७ वैशाख २०८१ शुक्रबार
अर्थ

२५ मेगावाटको म्याग्दी आयोजनालाई लगानी जुट्यो

काठमाडौं – म्याग्दी जिल्लामा निर्माण हुने २५ मेगावाट क्षमताको म्यादी खोला जलविद्युत् आयोजनालाई तीन अर्ब रुपैयाँभन्दा बढी ऋण लगानी जुटेको छ।

धौलागिरी कालिका हाइड्रो लिमिटेडको नेतृत्वमा बन्न लागेको यो आयोजनामा आधा दर्जन बैंक तथा वित्तीय संस्था ऋण लगानी गर्न तयार भएका हुन् । वित्तीय संस्थाको नेतृत्वकर्ता सानिमा बैंक लिमिटेड र धौलागिरी कालिकाबीच ऋण लगानी सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंक तथा वित्तीय संस्थाले आयोजना निर्माणका लागि तीन अर्ब १० करोड रुपैयाँ ऋण लगानी गर्ने छन् । यो आयोजनामा सानिमाको नेतृत्वमा प्रभु, कुमारी, सेन्चुरी बैक, मुक्तिनाथ विकास र महालक्ष्मी विकास बैंकको लगानी रहने धौलागिरी कालिकाका सञ्चालक अध्यक्ष विनोद कुँवरले बताए ।
‘लगानी जुटेपछि आयोजना निर्माणको बाटो खुल्यो,’ ऋण सम्झौतापछि उनले नागरिकसँग भने । उनका अनुसार पाँच अर्ब १४ करोड रुपैयाँ लगानी हुने छ । ऋणबाहेक बाँकी रकम स्वपुँजीबाट संकलन गरिने उनले बताए । ‘आयोजना निर्माण अवधिमै ३० प्रतिशत सर्वसाधरण सेयर जारी गर्छौं,’ कुँवरले भने ।

मालिका गाउँपालिका दरबाङमा उक्त आयोजना बन्न लागेको हो । धौलागिरी हिमालको पानी मुख्य स्रोत रहेको म्याग्दी आयोजना निर्माण थालेको साढे तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य धौलागिरी कालिकाले राखेको छ । उसका अनुसार पाँच किमि सुरुङ निर्माण गरी २ सय मिटर लामो पेनस्टक पाइपबाट म्यादी खोला छिराई विद्युत् उत्पादन गरिने छ ।

पानीको बहाव ३१.४ घनमिटर प्रतिसेकेन्ड रहने आयोजनाको कुल हेड एक सय चार मिटर रहेको छ । आयोजनाबाट उत्पादित विद्युत् आठ किमि लामो एक सय ३२ केभी क्षमताको ट्रान्समिसन लाइन हुँदै प्रस्तावित डाँडाखेत सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने सञ्चालक अध्यक्ष कुँवरले जानकारी दिए ।

पावर हाउस र इन्टेकसम्मै सडक पहुँच पुगेकाले आयोजना निर्माणमा सहज हुने अपेक्षा निर्माण पक्षको छ । परियोजनामा म्याग्दीवासीसहित जिल्लामा जन्मेर प्रवासमा रहेका व्यक्तिहरुको धेरै लगानी रहने छ । गैरआवासीय नेपाली संघ हङकङ, काठमाडौं म्याग्दी इनभेस्टमेन्ट कम्पनी र ग्लोबल फ्रेन्डसिप लिमिटेड आयोजनाको मुख्य प्रवद्र्धक रहेका छन् ।धौलागिरी कालिकाका सञ्चालक अध्यक्ष कुवँर गैरआवासीय नेपाली संघ, एशिया प्रशान्त उपसंयोजक हुन् । ‘देश विकासमा गैरआवासीय नेपालीले योगदान दिएको उदाहरणको रुपमा यो परियोजनालाई अगाडि बढाउँदै छौं,’ कुवँरले भने ।
 

प्रकाशित: ७ फाल्गुन २०७४ ०४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App