७ वैशाख २०८१ शुक्रबार
समाज

अपहृत बालक मृत भेटिए

अपहरणमा परेको छोरा मृत भेटिएपछि बिलौना गर्दै एमानकी आमा र आफन्त । तस्बिर :किरणमान-नागरिक

 

कपिलवस्तु – जिल्लाको पिपराबाट बिहीबार अपरहणमा परेका पाँच वर्षीय बालकको शव भेटिएको छ । मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष फत्ते मोहम्मद मुसलमानका छोरा एमान बिहीबार घरअघिबाट अपहरणमा परेका थिए ।

छोराको शव घरनजिकैको पोखरीमा आइतबार बिहान फेला परेको मुसलमानले बताए । प्रहरीले बालक मृत अवस्थामा भेटिएको तर हत्या भएनभएको यकिन हुन नसकेको जनाएको छ । मृतक बालकको घाँटीमा नीलडाम रहेको र शरीरमा अन्य चोटपटकको निसान नरहेको प्रहरीको भनाइ छ ।

मुसलमानले छोराको शव राति ल्याएर पोखरीमा फालेको अनुमान गरेका छन् । मृतक बालककी आमा साजाहा खातुनले पोखरीमा टाउको देखेपछि स्थानीयको सहयोगमा शव बाहिर निकालिएको थियो ।प्रहरीले अपहरणकारी समात्न चासो नदेखाएका कारण छोराको हत्या भएको आरोप मुसलमानले लगाए।अपहरणकारीविरुद्ध प्रहरीले कुनै कारबाही नगरेको, छोरालाई छुटाउन  पहल नगरेको आरोप उनले लगाए । प्रहरीले जाहेरीसमेत दर्ता नगरेको उनको भनाइ छ । ‘घटनामा संलग्न व्यक्तिबारे प्रहरीलाई बताए पनि अझैसम्म तिनीहरुसँग कुनै सोधखोज गरिएको छैन, उल्टै मेरो परिवारलाई प्रहरीले प्रताडित गरेको छ’, उनले आक्रोश व्यक्त गरे ।

एमानलाई बिहीबार दुईजनाले मोटरसाइकलमा भारततर्फ लगेका थिए । प्रत्यक्षदर्शीका अनुसार बिहान ८ बजे बुलडिहवाको सुम्मे मदरसा पढ्न जान लागेका बेला एमान अपहरणमा परेका थिए । घटनास्थलबाट भारतीय सीमासम्मको दूरी ७ सय मिटरमात्र छ । अपहृत बालकका पिता मुसलमानले अपहरणमा एमालेकी ५ नम्बर प्रदेश सांसद फौजिया नसिम, उनका श्रीमान् नसिम खान, अबु बफर, मोहम्मद ऐहिया जमिल संलग्न रहेको आरोप लगाएका छन् ।

‘नाम किटेरै जाहेरी दिँदा समेत प्रहरीले केही गरेन’, मुसलमानका ज्वाइँ अबु बकरले भने, ‘उनीहरुलाई राजनीतिक पहुँचका कारण पक्राउ नगरी पीडितलाई नै सताउने काम प्रहरीले गरेको छ ।’प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले मृतक परिवारले लिखित जाहेरी नदिएको दाबी गरे । ‘हामीले सक्दो कोसिस ग¥यौं तर बालकको ज्यान बचाउन सकिएन’, उनले भने, ‘घटनाको सूक्ष्म अनुसन्धान जारी छ ।’ घटनाबारे सोमबार जाहेरी दर्ता गर्ने प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार मुसलमान वडाध्यक्ष भएदेखि नै फरार अभियुक्त नसिम खानसँग विवाद बढेको थियो । खाँले विगतमा गाविसको बजेटमा हालीमुहाली गर्दै आएको तर मुसलमान वडाध्यक्ष भएपछि त्यसो गर्न नपाउँदा द्वन्द्व बढेको स्थानीय निसार अहमदले बताए । सोही विवादमा अपहरणदेखि हत्यासम्मको घटना भएको हुनसक्ने उनले बताए । यसअघि नै हत्या, लुटपाटलगायतका मुद्दामा अदालतबाट दोषी करार भएका खान भारतमा बस्दै आएका छन् । टेलिफोनमार्फत पत्रकारसँग उनले उक्त घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे ।

मायादेवी गाउँपालिकाका प्रमुख बजरंगी चौधरीले बालक अपहरण तथा हत्याको घटना निन्दनीय भएको बताएका छन् । घटनाबारे सत्यतथ्य अनुसन्धान गरी दोषिलाई कानुनी कारबाहीको दायरामा ल्याउन उनले प्रशासनसँग अपिल गरेका छन् । घटनापछि पीडित परिवारलाई समवेदना दिन पुगेका सांसद अतहर कमाल र नेता दीपकुमार उपाध्यायले दोषी पत्ता लगाई कडा कारबाही गर्न माग गरे । नाबालकको अपहरण र हत्याको घटनाप्रति जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दल तथा मानवअधिकारवादीले दुखः व्यक्त गरेका छन् ।

 

प्रकाशित: ७ फाल्गुन २०७४ ०२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App