भैरहवा – नयाँ शक्ति पार्टी नेपालको चौंथो संघिय परिषद् बैठक लम्बिनीमा बस्ने भएको छ। बैठकले पार्टीको वर्तमान अवस्थाबारे समिक्षा गर्नुका साथै भावी रणनीति र कार्यदिशा स्पष्ट तय गर्ने जनाइएको छ।
बैठक फागुन ९ गतेदेखि ११ गतेसम्म चल्ने नयाँ शक्तिका पाँच नम्बर प्रदेश इन्चार्ज कर्णध्वज केसीले बताए। नयाँ शक्ति पार्टीलाई बैकल्पिक राजनीतिक शक्तिका रुपमा कसरी स्थापित गर्ने भन्ने विषयमा छलफल हुने र सोही अनुरुप पार्टीको खाका कोरिने उनले बताए।
देशमा नयाँ राजनीतिक प्रणालिको विकास गर्दै समावेसी, समानुपातिक लोकतन्त्र र समुन्नत समाजबादमा आधारीत संघियताका लागि बैठकबाट उत्कृष्ट कार्यदिशा तय गरिने पार्टीका प्रदेश संयोजक दानबहादुर चौधरीले बताए। यसअघि कास्कीमा बसेको केन्द्रीय परिषद बैठकको अप्रेशन बैठकको रुपमा संघिय परिषद बैठक बस्न लागेको पार्टीका पाँच नम्बर संगठन बिभाग प्रमुख यज्ञ पोख्रेलले बताए। बैठकले महाधिवेशनको मिति तोक्ने पनि बताइएको छ।
बैठकमा १२ सय बढीप्रतिनिधि पर्यवेक्षकहरु सहभागी हुने पार्टीका केन्द्रिय परिषद सदस्य मनिकर कार्कीले जनाए। पार्टी अध्यक्ष बाबुराम भट्टराइले बैठकको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
प्रकाशित: ७ फाल्गुन २०७४ १३:४८ सोमबार