७ वैशाख २०८१ शुक्रबार
समाज

शोभराजलाई कैद सहुलियत

काठमाडौं – चौध वर्षदेखि जन्मकैदको सजाय भोगिरहेका अन्तर्राष्ट्रिय कुख्यात अपराधी चाल्र्स शोभराजलाई सर्वाेच्च अदालतले कैद सहुलियत प्रदान गरेको छ ।

दुईजना विदेशी पर्यटकको हत्या गरेका कारण शोभराजलाई प्रतिहत्या बीस बर्षका दरले सजाय गर्नुपर्ने वा नपर्ने भन्ने विवादमा सर्वाेच्च अदालतका न्यायाधीशद्धय केदारप्रसाद चालिसे र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासबाट सहुलियत प्रदान गर्ने फैसला भएको हो ।

फैसलापछि अब शोभराजले दुई हत्यामा २० वर्षका दरले ४० वर्ष कैद भुक्तान गर्नुपर्ने बाध्यता नभई दुवै मुद्दामा जम्मा २४ वर्ष कैद बसे हुने भएको छ । ‘द सर्पेन्ट किलर’ को रुपमा कुख्यात शोभराज अमेरिकी नागरिक कोन्निजो ब्रोन्जिच र क्यानेडियन नागरिक लरेन्ट अरमान्ड क्यारियरेको २०३२ सालमा भएको हत्या अभियोगमा २०६० सालमा नेपालमा पक्राउ परी कैदसजाय भोगिरहेका छन् ।

अमेरिकी नागरिक कोन्निजोको हत्या अभियोगमा उनलाई सर्वाेच्च अदालतबाट दोषी ठहर गरी २० वर्ष कैद तोकिएको थियो । उनले सोही कैद सजाय केन्द्रीय कारागारमा भुक्तान गरिरहेका छन् । क्यानेडियन नागरिक क्यारिअरेको हत्या अभियोगमा जिल्ला अदालत भक्तपुरले अर्काे २० वर्ष कैदसजाय र सर्वस्वहरणको समेत सजाय तोकेको थियो । यो फैसलाविरुद्ध उनले पुनरावेदन अदालत पाटन निवेदन दिन खोजे पनि अदालतले पुनरावेदन अस्वीकार गरेको थियो ।  

‘निवेदक २०६० असोज २ गतेबाट लगातार थुना तथा कैदमा रहेको देखिएकाले भक्तपुर जिल्ला अदालतबाट मिति २०७१ असोज १ को फैसलाको तपसिल खण्डमा २०७१ असार १ देखि कैद कट्टी हुने भनेको हदसम्म मिलेको नदेखिँदा उत्प्रेषणको आदेशले बदर हुन्छ,’ गत असोज २९ गते सुनाई हालै सार्वजनिक भएको फैसलाको पूर्णपाठमा भनिएको छ, ‘अब निवेदकलाई निज थुनामा रहेको २०६० असोज २ गतेबाट कैदकट्टा हुनेगरी कैद ठेक्नू भनी भक्तपुर जिल्ला अदालतको नाममा परमादेश जारी हुने ठहर्छ । यो आदेशको जानकारी महान्यायाधिवक्ताको कार्यालयमार्फत विपक्षीहरुलाई दिई मिसिलअनुसार गरी बुझाइदिनू ।’
शोभराजको मुद्दामा सर्वाेच्च अदालतले मुलुकी ऐन दण्डसजायको महलको ८ र ४१ नं. को समेत विस्तृत व्याख्या गरेको छ ।

‘मुलुकी ऐन दण्डसजाय महलको ८ नं. मा भएको कानुनी व्यवस्थाले धरौटी जमानीमा छुटेको अवस्थामा फेरि अरु अपराध गरेकोमा फेरि जन्मकैदको सजाय हुने खत गरेकोमा अघिल्लो जन्मकैद भोगी छुट्न पाउने भएपछि चार वर्ष थपी र घटी सजाय हुने खत गरेकोमा खतअनुसार बढीमा चार वर्षसम्म कैद गर्नुपर्ने व्यवस्था गरेको पाइयो,’ फैसलामा भनिएको छ । ‘त्यसैगरी दण्डसजायको ४१ नं. को अन्तिम वाक्यांशमा फैसला भइसकेपछि कैद नबस्दै वा थुना कैद बसेको अवस्थामा वा थुना कैदबाट छुटेको वा भागेको अवस्थामा अर्काे कसुर गरेकोमा सो कसुरबापत कानुनबमोजिम थप कैद ठेक्नुपर्छ भन्ने व्यवस्था रहको’ पनि फैसलामा औंल्याइएको छ ।

जतिसुकै अपराध गरेको भए पनि सजाय गर्दा कानुनले तोकेभन्दा बढी कैद गर्न कानुनको शासनले अख्तियार नदिएकाले तोकेको हदसम्मको कैदमात्रै हुनुपर्ने व्याख्या पनि इजलासले गरेको छ । ‘कानुनको शासनमा कानुन सर्वाेपरी हुन्छ । कुनै पनि व्यक्तिलाई कसुर गर्दाको अवस्थामा कायम रहेको कानुनले तोकेको भन्दा बढी सजाय गर्न मिल्दैन । प्रचलित कानुनको अख्तियारीबिना वा कानुनभन्दा बाहिर गई सजाय हुनु वा गरिनु कानुनको शासनविपरीत हुन जान्छ । धेरै अपराध गरेको आधार र कारणबाट कानुनले तोकेको भन्दा बढी सजाय गर्ने छुट कानुनले दिँदैन,’ फैसलामा उल्लेख छ ।

आफूलाई भक्तपुर जिल्ला अदालतबाट क्यानेडियन नागरिक क्यारिअरेको मुद्दामा कैद लगत कस्दा गैरकानुनी तरीकाले कैद ठेकिएकोमा सोविरुद्ध पुनरावेदन अदालत पाटनमा पुनरावेदन गर्दा समेत आफ्नो माग दाबी नसुनिएको भन्दै शोभराजले गत वर्ष सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए । तल्ला अदालतबाट आफूविरुद्ध कैद ठेकिँदा पूर्वाग्रही भएर कैद ठेकिएको र मौलिक हकको समेत अपहरण गरिएको पनि उनको रिटमा दाबी गरिएको थियो ।
 

प्रकाशित: ९ फाल्गुन २०७४ ०३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App