coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

मेटिए जेब्राक्रस र लेन चिन्ह

उपत्यकाका सडकमा न राम्रोसँग जेब्राक्रस चिह्न देखिन्छ, न त स्पष्टसँग लेन चिन्ह नै । मेटिएर मधुरो भएका जेब्राक्रस र लेन चिह्नका कारण पैदलयात्रु मात्र होइन, सवारीचालक समेत झुक्किने गरेका छन् ।

ट्राफिक चिह्न नहुँदा झुक्किएरै सवारी दुर्घटना समेत हुने गरेको छ । सडकमा बनाइएका यस्ता चिन्ह मेटिएको महिनौँ भइसक्दा समेत जिम्मेवार सरकारी निकायले मर्मतसम्भार भने गरेको छैन । यसले ट्राफिक व्यवस्थापनमा समेत समस्या उत्पन्न गरेको छ ।

कोटेश्वर, तीनकुने, बानेश्वर, माइतीघर, सिंहदरबार, थापाथली, सहिदगेट, सुन्धारा, एयरपोर्ट, चावहिल, गौशाला, कमलपोखरी, बत्तीसपुतली, कलंकीलगायत क्षेत्रमा अहिले जेब्राक्रस र लेन चिह्न खुइलिसकेका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गत वर्ष उपत्यकाभित्र चार हजार पाँच सय ६४ सडक दुर्घटनामा एक सय ४८ जनाको ज्यान गएको थियो । त्यसमध्ये ४३ प्रतिशत पैदलयात्रु थिए । महाशाखाका अनुसार उपत्यकामा लेन मिच्नेको संख्या दैनिक तीन सयभन्दा बढी हुने गर्छ ।बालकोट–कलंकी रुटमा माइक्रोबस चलाउने हरि सुवेदी जेब्राक्रस स्पष्ट नहुँदा सवारीसाधन गुडाउन मुस्किल परिरहेको बताउँछन् । ‘सडकभर खाल्डाखुल्डीका एम्बुस छन्, त्यसमाथि जेब्राक्रस खुइलिएर केही देखिँदैन,’ उनले भने, ‘ट्राफिकले कारबाही मात्रै गरेर हुन्छ ? जेब्राक्रस र लेन देखिने चिह्न बनाउनुपर्दैन ?’

आइतबार कोटेश्वर चोकमा भेटिएका पैदलयात्रु विवेक केसीले जेब्राक्रस खुइलिँदा पैदलयात्रु जोखिम मोलेर बाटो काट्न बाध्य भएको बताए । जेब्राक्रस नदेखेर चालकले तीव्र गतिमा सवारीसाधन हुइक्याउँदा पैदलयात्रुलाई सडक पार गर्न समस्या भएको उनको गुनासो छ । ‘जेब्रा क्रसमा हिँड्न पाउनु पैदलयात्रुको अधिकार हो,’ उनले भने, ‘यहाँ त जेब्राक्रस नै मेटिएपछि कसरी बाटो काट्नु ?’

महालेखापरीक्षकको ५४औँ प्रतिवेदनमा उपत्यकाका भित्री सडकमा ‘रोड मार्किङ’ नहुँदा ४६ स्थानमा तत्काल ‘मार्किङ’ गर्न र जेब्राक्रसिङ मेटिएको स्थानमा पुनः बनाउन सुझाव दिइएको छ । प्रतिवेदनमा काठमाडौंका एक सय ४५, ललितपुरका २१ र भक्तपुरका १२ नयाँ स्थानमा जेब्रा क्रसिङ तथा बढी यात्रु आवतजावत हुने क्षेत्रका सडक किनारामा रेलिङ लगाउनुपर्ने सुझाव दिइएको छ ।उपत्यका चल्ने सवारीचालक लेन मेटिएकैले कारबाहीमा परेको दाबी गर्छन् । ‘लेन नै मेटिएको सडकमा लेन मिच्यो भनेर ट्राफिकले कारबाही गर्छन,’ चक्रपथ रुटका चालक दिपेश शाक्यले भने, ‘लेन चिह्नचाहिँ नबाउने, कारबाही मात्रै गर्ने ?’

यातायात अधिकारकर्मी राम थापा सडक विभागले कमसल रङ प्रयोग गरेकाले जेब्राक्रस र लेन चिह्न लामो समय नटिकेको बताउँछन् । ‘सडक विभागले कमसल खालको पेन्ट प्रयोग गरेरै चिह्न कम समय टिकेको हो,’ उनले भने, ‘कमिसनको खेलकै कारण कमसल खालको पेन्ट प्रयोग गर्ने देखिन्छ ।’
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारले सडकमा आवश्यक पर्ने पूर्वाधार नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या आएको बताए । ‘जेब्राक्रस तथा लेन नियमित मर्मतसम्भार गर्नुपर्ने हुन्छ, यहाँ मर्मतसम्भार गरिदिनुप¥यो भनेर पटक–पटक सडक विभागलाई गुहार्नुपर्ने अवस्था छ,’ उनले भने, ‘व्यवस्थित पूर्वाधार नहुँदा कहिलेकाहीँ चालक र ट्राफिक प्रहरीबीच कारबाहीको विषयमा विवाद हुने गरेको छ ।’

जेब्राक्रसमा पैदलयात्रुलाई पहिलो प्राथमिकता दिनुपर्ने विश्वव्यापी चलन हो । नेपालमा भने जेब्राक्रसमै पैदलयात्रु मारिने गरेका छन् । भएका जेब्राक्रस समेत समयमा मर्मतसम्भार नगर्दा खुइलिइएका छन् ।
‘उपत्यकाका सडक भताभुंग छन्, जेब्राक्रस तथा लेन चिह्न भेट्नै मुस्किल पर्छ,’ उनले भने, ‘सडक विभागले कमसल खालको पेन्टको प्रयोग गरेकाले नै जेब्राक्रस छिटै खुइलिने गर्छ, त्यसैले अब स्तरीय पेन्टको प्रयोग गर्नुपर्छ ।’

मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक शिवहरि सापकोटा सवारीसाधनको अत्यधिक चाप हुने सडकमा जेब्राक्रस लामो समय नटिक्ने बताउँछन् । ‘धेरै सवारी गुड्ने सडकमा जेब्राक्रस तथा लेन चिह्न लामो समय टिक्दैन, उपत्यकाका सडकमा अत्यधिक मात्रामा धुलो र बालुवा भएकाले पनि समस्या आएको हो,’ उनले भने ।

उनका अनुसार राजमार्गमा वर्षमा एकपटक र सहरी सडकमा वर्षको दुईपटक रङ लगाउँदै आएको बताए । ‘उपत्यकाका ठूला सडकमा मेटिएका जेब्राक्रस, लेन तथा सडक फर्निचर बनाउन सडक डिभिजन कार्यालय, काठमाडौं १ र २ लाई ताकेता गरिसकेका छौँ,’ उनले भने, ‘अबको केही दिनभित्रै बन्नेछ ।’

प्रकाशित: ७ फाल्गुन २०७४ ०६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App