coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सामूहिक ब्रतबन्ध विद्यालयलाई आय आर्जनको स्रोत

विदुर नगरपालिका वडा नम्बर ५ देवीघाटस्थित सहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयलद्वारा आयोजित सामूहिक ब्रतबन्धमा सहभागी बटुक । तस्बिर : नागरिक

नुवाकोट – विदुर नगरपालिका वडा नम्बर ५ देवीघाटमा रहेको सहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयले हरेक वर्ष बटुकहरुको सामूहिक ब्रतबन्ध गराउँदै आएको छ ।

विद्यालयको आर्थिक स्रोत बढाउन, हिन्दु धर्मको रक्षा, धार्मिक परम्परालाई निरन्तरता र संस्कृत भाषाको संरक्षणका लागि विद्यालयले २०५६ सालदेखि सामूहिक ब्रतबन्ध गराउँदै आएको हो । हरेक वर्षको श्रीपञ्चमीका दिन विद्यालयले सामूहिक ब्रतबन्ध गराउँदै आएको भए पनि यस वर्षको श्रीपञ्चमीमा शुक्रअस्त परेकाले आइतबार सामूहिक ब्रतबन्ध गरिएको छ ।

विद्यालयले आयोजना गरेको सामूहिक ब्रतबन्धमा यस वर्ष ५० बटुक सहभागी भएको प्रधानाध्यापक हेमप्रसाद अधिकारीले बताए । ‘प्रत्येक बटुकबाट विद्यालयले तीन हजार रुपैयाँ लिने गरेको छ । पूर्वाङ्ग, ब्रतबन्ध गराउँदा हुने खर्च, बटुकसँगै आएका अभिभावकका लागि समेत खानाको व्यवस्था विद्यालयले नै गर्दै आएको छ । बटुकले लगाउने धोती, टोपी र गन्जी विद्यालयले नै उपलब्ध गराउाछ’, प्रधानाध्यापक अधिकारीले भने, ‘आर्थिक स्थिति कमजोर भएका परिवारले चलनअनुसार सन्तानको कर्म चलाउन सकिरहेका हुँदैनन् । उनीहरुलाई नै ध्यान दिएर सामूहिक ब्रतबन्ध गराउँदै आएका छौं ।’
यो वर्ष बटुकहरुसँग लिएको शुल्कबाट १ लाख ५० हजार रुपैयाँ संकलन भएको छ । भेटीबाट समेत केही रकम संकलन भएको छ ।

खर्च कटाएर बचेको रकमले विद्यालयमा अध्यापन गराउँदै आएका निजी स्रोतका शिक्षकलाई तलब उपलब्ध गराउने व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर डंगोलले बताए ।
‘विद्यालयले आयस्रोत बढाउन २०५६ सालमा सुरु गरेको सामूहिक ब्रतबन्ध अभियानलाई हामीले एक पर्वको रुपमा लिएका छौं । आर्थिक स्रोत जुटाउने यो वैकल्पिक उपाय पनि हो । समाजमा बढ्दै गएको तडकभडक नियन्त्रण र हिन्दु परम्पराको रक्षा गर्नसमेत यसबाट सहयोग पुग्दै आएको छ’, डंगोलले भने, ‘जिल्लामा संस्कृत पढाइ हुने यो एकमात्र विद्यालय हो ।

विद्यार्थीलाई धर्म र संस्कृतिका पाठ सिकाइन्छ । सैद्धान्तिक रुपमा मात्र नभई व्यावहारिक शिक्षा दिन पनि सामूहिक ब्रतबन्धले सहयोग गरेको छ । यसमा सबै पक्षको उत्तिकै साथ छ ।’विद्यालयले सामूहिक रुपमा आयोजना गरेको ब्रतवन्धबाट संस्कृतिको नाममा हुने खर्चको बोझ हटेको बटुकका अभिभावकले बताएका छन् । घरमा गर्दा खर्च धेरै लाग्ने र अनेकथरी बन्दोबस्त गर्नुपर्ने भएकोले सहज तरिकाले सामूहिक ब्रतबन्धमा सामेल भएर छोराको कर्म चलाएको नुवाकोटकी भगवती पाण्डेले बताइन् ।

सामूहिक ब्रतबन्धको लोकप्रियता स्थानीय अभिभावकमा मात्र नभई छिमेकी जिल्लामा समेत बढेको छ । सामूहिक ब्रतबन्ध गर्न यो वर्ष नुवाकोटसहित, धादिङ र काठमाडौंबाट बटुक आएको विद्यालयका शिक्षक कोमल नेपालले जानकारी दिए ।२०५५ सालमा स्थापना भएको विद्यालयमा कक्षा १० सम्म पढाइ हुँदै आएको छ । यो शैक्षिक सत्रमा आवासीय रुपमा १८ विद्यार्थीले पठनपाठन गरिरहेका छन् । संस्कृतसँगै अन्य विषयको समेत अध्यापन गराउँदै आएको विद्यालयले जनाएको छ ।


 

प्रकाशित: ७ फाल्गुन २०७४ ०२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App