coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘समृद्धिका लागि औद्योगिक विकास आवश्यक’

मकवानपुर – प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले देश र जनताको समृद्धिका लागि व्यापक रुपमा औद्योगिकरण आवश्यक रहेको बताएका छन्। प्रदेशको प्राथमिकता नै उद्योग स्थापना र सञ्चालन भएको बताउँदै उनले उद्योग सम्बन्धी गलत नीति परिमार्जन गरिने बताए।

तुखबर डटकमको प्रथम बार्षिकोत्सवको हेटौंडामा मंगलबार उद्घाटन पछि उनले उद्योगमा लगानी भित्र्याउन ऐन, कानुन संशोधन गर्न आफूहरु तयार रहेको बताए। ‘व्यापक रुपमा औद्योगिकरण नगरिकन समृद्धि सम्भव छैन,’ उनले थपे, ‘उद्योग हाम्रो प्राथमिकता हो, यो प्रदेशको प्राथमिकता हो।’ २ दशकदेखि मकवानपुरलाई औद्योगिक जिल्ला घोषणा गर्न माग गरिरहेको बताउँदै उनले भने, ‘प्रदेशबाट उद्योगहरु बिस्तापित हुने क्रमलाई रोक्ने, नयाँ उद्योग ल्याउने र लगानीलाई आकर्षित गर्ने हाम्रो मूल एजेण्डा हो, त्यसो नभए समृद्धीको नारा कोरा नारामा सिमित हुन्छ।’ 

उद्योग नीति गलत भएका कारण उद्योगहरु प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको बताउँदै मुख्यमन्त्री पौडेलले निती सहि बनाएपछि उद्योगहरुको तिब्र रुपमा बिकास हुने तर्क गरे। नेपाल सरकारको उद्योगले उत्पादन गरेको पदार्थ नै सरकारी कर्मचारीले प्रयोग नगरेकोमा आक्रोश व्यक्त गर्दै उनले प्रतिप्रश्न गरे, ‘अनि कसरी उद्योग चल्छ ? कसरी बाहिर प्रतिष्पर्धामा जान्छ ?’

बिदेशबाट कच्चा पदार्थ ल्याउँदा तिर्नुपर्ने शुल्क र आयातित तयारी कपडाको मुल्य समान जस्तै रहेको भन्दै उनले उत्पादन मुल्य बढीपर्ने लगाएतका समस्याहरु समाधान गर्न आफुहरु तयार रहेको बताए। उद्योगहरु स्थापना गर्न लगानी भित्र्याउनका निमित्त त्रुटीहरु, कमजोरीहरु, गलत नीति नियमहरु र ऐन, कानुनहरु प्रदेश सरकारले संशोधन गर्ने उनको भनाई छ।

‘प्रदेश सरकार चल्न ऐन, कानुन केही पछि छैन, कहाँबाट काम शुरु गर्ने ?’, उनले आफ्नै समस्या सुनाउँदै भने, ‘अत्याबश्यक ५०–६० वटा ऐन, कानुन फास्ट ट्रयाकबाट बनाएपनि अबको २–३ महिना लाग्छ।’ त्यसपछि प्रदेश सरकारको विकास निर्माणको कामले गति लिने भन्दै उनले जनताले अनुभुती हुने र देखिने गरि काम गर्नेमा शंका नगर्न आग्रह गरे। देशलाई विकशित र समृद्ध बनाउन पत्रकारिता क्षेत्रको भुमिका महत्वपूर्ण रहेको भन्दै उनले पत्रकारहरुलाई पार्टी, व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर निष्पक्ष, सकारात्मक र रचनात्मकपूर्वक कलम चलाउन आग्रह गरे। ‘तपाईहरु(पत्रकार) हाम्रो पथप्रदर्शक हो, राम्रो कामको सही ढंगले लेख्नुहोस्, गलत काम गरेको छ भने औला देखाउँनुहोस्।’

आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले औद्योगिक क्षेत्रका लागि पूर्ण शान्ति, सुरक्षा दिने बताए। उद्योगले असर पुग्ने काम गरे सुनुवाई गर्न तयार रहेको बताउँदै  उनले चेतावनी दिदै भने, ‘समिति बनाएर उद्योग, खानी रोक्न खोजे, बखेडा झिके मान्य हुन्न।’

राजनीतिक स्थायित्व बिना बिकास सम्भव नरहेको तर धेरैपटक आन्दोलन र राज्य ब्यवस्था परिवर्तनमै समय खेर गएको भन्दै उनले अब ढिला गर्न नहुने बताए। राष्ट्रियता, विकास र समृद्धिको पक्षमा सकारात्मक सन्देश सम्प्रेषण गर्नुपर्नेमा जोड दिँदै उनले अहिलेको परिवर्तन विरुद्ध नयाँ जनमत बनिरहेकोमा चिन्ता व्यक्त गरे। नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा माओवादी र मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीतर्फ लक्षित गर्दै उनले कटाक्ष गरे। कर्मचारी तन्त्र, सुरक्षा निकाय र केही दलहरु समेत संघीयताको बिरुद्धमा रहेको भन्दै आक्रोशित हुँदै उनले भने, ‘परवेज मुसरफ(पाकिस्तानका शैनिक शासक) जस्तो शासन ल्याउने हो?’ संघीयता कार्यान्वयन नहुँदै आर्थिक स्रोतले धान्न नसक्ने भनेर नकारात्मक मात्र प्रचार भइरहेको भन्दै उनले संघीयता समावेशी र समृद्धिको मूल भएकाले टिकाउनैपर्ने जिकिर गरे।

३ नम्बर प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले सरकारको गर्ने विकासको काममा आफूहरुले सक्दो सहयोग गर्ने बताए। सरकारको गलत कदमको मात्र बिरोध गर्ने बताउँदै उनले प्रतिपक्षी भएपनि राम्रो कामको स्वागत र सहयोग गर्दै लोकतान्त्रिक भुमिका निभाउने उनले बताए। वडा कार्यालय र अध्यक्षसँग समन्वय नगरी उद्योग, खानी सञ्चालनमा समितिहरु गठन गरेर अबरोध गर्ने कार्य भईरहेको भन्दै त्यस्ता कार्य तत्काल रोक्न उनले मुख्यमन्त्रीको ध्यानाकर्षण गराए।

भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, मकवानपुर उद्योग संघका अध्यक्ष कृष्ण कटुवाल, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष कुमार अधिकारी, मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोइराला लगायतको आतिथ्य रहेको कार्यक्रममा पत्रकारहरु स्वागत नेपाल र शिव चौलागाईलाई नगद पुरस्कारसहित सम्मान पनि गरिएको थियो।

यसैबीच, मकवानपुरका उद्योगी, व्यवसायीहरुले मुख्यमन्त्री डोरमणी पौडेललाई उद्योग क्षेत्रका समस्या समाधान गर्दै नयाँ उद्योगलाई ५ वर्षसम्म कर छुट दिन माग गरेका छन्। उद्योग संघ मकवानपुरले सोमबार साँझ मुख्यमन्त्री र मन्त्रीहरुको स्वागत् सम्मान गर्दै उद्योग दर्ता र नविकरण एकद्वार प्रणालीबाट गर्न अनुरोध गर्दै कच्चा पदार्थ आयातमा छुटको व्यबस्था गर्न पनि आग्रह गरेको छ। 

प्रकाशित: ८ फाल्गुन २०७४ ०९:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App