४ वैशाख २०८१ मंगलबार
खेल

करण केसी जन्मठाउँ पुग्दा…

बागलुङ- मंगलबार नेपाल बन्दका कारण बजार सुनसान थियो। सोमबार रातीको बम विस्फोट र मंगलबार बिहानै बागलुङमा बजारमा भेटिएको बमको खबरले जनजीवन त्रसित थियो। यसैबीचमा फैलियो, नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी बागलुङ आएका छन् । बागलुङ नगरपालिका कार्यालय, जिल्ला खेलकुद विकास समिति र वडा नम्बर ८ ले सम्मान गर्ने कार्यक्रम आयोजना गर्न लागेकोले करण बागलुङ आएको खबर फैलिएपछि यहाँका क्रिकेटप्रेमीहरु विस्तारै बजारको चोकमा जम्मा हुन थाले । बिहान १० बजे आयोजना गरिएको कार्यक्रम बन्दका कारण सबै जुट्न समय लागेपछि दिनको १२ बजे सुरु भयो।

 नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीलाई जन्मठाउँमा भव्य स्वागत गरियो । आईसीसी च्याम्पीयसिप डिभीजन टू अन्तर्गत केही दिन अघि नामिवियामा भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई विश्वकप छनोटमा पुर्याउन सफल भएको भन्दै केसीलाई जन्मठाउँ बागलुङमा भव्य स्वागत गरिएको हो। उनले विश्वक छनोट खेल्नका लागि जित्नैपर्ने क्यानाडा विरुद्धको खेलमा चामत्कारिक व्याटिङ गरेर नेपाललाई जित दिलाएका थिए । करणको उत्कृष्ट प्रदर्शनको बलमा नेपालले आगामी २०१९ वेल्स र इङ्ल्याण्डमा हुने विश्वकपमा सहभागगिताका लागि जिम्बाबेमा हुने छनोट प्रतियोगितामा सहभागी हुने मौका पाएको थियो । केसीलाई बाजा गाजा सहित बागलुङ बजारको समिट चोकदेखि बजारका विभिन्न भागको परिक्रम गराएर लोकतान्त्रिक चोकमा ल्याएपछि सम्मान गरिएको थियो।

 पछिल्लो समय नेपाली क्रिक्रेटले पाएको सफलताबाट उत्साहित भएका यहाँका दर्शकहरुले उनलाई खादा र अबिर लगाएर सम्मान गरेका थिए । बागलुङ नगरपालिका कार्यालयको तर्फबाट केसीलाई नगद ५० हजार रुपैयाँ र सम्मानपत्रले सम्मान गरिएको थियो । बागलुङ नगरपालिका—८ सिगानामा जन्मिएका केसीलाई वडा कार्यालय पनि सम्मान गरेको छ । नगद र सम्मानपत्रले सम्मान गर्दै बागलुङ नगरप्रमुख जनकराज पौडेलले बागलुङमा जन्मिएका केसीले अन्तराष्ट्रिय जगतमा नेपालको शान बढाएकोले सम्मान गरेको बताए । ‘बागलुङको सिगानामा जन्मिनु भएको भाई करण केसीले अहिले नेपाल र बागलुङलाई पनि विश्वमा चिनाउनुभएको छ,’ पौडेलले भने,‘हामीले उहाँबाट अको दिनमा पनि विश्कप खेल्ने गरी प्रदर्शनको अपेक्षा गरेका छौं। उहाँलाई हौसला प्रदान होस् भनेर नै यो कार्यक्रम गरिएको हो ।’

 सम्मानपछि प्रतिक्रिया दिँदै केसीले जन्मठाउँमा पाएको सम्मानले आफुलाई थप हौसला मिलेको बताए। ‘हामी देशका लागि खेल्छौं, खेलमा कहिले जित्छौं कहिले हार्छौ,’ उनले भने,‘जित्दा र हार्दा पनि तपाईहरुले यसरी नै माया गरिराख्नुहोला । हामीले तपाईहरुको विश्वास र भरोसालाई डग्न दिने छैनौं ।’ केसीलाई प्रतिनिधिसभा सदस्य मनकुमारी केसी, डा. सूर्य पाठक, बागलुङ नगर उपप्रमुख सुरेन्द्र खड्का, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियार, एन्फा अध्यक्ष रामराज गुरुङ लगायत उनका समर्थक र क्रिकेट प्रेमीहरुले खादा र अबिर लगाएर सम्मान गरेका थिए ।

 केसीको सम्मानमा रिलायबल नेपाल लाईफ इन्स्योरेन्स बागलुङ शाखाले उनको जीवन बीमा गरिदिएको छ । पाँच वर्षका लागि केसीको एक लाख रुपैयाँ बराबरको जीवन बीमा कम्पनीकै तर्फबाट गरिदिएको रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स बागलुङ शाखा प्रमुख नारायण पौडेलले बताए । उनलाई क्षेत्री समाज बागलुङले पनि सम्मान गरेको छ । नगद १० हजार र सम्मानपत्रले सम्मान गरिएको क्षेत्री समाज बागलुङका सचिव सन्तोष क्षेत्रीले जानकारी दिए । केसीलाई मंगलबार नै क्रिकेट संघ म्याग्दीले समेत सम्मान गरेको छ ।

प्रकाशित: ८ फाल्गुन २०७४ ११:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App