coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

छुर्पीको मूल्यमा कमी आएपछि किसान मारमा

इलाम – इलाममा विगत केही महिनायता छुर्पीको मूल्यमा आएको कमीका कारण किसान मारमा परेका छन्। जापान, अमेरिकालगायत देशमा निर्यात हुने गरेको छुर्पीबाट मनग्य आम्दानी लिँदै आएका छुर्पी व्यवसायी मूल्यमा कमी आएपछि मारमा परेका हुन्। प्रतिमहिना ३ टन छुर्पी बाहिर निर्यात हुने गरेको भए पनि हाल त्यसमा कमी अएको व्यवसायीको भनाइ छ।

विगतमा व्यवसायीलाई माग पूरा गर्न धौ धौ पर्ने गरेको थियो। विगतमा प्रतिकिलो रु १ हजारमा बिक्रि हुँदै आएको छुर्पीको मूल्य अहिले रु ७०० मा झरेको सन्दकपुर गाउँपालिका–४ माबुस्थित बालकृष्ण कृषि फार्मका सञ्चालक बालकृष्ण गुरुङले बताए।

उनले भने, “लगानी डुब्ने डरले छुर्पीको उत्पादन कम गर्न थालेको छु।” संकलन गरेर लगेको छुर्पीको रु ५ लाख रकम नपाएपछि पाँच बोरा छुर्पी गोदाममा नै थन्काएर राखेको उनको भनाइ छ।

छुर्पीबाट मनग्य आम्दानी हुन थालेपछि उद्योगको संख्यामा वृद्धि भएको छ। बजारीकरणमा प्रतिष्पर्धा भएपछि व्यापारीले गुणस्तरहीन छुर्पीसमेत संकलन गरी निकासी गरेका कारण समस्या भएको हो। अहिले विगतको जस्तो माग छैन। एकदमै थोरैमात्र निकासी भइरहेको छ।

राम्रोसँग छुर्पी नसुक्दा खोक्रो हुने, कुहिने, ढुसी आउने, कुकुरले खाँदा बिरामी हुनेजस्ता समस्या भएकाले छुर्पीको माग ह्वात्तै घटेको बताइएको छ। इलामका छुर्पी अन्तर्राष्ट्रिय हिमालय डेरी उद्योग बिर्तामोड, कृष्ण डेरी उद्योग झापा, हिमालय डक च्यु कलेक्सन सेन्टर काठमाडौँ, सिल्भर लिङ्क (आइएनसी) प्रालि कलेक्सन सेन्टर काठमाडौँ र एभरेष्ट प्रोडक्सन काठमाडौँलगायतबाट निकासी हुने गरेको छ। इलाममा ५६५ वटा दुग्धजन्य डेरी, चिज उद्योग घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय इलाममा दर्ता भई सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ।  (रासस)

प्रकाशित: ७ फाल्गुन २०७४ १०:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App