coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राजधानी माग्दै निरन्तर धर्ना

डोटी – निजामती सेवाबाट निवृत्त दिपायलका अनन्तबहादुर कठायत करिब दुई महिनायता दिनहुँ क्षेत्रीय प्रशासन कार्यालय दिपायल धाउँदैछन् । युवा उमेर सरकारी सेवामा बिताएका उनी अहिले सरकाको विपक्षमा छन् । पहिले आम्दानीका लागि सरकारी कार्यालय धाउने उनी अहिले राजधानी माग्दै  धर्ना दिइरहेका छन्।

‘मेरो दैनिकीको महत्वपूर्ण काम नै धर्ना बनेको छ,’ उनले नागरिकसँग भने, ‘मैले न्यायको माग गर्दै सरकारको विपक्षमा उभिएर भैरहेको लडाइँमा आपूmलाई पुरापुर समाहित गरेको छु।’

उनको जस्तै दैनिकी नेकपा माओवादी केन्द्रका स्थानीय नेता तेजबहादुर डुम्रेलको पनि छ । उनी प्रत्येक दिन धर्नामा समावेश हुन छुटाउँदैनन् । दिपायलमा होटल व्यवसाय सञ्चालन गरिरहेका उनी होटल बन्द गरेर धर्नामा पुग्छन् । ‘दिपायल नै राजधानी कायम हुनुपर्छ भन्ने हाम्रो अहिलेको सबैभन्दा ठूलो माग हो,’ उनी भन्छन्, ‘त्यसका लागि दिनमा दुईचार घण्टा त निकाल्नै प¥यो नि।’

प्रदेश ७ को राजधानी दिपायल माग्दै डोटीमा ५५ दिनदेखि आन्दोलन भैरहेको छ । सरकारले माघ ३ गते धनगढीलाई अस्थायी मुकाम तोकेपछि केही दिन ठूलो तनाव भएको थियो । त्यसपछि माघ २४ गतेको राष्ट्रियसभा निर्वाचनलाई ध्यानमा राखेर माघ ७ गतेबाट संघर्ष समितिले आन्दोलनको रूप फेरेको थियो । त्यसयता क्षेत्रीय प्रशासन कार्यालय दिपायल र जिल्ला प्रशासन कार्यालय सिलगढीमा निरन्तर धर्ना भैरहेको छ।

धर्नामा दैनिक रूपमा डोटीका स्थानीय तह, नागरिक संघसंस्था, राजनीतिक दलहरूलाई ‘डायल सिस्टम’ अनुसार पालो दिइएको छ । आफ्नो पालो परेको दिनमा सम्बन्धित निकायले नेतृत्व गर्दै धर्ना दिँदै आएका छन् । यसमा स्थानीयले समेत सहभागिता जनाउँछन्।

लगातार आन्दोलनका गतिविधि सञ्चालन भैरहँदा सरकारका पक्षबाट भने कुनै किसिमको सुनुवाइ भने भएको छैन । यद्यपी आन्दोलनकारी भने आन्दोलन रोक्ने पक्षमा देखिँदैनन् । ‘धर्ना हाम्रो सांकेतिक आन्दोलन मात्रै हो,’ धर्ना कार्यक्रममा सहभागी हुँदै आएका शिखर नगरपालिकाका प्रमुख सीताराम जोशी भन्छन्, ‘सरकारले ढिलोचाँडो भए पनि हाम्रो आवाज सुन्नेमा हामी विश्वस्त छौं । हाम्रो जाहेज आवाज सरकारले सजिलै सुन्नुपर्छ।’

धर्ना आन्दोलनको सांकेतिक हतियार रहेको संघर्ष समितिका संयोजक नरेन्द्र खड्का बताउछन् । ‘धर्नाले हाम्रो आन्दोलनको निरन्तरताको संकेत गर्छ,’ उनी भन्छन्, ‘यो संकेत मात्रै हो । आशा छ सरकारले संकेतबाटै बुझोस् । नत्र चरम अवस्थामा पनि जान सक्छाैं।’

रचनात्मक आन्दोलन
सरकारले अस्थायी मुकाम धनगढी तोक्दा आक्रोशित भएका आन्दोलनकारीहरू पछिल्लो समय संयमित हुँदै दबाब र रचनात्मक समेत बनेका छन् । राष्ट्रियसभामा सहभागी हुन आउने प्रदेश सांसद तथा जनप्रतिनिधिलाई भव्य स्वागतसहित आफ्ना माग राखेका थिए । माघ २८ गतेदेखि दिपायलमा सञ्चालन भैरहेको ‘७ नम्बर प्रादेशिक महोत्सव’लाई पनि राजधानीको दबाबमूलक अभियानकै रूपमा आयोजना भैरहेको छ।

यसमा व्यापक हस्ताक्षर संकलन अभियान भैरहेको छ । समापन कार्यक्रममा प्रमुख अथितिका रूपमा ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई निम्ता गरिएको छ । उनी आउने पक्का भैसकेको आयोजकले जनाएको छ । आन्दोलनका सहयात्री भएकाले भट्टबाट आन्दोलनकारीले ठूलै अपेक्षासमेत गरेका छन्।

‘उहाँ हाम्रै जिल्लाको र हामीसँगै आन्दोलन गरेको नेता हो । उहाँले दिपायलका पक्षमा माहोल मिलाउनुहुनेछ भन्ने अपेक्षा पनि छ,’ नेपाली कांग्रेस डोटीका सभापति प्रदीप देउवाले भने, ‘उहाँले यो मौकालाई कसरी लिनुहुन्छ र माहोल मिलाउनुहुन्छ हेर्न बाँकी छ।’

 

 

प्रकाशित: ८ फाल्गुन २०७४ ००:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App