विपन्नको जीवन : ऋणमै सुरु, ऋणमै अन्त्य

सोमबार, ०७ फागुन २०७४, ०७ : ४४ मिथिलेश यादव

सिरहा – साविक हनुमाननगर–७ (हाल धनगडीमाई नगरपालिका–३) को सडकछेउस्थित ऐलानी जग्गामा लहरै फुसका छाप्रा छन् । तिनैमध्ये एउटा छाप्रोमा सुकनी सदायको पाँचजनाको परिवार अटाएको छ । चार छोरी र एक छोरा गरी पाँच सन्तानमध्ये दुई छोरीको विवाहमा सर्वस्व गुमाइसकेकी उनलाई बाँकी सन्तानको भविष्यले चिन्तित बनाएको छ ।

जिन्दगीभर जमिनदारको खेतमा श्रम गरेर आर्जन गरेको १० धुर घडेरी पनि गत साल बेच्नुप¥यो । ऐलानी जमिनमा घामपानीबाट ओत लाग्ने छाप्रो बाँकी छ । ‘बच्चा जन्माउँदादेखि विवाह गर्दासम्म साहुमहाजनकै अगाडि ऋणको हात्त फैलाउनुपर्छ’,  सुकनी भन्छिन्, ‘जायजेथा नभएका सुकुमवासीलाई साहुबाहेक कसैले ऋण पत्याउँदैन । साहुले ऋण त दिन्छ तर ब्याजले जिन्दगीभर उनको ऋणबाट मुक्ति पाइँदैन ।’

सुकनीले जेठी र माइली छोरी फूलकुमारी र घुरनीको विवाहका लागि गाउँकै साहुसँग लिएको ऋण तिर्न भएको १० धुर घडेरी बेचिन् । ‘त्यसो पैसाले पनि सबै ऋण तिर्न सकिएन’, उनले पीडा सुनाइन्, ‘साहुले अझै डेढ लाख बाँकी छ भन्छन् । साइँली छोरीको विवाह गर्ने बेला भइसक्यो । बिहेमा लाग्ने खर्चका लागि ऋणमात्र विकल्प छ ।’ पहिलेकै ऋण तिर्न बाँकी रहेका बेला थप ऋणका लागि साहुले नपत्याउने उनको चिन्ता छ । ‘हाम्रो समुदायमा पनि अब दहेज (दाइजो) माग्न थालियो’, सुकनी भन्छिन्, ‘कहाँबाट ल्याउनु दहेज दिन पैसा ।’ विवाहमा कम्तीमा पनि दुईतीन लाख खर्च हुने भन्दै उनले थपिन्, ‘हजार पनि नभएकाले लाख कहाँबाट ल्याउने ? सुकुमवासीलाई कसले उधारो पत्याउने ?’

सोही टोलकी अरहुली मलिकको अत्यास पनि उस्तै छ । गरिबीकै कारण खर्च धान्न नसकेर गत साल अरहुलीले दुई छोरी रञ्जिता र गुन्जाको विवाह एकैदिन एउटै मण्डपमा गरिन् । ‘दुवै छोरीलाई एउटै मण्डपमा विवाह गर्दा पनि चार लाख खर्च भयो’, उनले भनिन् । आफूसँग भएको पैसाले नपुगेपछि उनले पनि साहुसँग एक सयको प्रतिमहिना पाँच रुपैयाँ ब्याज तिर्ने सर्तमा ऋण लिएर विवाह सम्पन्न गरेको उनले बताइन् । ‘अझै डेढ लाख ऋण बाँकी नै छ । महिनाको साढे सात हजार त ब्याजमात्रै बुझाउनुपर्छ’, उनले भनिन् ।

पछिल्लो समय आफ्ना उत्पादनले बजार नपाउँदा पनि समस्या भएको उनको गुनासो छ । डोम जातिले सुँगुर पाल्ने, बाँसका सामग्री बनाएर बिक्री गर्ने काम गर्दै आएका थिए । तर, पछिल्लो समय सुँगुरपालनमा गाउँसमाजले लगाम लगाउन थालेको छ । बाँसका सामग्रीको विकल्पका रुपमा फाइबर र प्लास्टिकका आकर्षक सामग्रीले बजारमा कब्जा जमाउँदै गएको छ । लगनको महिनामा बाँसका सामग्री बेचेर एक लाखसम्म कमाइ गरेको विगत सम्झँदै अरहुलीले भने, ‘अहिले बीसतीस हजार कमाउन पनि धौधौ पर्छ ।

यो कमाइले चामलदाल किन्दै ठीक हुन्छ । साहुको ब्याज र साँवा कहाँबाट चुक्ता गर्नु ?’
अरहुलीकी सासु जहरी मलिक भन्छिन्, ‘हामी गरिबको जिन्दगी ऋणबाटै सुरु हुन्छ, ऋण बोकेरै समाप्त हुन्छ ।’ बच्चा जन्माउन अस्पताल जाँदा पनि पहिले ऋण नै खोज्नुपर्ने उनले सुनाइन् ।यति बेला यो समुदाय आजीवन ऋणी हुनुपर्ने अवस्थाबाट मुक्ति खोजिरहेको छ तर विकल्प भेटेको छैन । श्रम गर्ने सीप भएको यो समुदाय भरपर्दो रोजगारी खोजिरहेको छ । लोकतन्त्र र संघीयतासँग उनीहरुले गरेको अपेक्षा पनि यही हो ।

संघीय नेपालको मुख्य चुनौती भनेकै पिँधका जनताका अप्ठ्यारा र आकांक्षाको सम्बोधन गर्नु हो । ‘गरिबी र अभावसँग जुध्दै गरेको यो वर्गको स्वरलाई बेवास्ता गरियो भने संघीयता अभ्यासको जगलाई बलियो बनाउँदैन’, सामाजिक अभियन्ता सुनिलकुमार साह भन्छन् ।सुकनी र अरहुली गरिबी र अभावको जिन्दगी बाँच्दै आएका प्रतिनिधि नागरिक हुन् । यो व्यथा सिंगो मधेसका विपन्न वर्गको हो । समाजको ठूलो हिस्सा ओगट्ने या वर्ग स्वस्थ र सन्तुलित सेवासुविधाका लागि लामो समयदेखि प्रतीक्षारत छ ।


 







यसमा तपाईको मत