coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सहजै बन्छ नक्कली नागरिकता

१) मंसिर १७ गते सप्तरी प्रहरीले नक्कली नागरिकताको आरोपमा पक्राउ गरेका अभियुक्तहरू । तस्बिर : जितेन्द्रकुमार झा- नागरिक

राजविराज– भारत, बंगलादेशलगायतका विदेशी नागरिकले पछिल्लो समय नेपाली नागरिकता प्राप्त गर्न सप्तरी, सुनसरी जस्ता जिल्लालाई निकै सहजरूपमा प्रयोग गर्दै आएको पाइएको छ । जिल्ला प्रशासन तथा स्थानिय तहका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर उनीहरूले नेपाली नागरिकता लिने गरेको प्रहरीकै दाबी छ ।

विभिन्न आपराधिक प्रवृत्तिका व्यक्तिदेखि वैदेशिक रोजगारमा जान इच्छुक भारतीय तथा बंगलादेशी नागरिकले सप्तरीवाट सहजैरूपमा नेपाली नागरिकता प्राप्त गरिरहेका छन् । प्रहरी स्रोतका अनुसार यसरी विदेशी नागरिकलाई नेपाली नागरिकता बनाइदिने गिरोह झापादेखि सप्तरीसम्म सक्रिय रहेको छ ।

  यस्ता गिरोहलाई नियन्त्रणमा लिन प्रहरीले कारबाही थाले पनि पक्राउ परेका अभियुक्तहरू न्यायालयलाई समेत प्रभावमा पारी सहजै उम्किने गरेका छन् । पछिल्ला २ वर्ष यता प्रहरीले नक्कली नागरिकता प्रकरणमा एक दर्जनभन्दा बढ्री अभियुक्तलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाए पनि त्यस्ता आरोपी समान्य धरौटीमै अदालतवाट रिहा हुन थालेपछि यस्ता गैरकानुनी क्रयाकलापमा लागेकाको मनोवल झन्बेको छ ।

 पछिल्लोपटक मंसिर १७ गते सरकारी कागजात किर्ते गरी नक्कली नागरिकता बनाउँदै गरेको अवस्थामा पक्राउ परेका तीनजना भारतीय नागरिकलाई फागुन ३ गते उच्च अदालत जनकपुरको राजविराज इजलासले जनही २५ हजार धरौटीमा रिहा गरेको छ ।  

 जिल्ला प्रशासन कार्यालय छेउमै रहेको राजविराजस्थित राज रंगशालाबाट जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यरत कार्यालय सहयोगी अजयकुमार यादव, राजविराज नगरपालिका–१० का वडा सचिव मोहम्मद वकिल मियाँसहित ६ जनालाई पक्राउ गरेका थिए । पक्राउ परेकामध्ये तीनजना भारतीय नागरिक रहेको प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये मोहम्मद लतिफुर रहमान, मोहम्मद नावेद आलम तथा मोहम्मद सइरो आलम भारतीय नागरिक हुन् । पुलिसले उनीहरूको भारतस्थित स्थायी ठेगानासमेत पत्ता लगाएको छ । प्रहरीले पक्राउ गरेकामध्ये मोहम्मद कलिमले आफ्नो घर ठेगाना सुनसरीको हरिपुर बताए पनि उनी पनि भारतीय नागरिक नै रहेको प्रहरीको आशंका छ । यस मुद्दाको अनुसन्धानमा रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीका एक अधिकृतका अनुसार अभियुक्तहरू भारतको पश्चिम बंगाल र बिहारका स्थानिय बासिन्दा हुन् ।

यसअघि सप्तरी जिल्ला अदालतले अभियुक्तहरूलाई पूर्पक्षका लागि कारागार पठाएको थियो । प्रहरीका तर्फबाट सप्तरी जिल्ला अदालतमा दायर गरिएको मुद्दामा कानुनविपरीत नक्कली नागरिकता बनाउने कार्यमा संलग्न अभियुक्तहरूलाई नागरिकता ऐन २०६३ को दफा २१ को ३ अनुसार र मुलुकी ऐनको किर्ते कागजको महल १ बमोजिमको कसुरमा हदैसम्मको कारबाहीको माग गरिएको थियो ।

 मुद्दाको सुनवाइ गर्दै पुस १६ गते जिल्ला अदालत सप्तरीका न्यायाधीश श्रीप्रसाद संजेलको एकल इजलासले अभियुक्त मध्येका जिल्ला प्रशासन कार्यालय सप्तरीका कार्यालय सहयोगी अजय यादव र सुनसरीको हरिपुर घर बताउने मोहम्मद कलिमलाई १ लाख धरौटी लिई तारेखमा छाड्न आदेश गरेको थियो भने अन्यको हकमा भने पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको थियो ।

 उक्त आदेशलाई चुनौतीसहित अभियुक्त पक्षले उच्च अदालतमा दायर गरेको मुद्दाको सुनवाइ गर्दै फागुन ३ गते उच्च अदालतका न्यायाधीशद्वय राकेशकुमार निधि र नसरुल्लाह अन्सारीको संयुक्त इजलासले अभियुक्त उपर प्रहरीले गैर नेपाली नागरिक रहेको भनी आरोप लगाए पनि सो सम्बन्धी कुनै सवुत प्रमाण पेश गर्न नसकेको हुँदा उनीहरूलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो । यद्यपी अभियुक्तहरू नेपाली नागरिक नै हुन् भनी प्रमाणीत गर्न सक्ने कुनै आधार, सवुत वा प्रमाणसमेत अदालतमा पेश गरिएको छैन।

 मुलुकी ऐनको अदालती बन्दोबस्त ११८ नम्बर बमोजिम नेपाल सरकार वादी भई चलेको कुनै त्यस्तो मुद्दामा आरोपीलाई तीन वर्ष वा सोभन्दा वढी कैद सजय हुन सक्ने वा आरोपि नेपालको स्थायी बासिन्दा नरहेको र तत्काल प्राप्त प्रमाणवाट ६ महिना वा सोभन्दा बढी कैद सजय हुन सक्ने अवस्थामा आरोपीलाई पुर्वपक्षमा राखी अनुसन्धान अगाडि बढाउनुपर्ने उल्लेख रहेको छ । यसअघि जिल्ला अदालतले गरेको फैसला पनि सोही ऐनलाई टेकेर गरिएको कानुनका जानकारहरूको भनाइ छ । तर उच्च अदालतले जिल्लाको निर्णाय पल्टाउँदै भारतीय नागरिकलाई समेत धरौटी लिई तारेखमा छाड्ने आदेश गरेपछि अनुसन्धानमा खटिएका प्रहरी अधिकारी पनि अचम्मित भएका छन् ।

  नाम नछाप्ने सर्तमा एक अधिकारीले भने, ‘अब अदालतको अन्तिम फैसला जस्तोसुकै आए पनि धरौटीमा छुटेर निस्केका भारतीय पुनः तारेख लिन वा सजाय भोग्न अदालतसम्म आउलान् त ?’ उनीहरूलाई अझै केही दिन प्रहरी निगरानीमा राखेर मुद्दाको अनुसन्धान गरेको भए दोषीले सजय पाउनुका साथै नक्कली नागरिकता बनाउने कार्यमा संलग्न अन्यलाई पनि अनुसन्धानको दायरामा ल्याउन सक्ने ती अधिकारीको भनाइ छ ।
झापादेखि सप्तरीसम्म सञ्जाल

उच्च अदालतको निर्णय बमोजिम धरौटी बुझाएर तारेखमा रिहा भएका भारतीय नागरिक मोहम्मद लतिफुर रहमान पश्चिम बंगालको उत्तर दिनाजपुर जिल्लाअन्तर्गत पर्ने अनन्तकोटा ग्राम पञ्चायतका बासिन्दा हुन् । उक्त क्षेत्र बंगलादेश र भारतकै बिहार राज्यको किसनगंज जिल्लासँग जोडिएको क्षेत्र हो । अर्का अभियुक्त मोहम्मद नावेद आलम भने किशनगंजका बासिन्दा हुन् । उनी झापाको बिर्तामोड नगरपालिकामा बस्दै आएका छन् । अर्का अभियुक्त मोहम्म सइरो बिहारकै सुपौलका बासिन्दा हुन्

उनी पनि प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीलाई आफ्नो ठेगाना झापाको बिर्तामोड नै बताएका थिए ।
प्रहरी स्रोतका अनुसार बंगलादेशसँग सिमाना जोडिएको भारतको पश्चिम बंगला र बिहारका नागरिक संलग्न रहेको गिरोह बिर्तामोडबाट नक्कली नागरिकता बनाउने गतिविधि सञ्चालन गर्दै आएका छन् । भारतबाट बैदेशिक रोजगारमा जान निकै महँगो र झन्झटिलो हुँदा भारतीय तथा बंगलादेशी नागरिकसमेत नेपाल हुँदै खाडीलगायत मुलुक जान नेपाली नागरिकता लिने गरेका छन् ।

गत वर्ष पनि सप्तरी प्रहरीले तीनजनालाई राजविराजस्थित एक नोटरी पब्लिकको कार्यालयवाट नक्कली नागरिकता बनाउँदै गर्दा सरकारी कागजातसहित पक्राउ गरेको थियो । पक्राउ पर्नेमा भारत बिहारको किशनगंज घर भई झापाको राजगढ बस्दै आएका इन्द्रकुमार राजवंशी रहेका थिए । उक्त गिरोहले जिल्ला प्रशासन कार्यालयको तल्लो तहका कर्मचारी तथा चिनजानको आधारमा गाविस तथा वडा सचिवलाई प्रयोग गर्दै आएका छन् । यस बापत ती सरकारी कर्मचारीलाई प्रत्येक नागरिकता वापत ५० हजार देखि १ लाख रुपैयाँसम्म दिने गरिएको स्रोतको दाबी छ ।

 पछिल्लोपटक पक्राउ परेका तीनैजना भारतीय नागरिकहरू राजविराज नगरपालिका वडा नम्बर १० का तत्कालीन सचिव मोहम्मद वकिल र जिल्ला प्रशासन कार्यालय सप्तरीका कार्यालय सहयोगी अजय यादवलाई प्रति नागरिकता १ लाख रुपैयाँ दिएका थिए ।

 यादवले प्रशासन कार्यालयवाट गृह मन्त्रालयको स्टिकर सहितको नागरिकता कार्ड चोरेर ल्याउने गर्थे तथा मोहम्मद वकिलले विभिन्न फर्जी डकुमेन्टसहितको फाइल बनाएर यादवमार्फत जिल्ला प्रशासनको रेकर्डमा पुर्याउने गराउँथे । यसरी काम गर्दा न त सनाख्तमा बस्नुपर्ने झन्झट हुन्थ्यो न त सिडिओ वा अन्य उच्च अधिकारीसमक्ष नागरिकता लिने व्यक्तिलाई उपस्थित नै हुनुपथ्र्यौ ।

  पछि प्रशासन कार्यालयको अन्य कर्मचारीको संलग्नतामा उक्त नागरिकताको सम्पूर्ण विवरणसमेत अभिलेख राखिने गरिन्थ्यो । यसरी फर्जी रूपमा बनाइने नागरिक पूर्णरूपमा आधिकारिक बैध बनाइने गरिन्थ्यो । प्रहरीका अनुसार वडा सचिव मोहम्मद वकिलको नाम यसअघि पनि नक्कली नागरिकता प्रकरणमा जोडिँदै आएको थियो ।
राज्यको निरिहताले अपराधी मनाबवल बढ्दै
 देशको आन्तरिक सुरक्षा राष्ट्रिय पहिचानसँग जोडिएको नागरिकता जस्तो गम्भीर मुद्दामा पक्राउ परेका अभियुक्तलाई अदालतले यसरी समान्य धरौटी लिई तारेखमा रिहा गरेको यो पहिलोपटक होइन । यसअघि पनि अधिकांश मुद्दामा अदालतले यस्तै खाले आदेश गर्दै आएका छन् ।

  भारत बिहारको किशनगंज घर भई झापाको बिर्तामोड बस्दै आएकी संगीता राजवंशी ०७३ मंसिर १८ गते विमानस्थलवाटै पक्राउ परेकी थिइन् । उनी सप्तरीको स्थायी ठेगाना देखाई सप्तरीबाटै नक्कली नागरिकता बनाएर झापाबाट राहदानी लिई विदेश उड्न खोजेकी थिइन । प्रहरीले उनलाई अदालत लगे अदालतले ५० हजार धरौटीमा संगीतालाई रिहा गरिदियो ।

०७२ माघ ३ गते पक्राउ परेका भारतीय नागरिक शिवनारायण पण्डितले सप्तरीको झुटकी गाविस–१ ठेगाना देखाई नक्कली नागरिकता प्राप्त गरेका थिए । प्रहरीले कारबाहीका लागि पण्डितलाई अदालतमा पेस गर्यो अदालतले उनलाई पनि ५० हजार धरौटीमा रिहा गरिदिए । प्रहरीका अनुसार नक्कली नागरिकतासम्बन्धी अधिकांश मुद्दामा अदालतले यसरी नै फैसला सुनाउँदै आएका छन् ।

 अपराधीहरूले स्थानीय निकायदेखि प्रशासन र न्यायालयसम्मलाई प्रयोग गर्दै अपराधवाट उन्मुक्ति पाउन सक्ने अवस्थाकै कारण यसरी गैर कानुनी गतिविधि गर्नेहरूको मनोबल उच्च भएको अधिवक्ता डा. हेमकुमार मिश्रको भनाइ छ । उनी भन्छन्, ‘समान्य व्यक्तिलाई अझै पनि नागरिकता लिनु त्यति सहज छैन, स्थानीय तहका कर्मचारीदेखि सिडिओसम्म नानाथरिका प्रश्नको जवाफ दिँदै स्थानीय हैरान हुन्छन्, तर गैर नेपालीलाई राज्यकै संयन्त्रको संलग्नतामा नागरिकता वाँड्ने काम भइरहेको छ ।’
विदेशी अपराधीलाई पनि सहजै नागरिकता
सप्तरी र सुनसरी गरी सात जनाको हत्यामा संलग्न रहेको भनी आरोपमा पक्राउ परेका भारतीय नागरिक मोहम्मद मुस्तकिम भनिने रईस मियाँलाई गत वर्ष नेपाल प्रहरीले पक्राउ गर्दा उनीसँग नेपाली नागरिकता र तीन वटा छुट्टाछुट्ट नेपाली राहदानी फेला परेको थियो ।  इन्टरपोलबाट रेड कर्नर नोटिस जारी बंगलादेशी आतंकी सुब्रत बेन नेपालमा असरफ अली अन्सारीको नामबाट नागरिकता र राहदानी लिएका थिए । सुनसरीको सिमरिया–५ बाट नेपाली नागरिकता लिएका बेन बंगलादेशका ‘कुख्यात’ अपराधी हुन् ।

 सन् २००८ मा बंगलादेश सरकारले भारत सरकारलाई बुझाएको आफ्नो मुलुकका २३ कुख्यात अपराधीको सूचीमा बेनको नामसमेत रहेको थियो । बेनमाथि हत्याहिंसाका दर्जनौ मुद्दा  छन् । अन्तर्राष्ट्रिय आतंककारी संगठनसँगसमेत बेनको साँठगाँठ रहेको आरोप रहेको छ । सन् २००५ मा बंगलादेशको ढाकास्थित बंगबन्धु एभेन्यूमा आयोजित एक र्यालीमा ग्रिनेड हमला गरेको आरोपमा बंगलादेशका सुरक्षा निकायले बेनलाई मस्टवाण्टेड सूचीमा राखेका हुन् । उनीमाथि १५ लाख रुपैयाँको पुरस्कारसमेत बंगलादेश सरकारले घोषणा गरेका थिए । झुम्का कारागार तोडेर फरार भएका बेन त्यसको एक महिना पनि नबित्दै भारतको कलकत्तामा फक्राउ परेका थिए ।

 बेनसँगै झुम्का जेलबाट भाग्न सफल भएका भारतीय कुख्यात अपराधी धीरेन्द्र यादवले सप्तरी र सुनसरीको छुट्टा–छुट्टै दुई गाविसवाट फरकफरक नाममा नेपाली नागरिकता लिएका छन् । नेपाली भूमिमा बसेर आपराधिक क्रियाकलाप गर्न सजिलै हुने दृष्टिले नेपालका दुई जिल्लाबाट नेपाली नागरिकता लिएका हुन् ।

 भारतको बिहार राज्यअन्तर्गत पर्ने सुपौल जिल्लाको चिकनीपट्टी निवासी यादवले १२ फागुन २०६७ मा खटिएको नागरिकता टोलीबाट सप्तरीको वभनगामा कट्टी गाविस–२ र सुनसरीको पश्चिम कुशाहा गाविस–१ बाट गरी दुईवटा नेपाली नागरिकता लिएका छन् । यादवले सप्तरी वभनगामा कट्टी–२ निवासी शंकर यादवलाई बुवा मानेर महावीर यादवको नामबाट नेपाली नागरिकता लिएका छन् भने सुनसरीको पश्चिम कुशाहा–१ निवासी महेश यादवको नामबाट नागरिकता लिएका हुन् ।

हाल सीमावर्ती बिहार सुपौल जिल्लाको विरपुर जेलमा रहेका धिरेन्द्र उपर फरबिसगंजको गोल्छा हत्या काण्ड, राघोपुरको विपीन चौधरी हत्याकाण्डलगायत २३ वटा आपराधिक मुद्दा भारतमा रहेका छन् । नेपालमा भने कृषि विकास बैंक राजविराजका तत्कालीन प्रबन्धक विक्रमप्रसाद साहको हत्या तथा ३० लाख लुटपाट गरेको आरोपमा उनी जेल चलान भएका थिए । सन् २००८ मा नेपाल प्रहरीले सुनसरीको इटहरीस्थित रोयल रिसोर्टबाट धीरेन्द्रलाई पक्राउ गरेको थियो । समापारि बिहार राज्यको सुपौल जिल्लाअन्तर्गत पर्ने सितापुर गाउँ निवासी सुभाष झाको नामले उक्त क्षेत्रमा अहिले पनि त्रास हुने गर्छन् ।

हत्या, अपहरण, लुटपाट, फिरौतीलगायतका मुद्दामा भारतीय प्रहरीको दवाव थेग्न नसकेर नेपाल छिरेका उनी सुनसरीको हरिपुर गाविसवाट हरिशचन्द्र झाको नाममा नेपाली नागरिकता प्राप्त गरे । नक्कली नागरिकताकै मुद्दामा झुम्का कारागारमा रहेका झा सुब्रत बेन, धीरेन्द्र यादवलगायतसँग भाग्न सफल भएका थिए । झाले दिनेश झाको नाममा समेत नेपाली नागरिकता लिएको आरोप छ । यद्यपी उक्त तथ्यवारे खासै खुल्न सकेको छैन । त्यस्तै भारत बिहार राज्यको सुपौल जिल्लाअन्तर्गत पर्ने त्रिवेणीगंजका बासिन्दा बमबम यादव उपर हत्या, अपरहण, लुटपाट लगायतका १७ वटा मुद्दा भारतमा मात्रै रहेका छन् । उनी धिरेन्द्र यादवका निकटस्थ मानिन्छन् । झुम्का कारागारवाट भाग्नेमध्ये उनी पनि एक हुन् । उनीसँग पनि नेपाली नागरिकता रहेको छ ।

 

प्रकाशित: ९ फाल्गुन २०७४ ०३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App