७ वैशाख २०८१ शुक्रबार
अर्थ

इजरायलबाट माग नआउँदा छानिएका पनि जान पाएनन्

  काठमाडौं – पछिल्लो समय इजरायलबाट केयर गिभरको माग नआउँदा छानिएका कामदार पनि यतै अड्किएका छन् । ढिलाइले उनीहरुलाई निराश बनाएको छ ।

इजरायलको केयर गिभरमा पठाउन वैदेशिक रोजगार विभागले दुई चरणमा गरी एक सय १९ जनालाई छानेको छ । छनोट प्रक्रिया दुई वर्षअघि सुरु भएको थियो । तीमध्ये अहिलेसम्म ७८ जनामात्र इजरायल गएका छन् । एक वर्षअघि पहिलो चरणमा ५९ र ६ महिनाअघि दोस्रो चरणमा ६० जनालाई विभागले छनोट गरेको थियो । उडिसक्नुपर्ने बेलासम्म माग नआएपछि आकर्षक मानिएको केयर गिभर संकटमा परेको आँकलन गर्न थालिएको छ ।

‘पाइलट प्रोजेक्ट’को रूपमा दुई वर्षअघि सुरु गरिएको दोस्रो चरणको कार्यक्रम अनुसार गत कात्तिकसम्म ६० जनालाई इजरायल लगिसक्ने वैदेशिक रोजगार विभाग र नेपालस्थित इजरायली राजदूतावासबीच समझदारी भएको थियो ।

‘आर्थिक र सुरक्षाको दृष्टिकोणले राम्रो मानिएको इजरायलमा काम गर्न जान सहज होस् भनेर विभागको तर्फबाट गर्नुपर्ने सबै प्रक्रिया पूरा गरिसकेका थियौं,’ विभागका निर्देशक मोहन अधिकारीले भने, ‘तर कार्यतालिका अनुसार माग नआउँदा छनोट भएकाहरु पनि उड्न पाएका छैनन् ।’

विभाग स्रोतका अनुसार नेपालका मेनपावरको अवरोधका कारण इजरायलबाट कामदारको माग आउन नसकेको हो । विभागका एक अधिकारीले भने, ‘इजरायलमा ठूलो संख्यामा केयर गिभरको माग रहे पनि इजरायली सरकारले माग संकलनका लागि नियुक्त गरेका एजेन्टले नेपालका मेनपावरको प्रलोभनमा परेर माग नपठाएका हुन् ।’

केही वर्ष अघिसम्म मेनपावरले नै कामदार पठाउने गरेको इजरायलमा उनीहरूले बदमासी गरेपछि त्यहाँको सरकारले जी टु जी (दुवै देशका सरकारी निकायको सहभागिता) प्रक्रियाद्वारा मात्र केयर गिभर लैजाने निर्णय गरेको थियो । सोही निर्णय अनुसार दुई वर्षभित्र तीन सय कामदार पठाउने ‘पाइलट प्रोजेक्ट’ सुरु गरिएको थियो ।

उक्त कार्यक्रम अनुसार अघिल्लो वर्ष पहिलो चरणमा ५९ जना केयर गिभरको काम गर्न इजरायल उडिसकेका छन् । त्यहाँ गएका सबैले राम्रो क्षमता देखाएपछि ६ महिनाअघि विभागले दोस्रो चरणको कार्यक्रम थालेको थियो । विभागले दरखास्त संकलन गरी लिखित र प्रयोगात्मक परीक्षा लिएर सबै प्रक्रिया समयमै पूरा गरेको निर्देशक अधिकारीले बताए ।

‘दोस्रो चरणमा इजरायल उड्न विभागका तर्फबाट गर्नुपर्ने कुनै पनि काम बाँकी छैन,’ अधिकारीले भने, ‘तर उताबाट माग नआउँदा तयारी अवस्थामा रहेकालाई पनि पठाउन सकिएको छैन ।’ महिनामा कम्तीमा एक लाख रुपैयाँभन्दा बढी पारिश्रमिक पाइने र जाँदा (हवाई भाडा, स्वास्थ्य परीक्षणसहित) एक लाख रुपैयाँभन्दा बढी खर्च नहुने भएकाले पछिल्लो समयमा इजरायल धेरैले मन पराएका छन् ।

केयर गिभरको तीन महिने तालिम लिएका व्यक्ति सोही काममा लागि सक्षम हुने भए पनि केयर गिभरका लागि नर्सिङ, अनमी, अहेब अध्ययन गरेकाले समेत प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणको केयर गिभरका लागि इजरायल जानेमा अधिकांश नर्स, अहेब, अनमी थिए । इजरायलमा केयर गिभरको काम वृद्धवृद्धा र बालबालिकाको रेखदेख गर्नु हो ।

विभाग स्रोतका अनुसार निकै आकर्षक र सुरक्षित मानिएको केयर गिभरका लागि सरकारले नै पठाउन थालेपछि मेनपावर सञ्चालक आत्तिएका हुन् । विभाग कर्मचारीका अनुसार ‘पाइलट प्रोजेक्ट’ सुरु हुँदा नै केयर गिभरलाई आफैं पठाउन प्रयास गरेका मेनपावरले नेपालमा गरेको प्रयास असफल भएपछि इजरायलमा छानिएका एजेन्टसँग सम्पर्क बढाएका हुन् ।

‘सुरुको सम्झौता अनुसार इजरायलका अधिकारीले त्यहाँ केयर गिभरको थुपै्र माग रहेको भनेका थिए,’ एक कर्मचारीले भने, ‘कार्यक्रम सुरु भएको अर्को वर्ष नै माग नआउनु मेनपावरको खेल हो ।’ इजरायल सरकारले त्यहाँ चारवटा एजेन्टलाई कामदारको माग संकलन गर्ने जिम्मा दिएको बताइएको छ ।
मेनपावरले इजरायल पठाउँदा ८–१० लाख रुपैयाँसम्म लिने तर सरकारी तवरबाट जाँदा एक लाख रुपैयाँभन्दा बढी खर्च नहुने बताइन्छ । इजरायलबाट माग आउन छाडेपछि छनोट भएका व्यक्तिहरु चिन्तित छन् । कतिपय भने अन्य काममा लाग्न थालेका छन् ।

निर्देशक अधिकारीका अनुसार केयर गिभरका लागि छनोट भएकामध्ये एकजना सरकारी सेवामा प्रवेश गरिसकेका छन् । अर्का एक रोजगारीका लागि युरोप गइसकेका छन् । जी टु जी प्रक्रियामा इजरायल जान पाइने भएपछि करिब १० हजारले तीन महिने तालिम लिएर नयाँ कार्यक्रम पर्खेको बताइन्छ । पहिलो चरणमा ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष छानिएका थिए ।

 

प्रकाशित: ६ फाल्गुन २०७४ ०४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App