coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीले संसद् सदस्यको शपथ लिनुपर्ने

काठमाडौं–  केपी शर्मा ओलीले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएर कार्यकारी प्रमुखको कार्यभार सम्हाले पनि संसद् सदस्यको हैसियतले फेरि शपथ लिनुपपर्ने छ ।

प्रधानमन्त्री ओलीसँगै उनले नियुक्त गरेका मन्त्रीद्वय लालबाबु पण्डित र थममाया थापाले पनि संसद् सदस्यको शपथ लिनुपर्नेछ । संसद् बैठक बस्नुअघि प्रधानमन्त्री र मन्त्री बनेका कारण उनीहरूले सांसद पदको शपथ लिनुपर्ने भएको हो ।नेपाल बारका पूर्वमहासचिव टिकाराम भट्टराईले भने, ‘प्रधानमन्त्रीको हैसियतले लिएको शपथ र संसद् सदस्यको हैसियतले लिने शपथ फरक भएकाले प्रधानमन्त्रीले दुबै शपथ लिनुपर्ने हुन्छ ।’

२०४८ सालमा गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री पदको शपथ लिएको  १६ दिनपछि संसद् सदस्यको शपथ लिएको उनले बताए । त्यसबैला ज्येष्ठ सदस्य बलबहादुर राईले सांसदहरू शपथ गराएका थिए । २०५१ सालमा प्रधानमन्त्री बनेका मनमोहन अधिकारीले पनि संसद् बैठकमा अन्य सांसदसँगै सांसद पदको शपथ लिएका थिए ।  २०५६ सालमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएपछि उनले पनि संसद् बैठकमा अन्य सांसदसँगै शपथ गरेका थिए । त्यसबेला ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले सांसदहरूलाई शपथ गराएका थिए।

  अमेरिकाको राष्ट्रपति चुनाव चौथो वर्षको नोभेम्बर महिनाको सोमबारपछि आउने पहिलो मंगलबार हुन्छ । निर्वाचित राष्ट्रपतिले जनवरी २० तारिखमा शपथ ग्रहण गर्छन् । शपथ ग्रहण नभएसम्म उनी ‘प्रेसिडेन्ट इलेक्ट’ का रुपमा रहन्छन् । नयाँले शपथ ग्रहण नगरेसम्म पुरानै राष्ट्रपतिले काम गर्छन् ।  शपथ लिएपछि मात्रै अमेरिकी राष्ट्रपति कार्यभार सम्हाल्छन् । कुनै कारणवश शपथ हुन सकेन भने पनि नवनिर्वाचित राष्ट्रपतिले जनवरी २० को दिउँसो १२ बजेदेखि स्वतः निर्णय गर्न पाउने चलन अमेरिकामा छ ।
नवनिर्वाचित पदाधिकारीले शपथ लिनुको महत्व ठूलो छ ।

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले शपथ लिँदा प्राविधिक त्रुटि भएपछि पुनः शपथ लिनुपरेको थियो । अन्य मुलुकमा शपथको निकै महत्व भए पनि हामीकहाँ उल्टोउल्टो हुने गरेको कांग्रेसका एका नेताले बताए । पहिला सासद पदको शपथ लिएपछि मात्रै प्रधानमन्त्रीको शपथ ग्रहण गर्दा राम्रो हुने ती नेताले बताए ।  अहिले संसद् अधिवेशन आह्वान भएको छैन । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्नुपर्छ । निर्वाचनको अन्तिम परिणाम घोषणा भएको तीस दिनभित्र संघीय संसद्को बैठक आह्वान गर्नुपर्ने संविधानको धारा ९३ मा व्यवस्था छ ।  

संघीय संसद्को सदन वा समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय संसद्को अध्यक्षता गरेका व्यक्तिले सांसदहरूलाई शपथ गराउनुपर्ने व्यवस्था छ ।  संविधानको धारा ८८ मा लेखिएको छ ‘संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्नेछ ।’

प्रतिनिधिसभाको अन्तिम परिणाम घोषणा फागुन २ गते घोषणा भएको थियो । फागुन ३ गते  ओली प्रधानमन्त्री नियुक्त भएका थिए । उनले संविधानको धारा ८० बमोजिम शपथ लिएका हुन् । संविधानको धारा ८० मा ‘प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीले राष्ट्रपतिसमक्ष तथा राज्यमन्त्री र सहायकमन्त्रीले प्रधानमन्त्रीसमक्ष आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुनबमोजिम पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ,’ उल्लेख छ ।संविधानको धारा ७८ मा संघीय संसद्को सदस्य नभएको व्यक्ति मन्त्री हुने व्यवस्था छ । तर, मन्त्री पदको शपथ ग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसद्को सदस्यता प्राप्त गर्नुपर्ने संविधानमा व्यवस्था छ ।
 

प्रकाशित: ७ फाल्गुन २०७४ ०२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App