६ वैशाख २०८१ बिहीबार
राजनीति

कांग्रेस संसदीय दलमा देउवासँग भिड्दै सिंह

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ ।

संसदीय दलको निर्वाचन कहिले हुन्छ भन्ने निश्चित नभए पनि निकट नेताहरुले देउवा र सिंहबीच प्रतिस्पर्धा हुने संकेत गरेका छन् ।देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले संसदीय दलको नेता सभापति देउवा आफैं बन्ने दाबी गरे । ‘सभापति आफैं संसदीय दलको नेता हो भन्ने छ,’ विश्वकर्माले नागरिकसँग भने, ‘उहाँले अर्को कुनै नेतालाई निर्धारण नगरेसम्म सभापति आफैं दलको नेता हो ।’

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयसँगै सभापति देउवाको आलोचना भइरहेको छ । पार्टीको असन्तुष्ट पक्षले भने महामन्त्री शशांक कोइरालालाई सर्वसम्मतिबाट दलको नेता बनाउनुपर्ने प्रस्ताव अघि सार्न थालेको छ । तर दलको नेतामा सभापति देउवाले उम्मेदवारी दिए पूर्वमहामन्त्री सिंह प्रतिस्पर्धामा उत्रिने निकट केन्द्रीय सदस्य कल्याण गुरुङको दाबी छ ।

सभापति देउवा सर्वसम्मतिबाट दलको नेता चयन हुने अवस्था नरहेको जिकिर गर्दै गुरुङले भने, ‘सहमतिका लागि महामन्त्री कोइरालालाई अघि सार्नुपर्छ । चुनाव लड्ने हो भने प्रकाशमान सिंहले उम्मेदवार बन्छु भन्नुभएको छ ।’ गुरुङले दलको नेतामा नयाँ नेतालाई चयन गरेर पार्टीलाई सुधार र परिवर्तनको सन्देश दिनुपर्ने बताए । उनले भने, ‘अब संसदीय दलको नेतामा नयाँ मान्छे आउनुपर्छ ।’

३३४ सदस्यीय संघीय संसद्मा (प्रतिनिधिसभा २७५ सदस्यीय र राष्ट्रियसभा ५९ सदस्यीय ) मा कांग्रेसका ७६ सदस्य छन् । पार्टीले पाएको ७६ सिटभित्रको अहिलेको आन्तरिक समीकरणमा सभापति देउवा स्पष्ट बहुमतमा देखिन्छन् । देउवाविरोधी समूहको नेतृत्व गर्दै आएका नेता रामचन्द्र पौडेल पक्षबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ महामन्त्री कोइराला, पूर्वमहामन्त्री सिंह, मीनेन्द्र रिजाल, नारायण खड्का, सञ्जय गौतम, राजेन्द्र केसी, मोहमद अफ्ताव आलम, तेजुलाल चौधरीसहित १० निर्वाचित छन् भने समानुपातिकबाट १४ नेता परेका छन् । राष्ट्रियसभामा पौडेल पक्षका ६ सदस्य छन् ।सभापति देउवासँगको सम्बन्धमा चिसोपना आएको बताइएको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि सिंह पक्षमा उभिने आश्वासन दिँदै आएका छन् । सिटौला समूह सिंह पक्षमा उभिए चार मत बढ्ने अड्कल गरिएको छ ।

सिटौला समूहबाट राष्ट्रियसभामा धना खतिवडा र प्रतिनिधिसभामा गगनकुमार थापा, भीमसेनदास प्रधान र उमाकान्त चौधरी सांसद छन् । त्यस्तो अवस्थामा सिंहका पक्षमा ३४ र विपक्षमा १२ मत बढी अर्थात् ४६ मत हुने देखिन्छ । तर पूर्वमहामन्त्रीद्वय सिंह र सिटौलाबीचको सम्बन्ध सुमधुर छैन ।

संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउनुपर्ने बताउँदै केन्द्रीय सदस्य प्रदीप पौडेलले संसदीय दलको नेता प्रभावकारी र नियमित संसद्मा उपस्थित हुन सक्नेलाई बनाउनुपर्ने तर्क गरे । ‘प्रतिपक्षीका रुपमा संसद्मा निर्वाह गर्ने भूमिकाले नै पार्टीको भविष्य निर्धारण गर्ने भएकाले स्पष्ट रुपमा विचार राख्न सक्ने व्यक्ति दलको नेता हुनुपर्छ,’ उनले भने, ‘आर्थिक विकास र समृद्धिका पक्षमा सहयोगी र सरकारको खराब कामको खबरदारी गर्ने सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्नसक्नुपर्छ ।’
विभाजित हुँदै युवा
नेपाली कांग्रेसका युवा केन्द्रीय सदस्यहरु पार्टी संगठनलाई सुधार गर्ने भन्दै फरकफरक कार्यक्रम सार्वजनिक गर्ने तयारीमा जुटेका छन् । नवीन्द्रराज जोशी नेतृत्वमा रहेका १४ र चन्द्र भण्डारी नेतृत्वमा रहेका ७ केन्द्रीय सदस्यले सोमबार राजधानीमा छुट्टाछुट्टै कार्यक्रम गरी संगठन सुदृढीकरण अभियान घोषणा गर्न लागेका हुन् ।

जोशी निकट १४ केन्द्रीय सदस्यहरुले दिउँसो १ बजे होटल क्राउन प्लाजामा र भण्डारी पक्षले बिगफुड ल्यान्डमा बिहान ११ बजे कार्यक्रम राखेका छन् । जोशी पक्षले सभापति देउवा निकटसहित विभिन्न पेसा र व्यवसायमा आबद्ध व्यक्तिहरुसँगको छलफलसहित संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने जनाएको छ ।

पाँच वर्षपछि हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीका पक्षमा स्पष्ट बहुमत आउने गरी संगठन सुधार अभियान चलाउने दाबी जोशी पक्षको  छ । ‘जनताले अनुभूति गर्नसक्ने गरी पार्टीको संगठन चुस्त र सुदृढ बनाउने गरी सुधार अभियान चलाउनेछाै,’ जोशीले भने, ‘स्थानीय देखि केन्द्रसम्म छाया सरकार गठन गरेर सबै नेताकार्यकर्ता  परिचालन गर्नेछाै ।’सातै प्रदेशमा संगठन सुधार र प्रशिक्षणसहितका कार्यक्रम राख्ने जनाउँदै जोशीले भने, ‘पार्टीलाई विधि र विधानअनुसार हिँडाउने र विगतका गल्ती नदोहो¥याउने गरी अघि बढ्छौं ।’

भण्डारी पक्षीय युवा केन्द्रीय सदस्यहरुले देशव्यापी संगठन सुधारको अभियान घोषणा गर्नेछन् । सभापति शेरबहादुर देउवा महासमिति बैठकबाट पदाधिकारी र केन्द्रीय समितिको आकार बढाउने पक्षमा रहेको जिकिर गर्दै पौडेलले भने, ‘अहिले अनावश्यक पदाधिकारी केन्द्रीय समितिको अकार बढाउने होइन । निर्धारित समयमै महाधिवेशन गराउन र त्यसबाटै सबै कुराको छिनोफोनो गर्नुपर्छ ।’पार्टी सिद्धान्तको पुनव्र्याख्या, संगठनको पुनर्संरचना र कांग्रेस सच्चियो भन्ने सन्देश दिनु जरुरी रहेको तर्क गर्दै त्यसका लागि अभियान सञ्चालन गर्ने पौडेलले जिकिर गरे ।     

प्रकाशित: ७ फाल्गुन २०७४ ०१:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App