७ वैशाख २०८१ शुक्रबार
खेल

नेपोली पुनः शीर्षमा

इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबार एसपिएएलविरुद्ध गोल गरेपछि नेपोलीका एलान (बायाँ)। तस्बिर/ एपी

मिलान – नेपोली आइतबार एसपिएएललाई १–० ले पराजित गर्दैै इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा युभेन्ट्सलाई विस्थापन गर्दै फर्किन सफल भएको छ । यसअघि शनिबार एलेक्स सान्ड्रोको गोलप्रेरित साबिक विजेता युभेन्ट्स टोरिनोमाथि १–० को अवे जित हासिल गर्दै शीर्ष स्थानमा उक्लिएको थियो।

गत साता सम्पन्न युरोपा लिग अन्तिम ३२ को पहिलो लेगमा जर्मन क्लब आरबी लिपजिगलाई ३–१ को नतिजा सुम्पिएको नेपोलीले आइबातर घरेलु सान पाउलो रंगशालामा हात पारेको जितपछि उक्त हारको चोटमा मलम लगाएको छ।

‘युरोपा लिगको हारपछि पनि टोली स्वाभाविक लयमा फर्कनेमा म आशावादी थिएँ,’ नेपोलीका प्रशिक्षक माउरिसियो सारीले भने, ‘तर हामीले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा साँघुरो जितमा चित्त बुझाउनुप¥यो।’

खेलको छैटौं मिनेटमा एलानले गरेको गोलमा नेपोलीले लिएको अग्रता टोलीलाई स्पष्ट तीन अंक जोड्दै शीर्ष स्थानमा पुनरागमन गर्न पर्याप्त बन्यो । एलानले जोस मारिया कालेजोनको पासलाई पोस्टको दिशा दिएका थिए।

यस जितपछि २५ खेलको समाप्तिमा ६६ अंक जोडेको नेपोली शीर्ष स्थानमा फर्किंदा युभेन्ट्स (६५) दोस्रो स्थानमा झरेको छ । समान खेलमा १७ अंक जोडेको एसपिएएल १८औं स्थानमा छ । त्यस्तै आइतबार सम्पन्न अर्को खेलमा एसी मिलानले साम्पडोरियालाई १–० को नतिजामा हराएको छ।

खेलको साताैं मिनेटमा रिकार्डो रोड्रिग्वेजले पेनाल्टी खेर फाल्दा खाता खोल्ने अवसर गुमाएको मिलानका लागि त्यसको ६ मिनेटपछि जियानकोमो बोनाभेन्टुराले गोल गर्दै अग्रता दिलाएका थिए । साम्पडोरियाका निकोला मर्रोले पेनाल्टी बक्समा हातले बल छोएपछि मिलानले पेनाल्टीको अवसर पाएको थियो।

मध्यन्तरअघिको अन्तिम मिनेटमा लियोनार्दो बोनुचीले गोल गर्दै मिलानको अग्रता दोब्बर पारे पनि सहायक रेफ्रीले अफसाइडको झन्डा उठाएपछि उक्त गोल अमान्य भएको थियो।

यस जितपछि २५ खेलमा ४१ अंक जोडेको मिलान सातौं स्थानमा यथावत् छ । समान अंक भए पनि गोलभिन्नतामा माथि रहेको साम्पडोरिया छैटौं स्थानमा छ।

इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबारै सम्पन्न अन्य खेलमा बेनोभेन्टोले क्रोटोनीलाई ३–२ ले पराजित गर्दा बोलोग्नाले सासौलोविरुद्ध २–१ को विजयी नतिजा निकाल्यो । त्यस्तै एट्लान्टा र फियोरेन्टिनाले १–१ को बराबरी खेले।
 

प्रकाशित: ८ फाल्गुन २०७४ ०१:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App