coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

रेम्बो ट्राउट उत्पादन केन्द्र बन्दै

रेम्बो ट्राउट पालनका लागि बनाइएकाे पाेखरी ।तस्विर : नागरिक

खोटाङ – रुपाकोट मझुवागढी नगरपालिकाले रेम्बो ट्राउट माछा उत्पादन केन्द्र बनाउन कार्यविधि पारित गरेको छ । रेम्बो ट्राउटको सम्भावनालाई ध्यानमा राखेर नगरपालिकाले नगरभित्रका दुई स्थानमा रेम्बो ट्राउट रेस–वे बनाउन कृषि उद्यमशीलता कार्यविधि पारित गरेको हो ।

रेम्बो ट्राउटको दुइटा केन्द्रका लागि नगरपालिकाले किसानलाई पाँच–पाँच लाख अनुदान दिने व्यवस्था मिलाएको प्रमुख दिपनारायण रिजालले बताए । रेम्बो ट्राउटको बजार भाउ राम्रो भएकाले सोको माध्यमबाट गाउँमै स्वरोजगारको वातावरण निर्माणका लागि नगरपालिकाले ट्राउट रेस–वे बनाउन कार्यविधि ल्याइएको हो ।

यस्तै, कृषिको व्यवसायीकरणका लागि नगरपालिकाले नमुना कृषि उद्यमी कार्यक्रम कार्यान्वयन गर्ने भएको छ । १८ वर्षदेखि ४० वर्ष उमेरका बेरोजगार, विदेशबाट फर्किएका स्थानीयलाई लक्षित गरी नगरपालिकाले नमुना कृषि उद्यमी कार्यक्रम ल्याएको हो । माछा, तरकारी, च्याउ र मौरीपालन व्यवसायका माध्यमबाट स्थाीन्यलाई स्वरोजगार बनाउन नमुना कृषि उद्यमी कार्यक्रम ल्याइएको प्रमुख रिजालले बताए । कृषि उद्यमशीलता कार्यविधिमा उद्यमीलाई जनही ५० हजार रुपैयाँ अनुदान दिने व्यवस्था गरिएको छ ।

कृषि आधुनिकीकरण परियोजना
रुपाकोट मझुवागढी नगरपालिकाले साना व्यवसायीक कृषि उत्पादन केन्द्र (पकेट) र व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) निर्धारणको काम थालेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत नगरपालिकाले पकेट र ब्लक निर्धारणको काम सुरु गरेको हो । कृषिलाई व्यवसायीकरण गर्दै जिल्लाको आर्थिक उन्नतीका लागि पकेट र ब्लक कार्यक्रम सुरु गरिएको प्रमुख रिजालले बताए । व्यावसायिक रुपमा कृषिजन्य उद्योग स्थापना गरी कृषिमा आधारित अर्थतन्त्रका माध्यमबाट स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले परियोजना सुरु गरिएको हो । कार्यक्रमका माध्यमबाट नगरपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउँदै आयातित सामानलाई विस्थापित गर्ने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ ।

कम्तीमा १० हेक्टर क्षेत्रमा सञ्चालन गरिने बाली विशेष पकेट परियोजना सञ्चालनका लागि केही समयमै स्थान निर्धारणको काम हुने प्रमुख रिजालले बताए । नगरपालिकाभित्र आलु, मकै, मकैको बीउ, गहुँ, अदुवा, बेसार, अलैंची, सुन्तला, जुनार, तरकारी, किवी, माछा लगायत बालीको पकेट क्षेत्र बनाउने तयारी गरिएको छ । जिल्लाका किसान, कृषक समूह, कृषि सहकारी, उद्यमीबाट आएका आवेदनका आधारमा पकेट अन्तर्गतको परियोजना सञ्चालनको टुंगो लगाइने नगरले जनाएको छ ।

यस्तै, कम्तीमा एक सय हेक्टर ओगट्ने ब्लक परियोजना सञ्चालनका लागि नगरपालिकामा ब्लक निर्धारण गरिने छ । ब्लक परियोजना सञ्चालनका क्रममा किसानलाई प्राविधिक, साना सिँचाइ, उत्पादन सामग्री लगायत सहयोग गरिनेछ ।परियोजन सञ्चालनका क्रममा आवश्यक उपकरण, यन्त्र तथा सामग्री खरिदमा किसानलाई ५० प्रतिशत, सिँचाइ सम्बन्धी काममा ८५ प्रतिशत, भण्डार घर निर्माण, बजारीकरण लगायत काममा पनि ८५ प्रतिशत तथा प्राविधिक सेवामा सतप्रतिशत छुट दिने व्यवस्था छ ।

प्रकाशित: ६ फाल्गुन २०७४ ०४:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App