७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेविसंघको निर्वाचन बुधबार हुने

भीष्मराज ओझा
काठमाडौँ-महाधिवेशन प्रतिनिधिको विवादले झन्डै १० दिन लम्बिएको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनअन्तर्गत भोलि बुधबार निर्वाचन हुनेभएको छ।

नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घको ११औँ महाधिवेशन पटक पटक मिति तोकिँदै स्थगन हुँदै नौ वर्षपछि यस पटक हुन लागेको हो।

एघार जिल्लाको प्रतिनिधि विवादका कारण साउन २३ गते महाधिवेशन उद्घाटन भए पनि अन्य प्रक्रिया अवरुद्ध हुँदै आएको थियो।

महाधिवेशनका लागि यही साउन २३ देखि २५ गतेसम्म राजधानीको भृकुटीमण्डप तोकिएको थियो । आजसम्म उद्घाटनबाहेक केही हुन सकेको छैन र निर्वाचन भने बन्दसत्र नभई पार्टी केन्द्रीय कार्यालय सानेपामा हुँदैछ ।

सङ्घको केन्द्रीय समिति प्रादेशिक संरचनाअनुसार १५१ सदस्यीय हुने गरी विधान प्रस्ताव गरिएको छ ।

सङ्घको निर्वाचन राम लक्ष्मण दाजुभाइले आविष्कार गरेको विद्युतीय भोटिङ मेसिनबाट हुँदैछ। निर्वाचन ४० मेसिनबाट हुने र मतपरिणाम दुई/तीन घन्टाभित्रै आउने आविष्कार केन्द्रका अनुसन्धानकर्ता लक्ष्मण रिमालले बताए।

निर्वाचन समितिले थोरै मतदाताले मतदान गर्ने क्षेत्र र समूहको भने मतपत्रमार्फत निर्वाचन गर्ने तयारी गरेको जनाएको छ । नेविसङ्घमा हालसम्म तीन हजार ७९० मतदाता निश्चित भइसकेको र अझै थपिने सम्भावना रहेको प्रमुख निर्वाचन अधिकृत खरेलले जानकारी दिए।


उम्मेदवारको ताँती

केन्द्रीय निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा मनोजमणि आचार्य, नैनसिंह महर, शुभराम बस्नेत, पदमराज पन्त, आनन्दराज त्रिपाठी, लक्ष्मण आचार्य नगेन्द्रसिंह ठकुरी, वचन कार्कीले उम्मेदवारी दिएका छन्।

त्यसैगरी महामन्त्रीमा हिमालदत्त श्रेष्ठ, कुन्दनराज काफ्ले, सरोज थापा, दीपक भट्टराई, राजेश ज्ञवाली र शङ्कर पौडेलको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा शिव रिमाल, अञ्जना अर्याल, केदार खनाल, टीका श्रेष्ठ र उमेश भट्टराईले उम्मेदवारी दिनुभएको प्रमुख निर्वाचन अधिकृत भरतप्रसाद खरेलले जानकारी दिए।

यसबाहेक उपाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय सदस्यमा गरी सयौँको उम्मेदवारी परेको छ । सङ्घमा १२९ पदका लागि ६८५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । समितिले आज साँझ ६ः३० बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकेको छ । सङ्घको ११औँ महाधिवेशनअन्तर्गत मतदान भदौ १ गते बिहान ७ देखि साँझ ७ बजेसम्म काँग्रेस केन्द्रीय कार्यालय सानेपामा हुने तय भएको छ ।

कडा सुरक्षा घेरामा निर्वाचन

आफूलाई सबैभन्दा लोकतान्त्रिक पार्टी भनेर दाबी गर्ने काँग्रेसले भ्रातृ संस्थाको नयाँ नेतृत्वका लागि निर्वाचन भने कडा सुरक्षा घेरामा गर्दैछ । पार्टी कार्यालयमा हाल नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करिब ३०० भन्दा बढी प्रहरी तैनाथ छन् ।

आइतबार दिउँसो प्रतिनिधि विवादको विषयलाई लिएर असन्तुष्ट पक्ष पार्टी कार्यालयमा प्रवेश गर्न खोज्दा प्रहरी र विद्यार्थीबीच भएको झडपमा दर्जनौँ विद्यार्थी र सात जना प्रहरी घाइते भएका थिए ।

सुरक्षाकर्मीले हाल पार्टी कार्यालयमा छ वटा सिसिटिभी क्यामेराबाट कार्यालय वरपरको सबै दृश्य रेकर्ड गरिरहेको छ । पार्टीमा महाधिवेशन प्रतिनिधिको विवादलाई लिएर गुट÷उपगुटको कलह बढेकाले थप झडप हुन नदिन प्रहरीले उच्च सतर्कता अपनाएको जनाएको छ ।

नेविसङ्घ महाधिवेशनको जम्मा खर्च रु एक करोड ७८ लाख ८० हजार लाग्ने अनुमान गरिएको थियो तर महाधिवेशन लम्बिँदै गएपछि खर्च बढ्ने निश्चित छ । प्रवक्ता युपी लामिछानेका अनुसार महाधिवेशन लम्बिएका कारण दैनिक रु ४० लाख खर्चको भार थपिएको छ । रासस

 

प्रकाशित: ३२ श्रावण २०७३ १२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App