८ वैशाख २०८१ शनिबार
राजनीति

स्थानीय तहका लागि ३० नमुना कानुन

काठमाडौं – स्थानीय तह सञ्चालनका लागि सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ र ३० वटा नमुना कानुन बनाएको छ ।

ऐन लागू भइसकेको छ भने नमुना कानुन पनि अधिकांश स्थानीय तहमा लागू भएका छन् । संघीय तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालनका लागि ७ सय ५३ वटै स्थानीय तहमा ३० वटा नमुना ऐन, नियमावली, नमुना कार्यविधि पठाएको छ । मन्त्रालयले पठाएको नमुना काुननमध्ये  अधिकांश कानुन २ नम्बर प्रदेशबाहेक अन्य प्रदेशका स्थानीय तहले लागू गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका उपसचिव तथा संघीय मामिला महाशाखाका  छवि रिजालले भने, ‘मन्त्रालयले पठाएको करिब ३० वटा नमुना कानुन र नमुना कार्यविधि स्थानीय तहले अध्ययन र छलफल गरी त्यसलाई  परिमार्जन समेत गरेर लागू गर्न सक्छन् ।’ २ नम्बर प्रदेशबाहेक अन्य प्रदेशका स्थानीय तहले मन्त्रालयले पठाएको नमुना कानुनमध्ये अधिकांश लागू भएको जानकारी मन्त्रालयलाई  प्राप्त भएको  पनि उनले बताए।

उनले भने, ‘मन्त्रालयले पठाएको नमुना कानुन स्थानीय तहले लागू गर्नैपर्छ भन्ने छैन । तर नमुना कानुन लागू गर्न गाउँसभा तथा नगरसभाबाट पास हुनुपर्छ ।’मन्त्रालयले पठाएको नमुना कानुन र कार्यवधिहरूमा गाँउ, नगर, उपमहानगर, महानगरपालिकाका पदाधिकारीको आचारसंहिता, गाउँ र नगरपालिकाको स्थानीय कृषि व्यवसायी प्रवद्र्धन ऐन २०७४ लगायत छन् ।

यसैगरी उपमहानगर कार्यपालिकाको कार्यविभाजनका सम्बन्धमा व्यवस्थापन गर्न बनेको नियम,  गाउँ–नगर कार्यपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको नियम, गाउँपालिका, नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक छन् ।

मन्त्रालयले पठाएको नमुना कानुनमा  गाउँ–नगरपालिकाको आर्थिक वर्ष २०७४÷७५ को सञ्चित कोषबाट रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गाउँ, नगर, जिल्ला सभाको सभा सञ्चालन तथा व्यवस्थापन (कार्यविधि) सम्बन्धमा व्यबस्था गर्न बनेको नियमावली, स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४, गाउँ–नगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन २०७४, एफएम रेडियो सञ्चालन तथा व्यवस्थापन गर्ने कार्यविधि २०७४, गाउँपालिका–नगरपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका २०७४ र शिक्षा नियमावली २०७४ रहेका छन् ।

स्थानीय तह सञ्चालनका लागि मन्त्रालयले स्थानीय तहको संख्या तथा सीमासम्बन्धी विवरण राजपत्रमा प्रकाशित गरेको छ । दुई नम्बर प्रदेशबाहेक अन्य प्रदेशमा स्थानीय तहको चुनाव सकिएको ६ महिना पूरा भएको छ । आगामी चैत २८ गते स्थानीय तह सञ्चालन ऐन सञ्चालन ऐन २०७४ लागू भएको ६ महिना पूरा हुँदैछ । मन्त्रालयले स्थानीय तहको निर्वाचन सकिएलगत्तै स्थानीय तहमा नमुना कानुन पठाउन सुरु गरेको थियो ।

प्रकाशित: ७ फाल्गुन २०७४ ०१:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App