनलाई गाउँलेको सहयोगमा सुत्केरी गराउन आधा घन्टाको दुरीमा रहेको त्रिपुरा स्वास्थ्य केन्द्र बगरमा बोकेर लगे ।

व्यथाले छटपटाइरहेकी सुष्मालाई प्रसूतिगृहमा पुर्याउँदा त्यहाँ ताला लागेको थियो । जीवनमरणको दोसाँधमा रहेकी उनलाई आफन्तको रेखदेखमा छाडेर नारायण स्वास्थ्य संस्थाकी स्विपर गोपी सार्कीलाई खोज्न गाउँतिर लागे । स्वास्थ्य केन्द्रको ढोका खोल्दा त्यहाँ औषधि र औजार केही थिएन । नजिकै रहेको त्रिपुरासुन्दरी मेडिकलबाट आवश्यक औषधि र सामग्रीसहित मेडिकल सञ्चालक कविप्रसाद उपाध्यायलाई अस्तालमा आइदिन हारगुहार गरियो ।

कविप्रसाद स्वास्थ्य केन्द्र पुगेर मुस्किलले सुरक्षित सुत्केरी गराउन सफल भए र एउटी बच्चीको जन्म भयो । सरकारले गर्भवती महिलालाई लक्षित गरेर ल्याएको आमा सुरक्षा कार्यक्रमले दशक नाघिसक्दा पनि कमजोर व्यवस्थापनका कारण ग्र्रामीण क्षेत्रमा प्रभावकारी बन्न सकेको छैन । सरकारले आमा सुरक्षा कार्यक्रमअन्तर्गत गर्भवती महिलाका लागि निःशुल्क प्रसूति सेवाको व्यवस्था गर्दैआएको छ । तर, स्वास्थ्यकर्मीको लापरबाही र औषधि तथा अत्यावश्यक स्वास्थ्य सामग्री व्यवस्थापन नहुँदा सुरक्षित प्रसूति गराउन स्वास्थ्य केन्द्र पुग्दा उल्टै मृत्युवरण गर्नुपर्ने अवस्था रहेको सुष्माले बताइन्।

त्रिपुराकोट स्वास्थ्य केन्द्रलगायत पहाड, लिकु, ल्हाँ र सुउ स्वास्थ्य केन्द्रमा गएको मंसिर महिनादेखि औषधि सकिएको छ । तर, औषधि व्यवस्था गर्न सम्बन्धित निकायले चासो लिएको छैन । जिल्ला अस्पताल डोल्पाले असोजको पहिलो सातामा पठाएको १ लाख ५० हजार रुपैयाँबराबरको औषधिले मंसिर महिनाको दोस्रो सातासम्म जेनतेन पुगेको भए तीन महिनायता सिटामोलसम्म छैन । ‘दिनमा सरदर २५ देखि ५० को हाराहारीमा बिरामी आउँछन् तर सामान्य परामर्श दिएर फर्काउने गरेका छौं,’ त्रिपुराकोट स्वास्थ्य केन्द्रकी निमित्त प्रमुख अनमी सिर्जना रोकायाले बताइन् ।

उनले भनिन्, ‘स्थानीय तह बनिसकेपछि यस मातहतका सबै स्वास्थ्य केन्द्रको रेखदेख तथा औषधि व्यवस्थापनलगायत सबै जिम्मा नगरपालिकामा सरेको छ, उसैले ओषधि खरिद गर्नुपर्ने हो । तर, बारम्बार जानकारी गराउँदा समेत नगरका पदाधिकारीले ध्यान दिन चाहेका छैनन् ।’ त्रिपुराकोट स्वास्थ्य केन्द्रमा औषधि नभएपछि स्वास्थ्यकर्मी घाम तापेर बस्ने गरेका छन् ।

त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गतका पाँच स्वास्थ्य केन्द्रका स्वास्थ्य संयोजक सञ्जयकुमार मण्डल प्रायःजसो जिल्ला अस्पतालमा बस्ने गरेको र स्वास्थ्य केन्द्रमा कहिलेकाहीँमात्र देखिने गरेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । त्रिपुराकोट स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष रहेका वडा नं १ का अध्यक्ष कर्मसिं थापाले औषधि अभावबारे नगरप्रमुख ओमबहादुर बुढालाई बारम्बार जानकारी गराउँदा समेत सुनुवाइ नभएको बताउँछन् । अस्पतालले नै दिन्छ भन्ने विश्वासमा नगरपरिषद् हुँदा औषधि खरिदका लागि बजेट विनियोजन नगरिएको नगरपालिकाका निमित्त कार्यकारी अधिकृत हिराचन्द्र धरलाले बताए ।

‘तर, पुस १ गते बसेको नगरको कार्यकारी बैठकले १५ लाख रुपैयाँ औषधि र उपकरण खरिदका लागि निर्णय गरेको छ,’ उनले भने । उनले त्रिपुराकोट स्वास्थ्य केन्द्रमा बिमारीको चाप अत्यधिक हुने र औषधि पनि बढी नै खपत हुने भएकाले छिटोभन्दा छिटो औषधि खरिदका लागि आफूले नगरप्रमुख बुढालाई आग्रह गरेको जनाए ।जिल्ला अस्पतालबाट स्वास्थ्य संस्था सञ्चालन भइरहँदा औषधि अभाव थिएन । तर, सिंहदरबारको अधिकार घरघरमा पुगाउने गरी गठन भएको स्थानीय सरकारले पहिलो उपहारका रूपमा औषधि संकट दिएको स्थानीयको गुनासो छ ।

त्रिपुरासुन्दरी नगरपालिका १ का आइतराम सार्कीले भने,  ‘स्थानीय सरकार भएमा सबै खाले समस्याबाट मुक्ति पाइएला भन्ठानेका थियौं तर समस्या पो थपिन थाले ।’ पाँच दिनसम्म ज्वरोले थलिएर औषधि उपचारका लागि स्वास्थ्य केन्द्र पुगेकी ६० वर्षीया नौसरा बुढालाई औषधि नदिइकनै स्वास्थ्यकर्मीले फर्काए । उनी भन्छिन्, ‘अस्पतालबाट खाली फर्काउँछन् भन्ने सुनेकी थिएँ तापनि मनले मानेन र आइहाले । तर, सिटामोल पनि छैन आमा भनेर डाक्टरसाबहरूले फर्काए ।’स्वास्थ्य संस्थामा सरकारले ३५ किसिमका औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

तर, डोल्पाका अधिकांश स्वास्थ्य केन्द्रमा औषधि छैन । पहाडा स्वास्थ्य केन्द्रका प्रमुख कृष्ण कार्कीले पनि पहाडामा औषधि नभएर सर्वसाधारण मारमा परेको बताए । औषधिको चरम संकट भएकाले जिल्ला अस्पतालमा मौज्दात भएको औषधि पठाइदिन अनुरोध गरिएको कार्कीले बताए ।

जिल्ला अस्पताल दुनैका प्रमुख डा. श्रीकान्त अग्रवालले स्वास्थ्य केन्द्र स्थानीय निकायलाई हस्तान्तरण भएपछि समस्या झनै बल्झिन थालेको बताए । उनले नगरपालिकाले औषधि खरिद नगरेपछि अस्पतालमा मौज्दात रहेको केही औषधि पठाउन लागेको जानकारी दिए ।

प्रकाशित: ९ फाल्गुन २०७४ ०३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App