coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कुन्छालको गोपाली बस्तीमा पर्यटकको चाप

मकवानपुरको कुन्छाल गाउँ। तस्बिर/नागरिक

काठमाडौं – मकवानपुरको कुन्छाल गाउँमा शनिबार साँझ मौलिक लाखे नाचको दृश्य पर्यटकको लागि थकान मेटाउने कोसेली बन्यो । यस्तै, यहाँको गोपाली जातिको मौलिक संस्कृति र परम्परागत स्वागतले पर्यटकहरु प्रफुलित हुने नै भए । काठमाडौंबाट ग्रामीण पर्यटन प्रवद्र्धनका लागि कुन्छाल पुगेका पर्यटकका लागि यहाँको सांस्कृतिक नृत्यले सहजै मन जितेको थियो।

नेपाल पर्यटन बोर्डले सन् २०११ मा पर्यटकीय गन्तव्यको रुपमा अघि सारेको कुन्छाल गाउँमा दुई सय घर गोपाली जाति छन् । यस गाउँमा शनिबार स्थानीय कलाकार, महिला बालबालिकादेखि शिक्षक हुँदै थाहा नगरपालिकाका मेयर लभेश्वर विष्टसमेत पर्यटकको स्वागतमा जुटेका थिए।  

गाउँ पर्यटन प्रवद्र्धन मञ्चले (भिटोफ) ‘गाउँमा पर्यटन विकासको लहर, आर्थिक उन्नतिको मुहार’ भन्ने नारा सहित मकवानपुरको थाहा नगरपालिका–१ कुन्छाल गाउँमा ग्रामीण पर्यटनको विषयमा छलफल तथा भ्रमण तय गरेका थिए । ग्रामीण पर्यटन प्रवद्र्धनका लागि गरिएको उक्त कार्यक्रममा देखिएको दृश्य हो।

कुन्छाल गाउँका गोपाली जातिको मौलिक कला संस्कृति, उनीहरुको पहिचानसँग जोडिएको बस्ती र परिवेश  अवलोकन गर्न आउनेको संख्या बढेको थाहा नगरपालिकाका मेयर विष्ट बताउँछन् । ‘कुन्छाल आफैंमा मौलिक तथा सांस्कृतिक गाउँ भएकाले पर्यटकीय गन्तव्य हो । यस गाउँको प्रवद्र्धन जसरी हुनुपर्ने हो, त्यो हुन सकेको छैन,’ उनले भने, ‘कुन्छाल स्वदेशी मात्रै होइन विदेशी पर्यटकको आकर्षक गन्तव्य हो । यहाँको परिवेश मौलिक छ । यसका लागि पर्यटनसँग सम्बन्धित संस्थासँग समन्वय गरेर काम गर्नेछु।’

‘कुन्छाल गाउँ अन्य ठाउँभन्दा फरक छ । यहाँका घरहरु एकै प्रकारका छन् । यहाँ गोपाली जातिको मौलिक पहिचानसँग जोडिएको घरहरु छन्,’ भिटोफका अध्यक्ष राम सापकोटाले भने, ‘ग्रामीण पर्यटनको विकास भएमात्रै नेपालको पर्यटन प्रवद्र्धन हुन सक्छ।’

कुन्छाल गाउँमा होमस्टेको विषयमा छलफल भएको थियो । ‘होमस्टे घरमै बसेर डलर आम्दानी गर्ने अवसर हो । कुन्छालमा यो अवसरको सुरुवात भएको छ । यो गाउँलाई पर्यटकीय गाउँ बनाउने अभियानमा जुटेको छु,’ अध्यक्ष सापकोटाले भने । उनका अनुसार पर्यटनको माध्यमबाट ग्रामीण जीवनस्तर उकास्न सकिन्छ । विश्व पर्यटन दिवसको अवसरमा भिटोफले कुन्छाल गाउँलाई पर्यटन गन्तव्यको रुपमा घोषणा समेत गरेको छ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल (टान)का अध्यक्ष नवराज दाहालले कुन्छाल पर्यटकीय सम्भावना बोकेको नमुना गाउँ भएको बताए । इतिहास, प्राकृतिक सुन्दरता, सांस्कृतिक प्रतिबिम्बका कारण कुन्छाल आफैंमा पर्यटकीय गाउँ रहेको दाहालको भनाइ छ।

कुन्छाल गाउँ होमस्टे समितिका अध्यक्ष सानुकाजी गोपालीले कुन्छाल गाउँमा अर्गानिक खेतीको साथै स्थानीय तहमा नै बजार व्यवस्थापन भएको बताए । गोपालीहरुको मौलिक सांस्कृतिक परम्परा र पहिचान भएका कारण कुन्छाल आफैंमा उत्कृष्ट ग्रामीण पर्यटन स्थल भएको गोपालीको भनाइ छ।

भिटोफ नेपालले प्रत्येक वर्ष तीन गाउँलाई पर्यटकीय गाउँ घोषणा गर्दै आएको छ । साथै त्यस्ता पर्यटकीय गाउँहरुलाई प्रवद्र्धन गर्दै प्याकेज समेत भिटोफले बनाएर प्रवद्र्धन गर्ने गरेका छन् ।



 

प्रकाशित: ८ फाल्गुन २०७४ ०२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App