७ वैशाख २०८१ शुक्रबार
राजनीति

मन्त्रिपरिषद विस्तारमा अन्यौल

कास्की- प्रदेशमा बाँकी रहेका मन्त्रालयको पूर्णताबारे अन्यौल कायमै रहेको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फागुन ४ गते ४ सदस्यीय मन्त्रीपरिषद विस्तार गरे पनि अझै मन्त्रिपरिषदले पूर्णता भएको छैन। प्रदेशमा रहने बाँकी तीन मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी छ।

अर्थ मन्त्रालयको हैसियतमा रहेको आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार र सामाजिक विकास मन्त्रालयलाई मुख्य मन्त्रीले नै हेरेका छन्। मुख्यमन्त्री गुरुङले आन्तरिक मामिला तथा कानुन, उद्योग, पर्यटन, वन तथा वातावरण, भूमि व्यवस्था तथा कृषि मन्त्रालयमा भने फागुन ४ गते नै मन्त्रीहरु नियुक्त गरेका थिए।

बाँकी रहेका मन्त्रालयमा मन्त्री राख्ने विषयमा भने ठोस छलफल नभएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । ‘मन्त्री नियुक्तीको विषयमा कुनै छलफल नभएतापनि बुधबार दोश्रो क्याबिनेट बैठक बस्ने तयारी गरिएको छ,’ उनले भने, ‘सम्भवत त्यो बैठकमा नै नियुक्ती पनि गर्न सकिन्छ।’ तर, मन्त्री नै नियुक्त गर्ने र नगर्ने भन्नेबारे यकिन नभएको उनको भनाई छ।

मन्त्री नियुक्त नभईसकेका तीनवटै मन्त्रालय एमालेका भागमा परेका छन्। प्रदेशको सबैभन्दा ठूलो संसदीय दल भएको र आकांक्षी पनि धेरै भएको उनले बताए। ‘आकांक्षी धेरै हुनु स्वभाविक नै हो, तर यसले अन्योलता सिर्जना भने गरेको छैन्,’ बस्नेतको भनाई छ।

प्रदेशमा एमालेका २७ जना प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । निर्वाचित सदस्यहरुको क्षमता, उनीहरुको राजनीतिक योगदान र वरिष्ठताको आधारमा मुख्यमन्त्रीले मन्त्रीमा नियुक्त गर्न सक्ने उनले संकेत दिए । बुधबार बस्ने क्याबिनेट बैठकको लागि मंगलबारको बैठकले एजेण्डा तयार गर्नेछ।

एमालेका प्रदेश कमिटी संयोजक किरण गुरुङले भने आफु यसबारे अनभिज्ञ रहेको बताए। ‘संसदीय दलको नेतालाई थाहा होला,’ उनले भने, ‘मन्त्रिपरिषद विस्तारको विषयमा कुनै छलफल भएको छैन्।’

अर्का प्रदेशसभा सदस्य विकास लम्सालले भने संसदको अर्को बैठकपछि मन्त्रिपरिषदले पूर्णता पाउन सक्ने बताए। उनले भने, ‘मुख्यमन्त्रीले सबैलाई मिलाएर लान खोज्नुभएको छ, सोहीकारण केही दिन ढिलाई हुनसक्छ, तर कुनै छलफल भने भएको छैन्,’ उनी पनि मन्त्रीका दाबेदार मानिन्छन्।

दोश्रो संविधानसभामा निर्वाचित लम्साल मन्त्री बन्नकै लागि प्रदेशसभामा झरेको चुनावी प्रचारका क्रममा गठबन्धनका नेताहरुले प्रचार गरेका थिए। तर लम्साल स्वयम आफुले भने मन्त्री बन्नको लागि उम्मेदवार नबनेको प्रतिक्रिया दिए।

 

प्रकाशित: ७ फाल्गुन २०७४ १२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App