६ वैशाख २०८१ बिहीबार
राजनीति

राष्ट्रियसभामा नयाँ नाम सिफारिस हुने

काठमाडौं – सरकारले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले राष्ट्रियसभामा मनोनयनका लागि  राष्ट्रपतिसमक्ष सिफारिस गरेका तीनजनाको नाम फिर्ता लिने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।मन्त्रिपरिषद् बैठकपछि यस विषयमा औपचारिक रुपमा कुनै जानकारी गराइएको छैन । स्रोतहरुले सिफारिस तीनजनाको नाम फिर्ता लिने र नयाँ नाम सिफारिस गर्ने निर्णय गरेको बताएका छन् ।  

सरकारका प्रवक्तासमेत रहेकी महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले महत्वपूर्ण निर्णय भए पनि अनुशासनका कारण बाहिर सार्वजनिक गर्न नमिल्ने बताइन् । ‘महत्वपूर्ण निर्णय भएको छ । मन्त्रिपरिषद्को अनुशासनका कारण अहिले बाहिर भन्न मिल्दैन,’ थापाले नागरिकसँग भनिन् ।
तीन सदस्यीय मन्त्रिपरिषदका अर्का सदस्य जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले पनि निर्णयका बारेमा बोल्न चाहेनन् ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वका सरकारले चाँदनी जोशी, कृष्ण पौडेल र गोपाल बस्नेतलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । त्यो सिफारिस सदर नगरी राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेर राखेकी छिन् ।५९ सदस्यीय राष्ट्रियसभामा तीनजना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ । एमाले अध्यक्ष ओली नेतृत्वमा नयाँ सरकार बनेपछि बसेको मन्त्रिपरिषद्को दोस्रो बैठकले सिफारिस नाम फिर्ता लिने निर्णय गरेको हो ।

संविधानसम्मत सिफारिस नाम फिर्ता लिए त्यसको विरोध गर्ने चेतावनी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दिएको छ ।राष्ट्रिय योजना आयोगको उपाध्यक्ष स्वर्णिम वाग्लेले पदबाट दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

प्रकाशित: ७ फाल्गुन २०७४ ००:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App