७ वैशाख २०८१ शुक्रबार
अर्थ

भाडाको इन्जिनजडित जहाज मंगलबारबाट उड्ने

काठमाडौं – भाडामा लिएको एकथान इन्जिन जडान भएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा एयरबस जहाजले मंगलबार रातिबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०–२००’ सिरिजको उक्त जहाजको बायाँ इन्जिन सोमबार सिंगापुरमा जडान गरिएको हो । मंगलबार बिहान वा दिउँसो एक पटक ‘ह्यान्डलिङ’ उडान गरेपछि जहाज सिधै काठमाडौं आउने तालिका छ।

‘भाडामा लिइएको इन्जिन जडान भएको छ र जहाज मंगलबार साँझ काठमाडौं आउने छ,’ निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले सोमबार नागरिकसँग भने, ‘जहाज काठमाडौं ओर्लिएलगत्तै मध्यरातमा मलेसियाको क्वालालम्पुर उडान गर्ने तयारी छ।’

कंसाकारका अनुसार भाडाको इन्जिन जडान भएपछि जहाजमा भएको इन्जिन मर्मतका लागि न्युजिल्यान्ड लगिने छ । फागुन १५ मा इन्जिन मर्मत मिति प्राप्त भएको छ । इन्जिन निर्माता कम्पनी तथा अहिले एकथान इन्जिन भाडामा दिएको अमेरिकी कम्पनी ‘इन्टरनेसनल एरो इन्जिन’ (आइएई) ले बिग्रिएको इन्जिन बोकेर न्युजिल्यान्ड लाने छ।

सम्बद्ध अर्का एक अधिकारीका अनुसार मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण, वायुसेवा निगम र सिंगापुर उड्डयन प्राधिकरणका अधिकारीबीच मंगलबार बस्ने बैठकले उक्त जहाजको ह्यान्डलिङ उडानबारे निर्णय गर्ने छ।
‘ह्यान्डलिङ उडान गरेपछि हाम्रो जहाज बिनायात्रु सिंगापुरबाट सिधै काठमाडौं आउने तालिका छ,’ ती अधिकारीले भने, ‘हाम्रो बिग्रिएको इन्जिन न्युजिल्यान्ड लैजान सोमबारै बुकिङ भएको छ।’

निगमले दुई महिनादेखि भारतको नयाँदिल्लीमा थन्किएको उक्त जहाज उडाउन अमेरिकाको आइएईसँग एकथान इन्जिन भाडामा लिने निर्णय गत माघ पहिलो साता गरेको थियो । यसका लागि निगमले महिनाको १ लाख ५० हजार अमेरिकी डलर (१ करोड ५० लाख रुपैयाँ) तिर्ने सम्झौता गरेको छ । निगमले चार महिनासम्म भाडाको इन्जिन प्रयोग गर्ने छ।

निगमले २०७१ माघ २५ गते युरोपको एयरबससँग खरिद गरी ल्याएको ए३२० सिरिजको उक्त जहाज गत पुस १० देखि दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ थियो । त्यहाँबाट इन्जिन फेर्न जहाजलाई सिंगापुर लगिएको थियो।

निगमलाई एकथान इन्जिन भाडामा दिन अमेरिका र युरोपका दुई कम्पनीले प्रस्ताव पेस गरेका थिए । एउटा अमेरिकाको आइएई र अर्को इन्जिन मर्मत गर्ने जर्मनीको एमटियु नामको कम्पनी थिए । तीमध्ये आइएईको प्रस्ताव सस्तो भएका कारण निगमले आइएई रोजेको थियो । हाल सिंगापुरमा रहेको जहाजमा यही आइएईकै इन्जिन छन् । अर्को कम्पनी एमटियुले भने मासिक १ लाख ५७ हजार ५ सय डलर (१ करोड ५७ लाख ५० हजार रुपैयाँ) प्रस्ताव गरेको थियो।

उक्त जहाजको बायाँ इन्जिनले पूर्णरूपमा काम गर्न छाडेपछि नयाँ वा ‘सेकेन्ड ह्यान्ड’ इन्जिन फेर्ने, त्यसैलाई मर्मत गर्ने र भाडामा लिने विकल्प निगमसँग थिए । नयाँ इन्जिन खरिद गर्नुपरे १ अर्बभन्दा बढी र सेकेन्ड ह्यान्ड लिए ६० करोड रुपैयाँहाराहारी पर्ने भएपछि निगम व्यवस्थापनको भाडामा लिने विकल्पलाई निगम सञ्चालक समितिले अनुमोदन गरेको थियो । दुई महिनादेखि जहाज ग्राउन्डेड हुँदा निगमले करोडौं आम्दानी गुमाइरहेको छ।

निगमका अनुसार बिग्रिएको इन्जिन आइएईले नै मर्मत गरिदिने सहमति समेत भएको छ । इन्जिन मर्मत गर्न चार महिनाजति लाग्ने अनुमान छ । उक्त इन्जिन मर्मत गर्न १÷२ करोडदेखि ५÷६ करोड रुपैयाँ कति खर्च लाग्छ अहिले यकिन गर्न सकिँदैन, मर्मतपछि मात्र थाहा हुन्छ।

कलसाइन ‘९एन–एकेडब्लु’ भएको निगमको ए३२० जहाज नियमित तालिकाअनुसार पुस १० गते भारतको नयाँदिल्ली गएको थियो । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि जहाजको बायाँ इन्जिनमा समस्या उत्पन्न भएको थियो । निगमका इन्जिनियरहरूले धेरै प्रयास गर्दा पनि काम नगरेपछि इन्जिन फेर्नैपर्ने निष्कर्ष निस्किएको थियो।

सम्बद्ध अधिकारीका अनुसार निगमसँग रहेका दुइटै ए३२० जहाजमा अमेरिकी इन्जिन निर्माता कम्पनी आइएईका चारथान इन्जिन छन् । जहाज एयरबसले निर्माण गरे पनि इन्जिन आइएईका हुन् । जहाज खरिद गर्दा जति मूल्य पर्छ, त्यसको ८० प्रतिशत हिस्सा दुईथान इन्जिनले ओगट्ने गर्छ।

दिल्लीमा ग्राउन्डेड जहाजका दुईथान इन्जिनको ‘वारेन्टी’ अवधि पनि समाप्त भइसकेको छ । त्यसको वारेन्टी अवधि ७ हजार घन्टा उडान समयबराबर थियो । वारेन्टी बाँकी भएको भए आइएईले मर्मत गरेर तोकिएको समयमै दिन्थ्यो।

निगमसँग अन्तर्राष्ट्रिय उडान गर्न अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित १ सय ९० सिट क्षमताको ‘बि७५७–२००’ सिरिजको एकथान तथा दुईथान ए३२० जहाज छन् । तीन जहाजबाट निगमले भारत, कतार, थाइल्यान्ड, मलेसिया, युएई र हङकङका आठ गन्तव्यमा उडान गरिरहेको छ।

उसले भारतका नयाँदिल्लीका लागि सातामा सात, मुम्बई र बैंगलोर तीन–तीन तथा युएईको दुबईका लागि सातामा चार उडान गरिरहेको छ । त्यसैगरी कतारको दोहा, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, र हङकङ प्रत्येक गन्तव्यका लागि सातामा तीन–तीन उडान गरिरहेको छ । एकथान ए३२० थन्किएपछि निगमले केही गन्तव्यका उडान संख्या कटौती गरेको छ।

प्रकाशित: ८ फाल्गुन २०७४ ०३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App